पालिका उपचुनाव : बिहानैदेखि मतदाताको उत्साहजन सहभागिता (फो...
मंसिर १६, २०८१ आइतबार
डोटी – नेपाल टेलिकमले दशैँअगाडि सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारी गरिरहेको छ । दशैँअगावै यहाँका मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा (फोर जी) प्रयोग गर्न पाउने भएका छन् ।
नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार पहिलो चरणमा सुदूरपश्चिम प्रदेशका मुख्य शहरलगायतका ठाउँबाट ‘फोर जी’ सेवा सुरु गरिने भएको छ । नेपाल टेलिकम डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशभरि नै ‘फोर जी’ सेवा सुरु गर्ने तयारीका साथ जुटेको नेपाल टेलिकम दिपायलका निमित्त प्रमुख प्रकाश चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सुदूरपश्चिमभरिमा ‘फोर जी’ सेवा सञ्चालनका लागि काम गरिरहेका छौँ, सम्भवतः दशैँअगावै सेवा विस्तार हुनेछ ।’
आउँदो वर्षभित्र देशभर ‘फोर जी’ सेवा पुर्याउने सरकारी लक्ष्यअनुसार डोटीको दिपायल तथा सिलगढीमा पनि तीव्ररूपमा काम भइरहेको निमित्त प्रमुख चौधरीले जानकारी दिनुभयो । दिपायल टेलिकमले ‘फोर जी’ सेवा सुरु हुने बीटीएस टावरमा एन्टेना, रेडियो युनिट र बेस ब्याण्ड युनिट राख्ने काम भइरहेको जनाएको छ । दिपायल, राजपुर, पिपल्ला र सिलगढीमा उक्त सेवा सुचारु भएपछि अन्य क्षेत्रमा रहेका टावरमा पनि क्रमशः ‘फोर जी’ सञ्चालनका लागि उपकरण र प्रविधि थप्दै जाने टेलिकमको योजना रहेको बताइएको छ ।
‘फोर जी’ सेवा सुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेमा यहाँका स्थानीयवासी निकै खुशी भएको जगत पुस्तक भण्डारका सञ्चालक खडकविक्रम शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘फोर जी’ सेवा सुरु भएपछि इन्टरनेट चलाउनेलाई राम्रै हुनेछ, यो खुशीको कुरो हो ।’
‘फोर जी’ सेवालाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । यो सेवा थ्रीजी सेवाभन्दा उच्च क्षमतायुक्त र तीव्रगतिको इन्टरनेट प्रविधि भएको टेलिकमका प्राविधिकहरू बताउँछन् । यो इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबीपीएस) भन्दामाथि हुने गरेको प्राविधिकहरू बताउँछन् । ‘फोर जी’ सेवाका ग्राहकले गुणस्तरयुक्त फोर जी सेवाका लागि खर्च भने केही बढी गर्नुपर्ने टेलिकमका निमित्त प्रमुख चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘फोर जी’ उच्च गतिको इन्टरनेट सेवा हुने भएकाले प्रयोगकर्ताले अहिले चलाइरहेको इन्टरनेटभन्दा केही महँगो रकम तिर्नुपर्ने हुन्छ, इन्टरनेट सुविधा राम्रो छ ।’
फोर जी राउटरबाट कम्प्युटरलगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिने व्यवस्था भएको टेलिकमले जनाएको छ । ‘थ्री जी’ प्रविधिमार्फत ‘भीओडी’, ‘भिडियो÷भ्वाइस च्याट’, तीव्र गतिको इन्टरनेट ‘सर्फिङ’ लगायतका सेवाहरू ग्राहकले पाइरहेका छन् । सात दशमलव दुई ‘एमबीपीएस’ सम्मको गतिमा सेवा प्रवाह भइरहेको टेलिकम कार्यालयले जनाएको छ । अहिले नेपाल टेलिकमले कैलाली, कञ्चनपुरलगायतका अन्य जिल्लाहरूमा रहेका टावरमा समेत फोर जी सञ्चालनका लागि तीव्ररूपमा काम गरिरहेको र यो काम अन्तिम चरणमा पुगेको नेपाल टेलिकमको क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ । यसभन्दा पहिले फोर जी सेवा काठमाण्डौ, पोखरालगायतका शहरहरूमा मात्र सुरु गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।