पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
परीक्षा हलमा दुईजना जाँचकी छन् । झट्ट हेर्दा जाँचकीजस्तै लाग्दैन । आफैं परीक्षण र जाँचमा रहेका मान्छे जाँचकी जस्तो देखिने कुरो पनि भएन । मुख्य जाँचकी त आफ्नोसँगै देशकै स्वास्थ्य जाँच गराइरहेका मान्छे । तै पनि पत्रकारको जाँच लिन तम्सिएका छन् ।
जाँच दिन पुगेका पत्रकारलाई दुवै जाँचकीले तलदेखि माथिसम्म नियाले । मुख्य जाँचकीले सोधे, ‘ए तपाईं जाँच दिन आउनुभएको ?’
हात जोड्दै पत्रकारले भने, ‘हो हजुर ।’
‘मुटु कत्रो छ ?’ मुख्य जाँचकीले मुटु बाहिर हात राख्दै सोधे ।
‘खै हजुर बाहिरबाट देखिंदैन । छामेर पनि थाहा हुन्न’ पत्रकारले भने ।
‘कसरी थाहा होस् त मुटु नै छैन तपाईंको’ मुख्य जाँचकीले शंका गरे ।
जाँच दिन गएका पत्रकार झस्किए । ‘हैन हजुर मुटु छ । धड्किरहन्छ’ पत्रकारले बिस्तारै भने ।
‘त्यो धड्केको होइन, काँपेको हो । डरले काँपेको । मुटु भएको भए त सरकारले यति राम्रो काम गरिरहेको लेखिहाल्नुहुन्थ्यो नि’ मुख्य जाँचकी बोले ।
‘लेखिरहेका त छौं नि हजुर । राम्रो पनि लेखेका छौं, नराम्रो पनि’ पत्रकारले भएको कुरा सुनाए ।
‘नराम्रो हैन, राम्रो मात्र लेख्नुपर्यो । राम्रो मात्र लेख्न सक्ने खै मुटु ?’ मुख्य जाँचकीले प्रश्न गरे ।
‘काम राम्रोभन्दा धेरै नराम्रो छ । नागरिकका गुनासा, समस्या र चाहना पूरा नभएका कुरा त लेख्नुपर्यो नि’ पत्रकार बोले ।
‘तपाईंले किन नराम्रो देख्नुपर्यो ? किन लेख्नुपर्यो ? भएन भने जसलाई भएनजस्तो लाग्छ उसले भन्छ नि ! तपाईंलाई किन जान्ने हुनुपर्यो ? हेप्नी ?’ सहायक जाँचकीले फेरि खाउँलाझैं गरी हेरे ।
‘हाम्रो पेशागत कर्तव्य, जिम्मेवारी त नागरिकका समस्या र गुनासा केलाउने हो । जे भएको छ त्यही भन्ने, लेख्ने र देखाउने हो । राम्रो भयो नि भन्नुपर्छ । यो चाहिँ भएन, बिग्रियो सपार्नुपर्यो पनि भन्नुपर्छ । हजुरलाई थाहै छ नि हैन र ?’ पत्रकारले पत्रकारिताको धर्म सम्झाए ।
‘पहिले थाहा थियो होला । अब थाहा हुन छाड्यो । आफूले गरेको कुरा हामीलाई नराम्रो लाग्न छाड्यो । जे भैरहेको छ, त्यो राम्रो मात्रै भैरहेको छ, नराम्रो केही छैन भन्ने लागिसक्यो । दुई तिहाईलाई लागेको कुरा तपाईं ताइ न तुईलाई लागेन भनेर हुन्छ ? त्यसैले दुई तिहाईले जे गर्यो त्यो सबै राम्रो । राम्रो कुरा मात्रै लेख्नुपर्यो’ दुवै जाँचकीले एकै स्वरमा भने ।
‘हामी पनि त्यही राम्रोको पर्खाईमा त छौं नि हजुर’ पत्रकार बिनम्र भए ।
‘कस्तो पर्खाई ? भैसक्यो, आइसक्यो फेरि के को पर्खाई ?’ मुख्य जाँचकीले कड्किंदै भने, ‘नागरिकको मुखमा हाँसो ल्याउनुपर्छ । मैलेझैं । नभए पनि भएझैं गरेर हँसाउने । जो हाँस्यो, उ धेरै बाँच्यो । निराश कुरा गरेर नागरिकको आयु घटाउने हैन । नराम्रोलाई पनि राम्रो भनेर आशावादी बनाउने, हँसाउने गर्नुपर्छ हामीलेझैं भनेको । यति कुरा बुझ्नुभयो भने तपाईंको मुटु रहेछ भनेर मानौंला ।’
‘ल यो चाहिँ मुटुको कुरा भयो । अब परीक्षा लिनतिर लागौं’ सहायक जाँचकीले कपीको पाना निकाले ।
‘पत्रकारले त सरकारको काम कस्तो भयो भनेर हेर्नुपर्छ, लेख्नुपर्छ, भन्नुपर्छ । जसको हामी परीक्षण गर्छौं उसैले परीक्षा लिएको त अलि सुहाएन कि हजुर । परीक्षा लिने अरु हुनुहुन्न ?’ पत्रकारले यताउति हेरे ।
‘अरु भनेको को ? दुई तिहाईभन्दा बाहेकका अरु को छ देशमा ? हेप्नी ? हामीले नै हो परीक्षा लिने । ल परीक्षा दिने भए खुरुक्क बस्नुहोस्, हैन भने जानुस्’ सहायक जाँचकी कड्किए ।
‘ल ल धेरैथरी कुरा किन गर्नुहुन्छ ? परीक्षा दिएर जानुहोस्’ मुख्य जाँचकीले भने ।
‘कस्तो हुने हो परीक्षा ?’ पत्रकारले टाउको कन्याए ।
‘डराउनै पर्दैन । सजिलो छ । वस्तुगत प्रश्न मात्रै । जम्मा दुईवटा प्रश्न । दुई ठाउँमा ठिक चिन्ह लगाउने । १० सेकेण्डमा परीक्षा, अर्को १० सेकेण्डमा रिजल्ट’ मुख्य जाँचकीले भने ।
ल लिनुहोस् प्रश्नपत्र । सहायक जाँचकीले कापीको पन्ना थमाए ।
पत्रकारले प्रश्नपत्र पढे । जम्मा दुईवटा प्रश्न ।
१. तपाईंलाई सरकारले गरिरहेको काम कस्तो लागिरहेको छ ?
क. एकदम राम्रो ख. एकदम उत्कृष्ट
ग. कहीँ कतैबाट पनि नराम्रो त छँदैछैन घ. जसले जे भने पनि आलोचना र गुनासा गर्नै नपर्ने खालको ।
२. मुटु भएको सम्पादक र पत्रकार बन्न तपाईं के गर्नुहुन्छ ?
क. बालुवाटारमा मुठी कसेर शपथ लिन्छु ख. सरकारले गरेको राम्रो मात्रै देख्छु
ग. प्रधानमन्त्री र अरु शीर्ष नेताहरुले चुनावताका गरेको भाषण र घोषणापत्र सम्झाउँदिन घ. माथिका सबै
प्रश्न हेरेर पत्रकार जिल खाए ।
‘यो त प्रश्नै भएन हजुर । विकल्प त फरकफरक पो हुन्छ त । सबै उस्तै छन्’ पत्रकारले भने ।
‘दुई तिहाईको विकल्प अर्कोथरी हुनै सक्दैन । उस्तै हुन्छ विकल्प । त्यसैले जस्तो सरकार, उस्तै प्रश्न । पास हुन मन छ भने एउटा विकल्पमा ठिक लगाउनुहोस् । जे मा ठिक लगाए पनि पास । हैन भने कापीकलम थन्क्याएर विदेश जानुस्’ जाँचकीले भने ।
पत्रकार ट्वाँ परे । जाँचकीले क्वारक्वारती पत्रकारको मुख हेरिरहे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।