अब वैदेशिक रोजगार बचतपत्र बिक्री वर्षभरि नै खुला, यस्ता छन् फाइदा

 माघ २६, २०७६ आइतबार १३:२०:४० | उज्यालो सहकर्मी

काठमाण्डौ – अहिले नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बर्सेनि राष्ट्र बैंकले ‘वैदेशिक रोजगार बचतपत्र’ को बिक्री खुला गर्छ । 

बचतपत्र वैदेशिक रोजगारीमा रहेका, फर्किएको ६ महिना नपुगेका, गैरआवासीय नेपालीले आफू र आफ्नो परिवारका सदस्या बुवाआमा, श्रीमान् श्रीमती र छोराछोरीको नाममा किन्न सक्छन् । 

वर्षभरि नै किन्न सकिने

राष्ट्र बैंकले बर्सेनि बचतपत्र खुला गर्ने गरे पनि बिक्री भने कम हुने गरेको छ । छोटो समयमा बचतपत्रको बिक्री खुला गर्ने र यसको प्रचारप्रसार कम हुँदा पनि बचतपत्र बिक्री नहुने गरेको राष्ट्र बैंकका प्रवक्ता तथा सूचना अधिकारी डा. गुणाकर भट्ट बताउनुहुन्छ । 

तर यो वर्षदेखि वर्षभरी नै बचतपत्र खुल्ला गरिने र यसको खरिद प्रक्रिया पनि सहज गरिएकाले बिक्री बढ्ने उहाँले बताउनुभयो । यो वर्षदेखि मौद्रिक नीतिमा वैदेशिक रोजगार बचतपत्र वर्षभरि नै खुला राख्ने भनेर व्यवस्था गरिएको छ । 

वैदेशिक रोजगारीमा गएका व्यक्तिको बचतलाई राष्ट्रिय पुँजी निर्माणमा परिचालन गर्न तथा विकास निर्माण र पूर्वाधारका परियोजनाहरुमा उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले वैदेशिक रोजगार बचत पत्र खुला गर्ने गरिएको सूचना अधिकारी भट्टको भनाइ छ । अब वैदेशिक रोजगारीमा जाने बेलामा नै युवालाई बचतपत्रको बारेमा बुझाउने र किन्न प्रोत्साहन गर्ने राष्ट्र बैंकको योजना छ । 

उहाँले भन्नुभयो, ‘अहिले पनि बचतपत्रको बारेमा बुझाइ कम छ, अब वर्षभरि नै यसको बिक्री खुला राख्ने र प्रचारप्रसार पनि बढाउने हाम्रो योजना छ ।’

बचतपत्र किन किन्ने ?

वैदेशिक रोजगारीमा जाने सबै जनालाई 'दुई चार पैसा कमाउँ र बचाउँ' भन्ने नै हुन्छ । बचतपत्र किन्न भनेको पनि बचत गर्नु हो । अरु ठाउँमा लगानी गर्दा कुनै न कुनै जोखिम हुने भए पनि बचतपत्रमा गरिएको लगानी जोखिमरहित हुन्छ भन्नुहुन्छ राष्ट्र बैंकका प्रवक्ता तथा सूचना अधिकारी भट्ट ।

‘जस्तो सुकै परिस्थिति आए पनि सरकार टाट पल्टिँदैन, तपाईँको लगानी सरकारले जुनसुकै परिस्थितिमा पनि फिर्ता गर्छ, यसकारण पनि बचतपत्रमा गरेको लगानी जोखिमरहित छ,’ उहाँ भन्नुहुन्छ ।

तुलनात्मक रुपमा अरु बैंकहरुको निक्षेपभन्दा बचतपत्रमा लगानी गर्दा ब्याज पनि बढी हुने र जोखिम पनि नहुने भएकाले बचतपत्र किन्न वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र बैंकका तर्फबाट प्रवक्ता तथा सूचना अधिकारी भट्ट अनुरोध गर्नुहुन्छ ।

बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिन्छ । 

बचतपत्र कम्तीमा १० हजार र बढीमा ४० करोड रुपैयाँसम्म किन्न पाइनेछ । बचतपत्रको वार्षिक ब्याजदर १० प्रतिशत दिइने र यसमा ब्याजदर कर लाग्ने राष्ट्र बैंकले जनाएको छ ।

पाँच वर्षे बचतपत्रको ब्याज भने ६ र ६ महिनामा खरिदकर्ता वा उनीहरुले इच्छाइएको व्यक्तिमार्फत भुक्तानी हुनेछ । बचतपत्र किनेकै दिनदेखि ब्याज पाइन्छ । 

बचतपत्र किन्न पासपोर्ट, भिसा, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र र दुई प्रति फोटो चाहिन्छ । बचतपत्र किन्नका लागि सिटिजन्स बैंक, नबिल बैंक, माछापुच्छे, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा र सेन्चुरी बैंकमार्फत फारम बुझाउन सकिन्छ ।

यस्तै, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट र सिटी एक्सप्रेसबाट पनि बचतपत्र खरिदका लागि आवेदन बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ । आवेदन आउँदो चैत २१ गतेसम्म बुझाउन सकिनेछ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया