सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – सिन्धुलीका नृपध्वज थापा काठमाण्डौको सुन्धारा पुलमुनीको सार्वजनिक शौचालयबाट नाक थुन्दै निस्कनुभयो । शौचालय फोहोर रहेछ र ? भन्ने प्रश्नमा थापाले भन्नुभयो, ‘फोहोर त नाकै भाँचिने खालको, तर पिसाब गर्न पाउँदा जिउ चाहिँ हलुका भयो । दुई घण्टा, पिसाब लागेको दुई घण्टापछि फ्याँक्न पाउँदा आनन्द आयो ।’
काम विशेषले सिन्धुलीबाट काठमाण्डौ आएका नृपध्वज मात्रै हैन, काठमाण्डौ बस्नेहरुले पनि बाहिर हिंड्दा दिसापिसाब च्याप्नुपर्ने बाध्यता छ । काठमाण्डौमा बस्ने सविता शाही भन्नुहुन्छ, ‘पिसाब फेर्न पाइँदैन भनेर घरबाट बाहिर निस्कने दिन पानी नै पिउँदिनँ ।’ गाडीमा लामो यात्रा गर्दा पनि उस्तै समस्या छ ।
शहरमा बाहिर निस्कँदा या लामो यात्रामा दिसापिसाब च्याप्नु र पिसाब लाग्छ भनेर पानी नपिउनु धेरैको साझा समस्या हो ।
पाइखानाकाे पीर-१
पिसाब च्याप्नु र पानी नपिउनु शहरको बाध्यता ! |
लामो समय दिसापिसाब च्याप्दा र पानी नपिउँदा पिसाब फेर्ने चिन्ता केही कम भए पनि यसले स्वास्थ्यमा भने गम्भीर समस्या निम्त्याइरहेको हुन्छ । मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्नुहुन्छ ‘पिसाब थैली भरिएपछि पिसाब फेरिहाल्नु पर्छ, रोकेर राख्न हुँदैन । रोक्यो भने समस्या शुरु हुन्छ ।’
किन रोक्नु हुँदैन पिसाब ?
धेरैबेरसम्म पिसाब रोक्नाले पिसाब थैली फुल्न थाल्छ । अनि हामीलाई पिसाब लागेको थाहा हुन्छ । यदि हामीले पिसाब लागेको थाहा पाएपछि पनि अटेर गरेर बस्यौं भने मुत्रथैलीमा पिसाब बढी हुन थाल्छ ।
पटक/पटक पिसाब रोक्ने गरियो भने त शरीरले कति बेला शौचालय जानुपर्छ भनेर थाहा पाउने क्षमता समेत गुमाउन सक्छ । हामीले जतिलामो समय पिसाब रोक्छौं, हाम्रो पिसाब थैलीमा त्यति नै धेरै रोगका जिवाणुहरु उत्पादन हुन थाल्छन् । अनि संक्रमण शुरु हुन्छ । रोग लगाउने जिवाणु फैलँदै मृगौलासम्म सङ्क्रमण फैलाउन सक्ने हुँदा पिसाब रोक्दा शरीरमा ठूलो समस्या हुन सक्ने डाक्टर काफ्ले बताउनुहुन्छ ।
पाइखानाकाे पीर-२
लामो समय पिसाब रोक्दा मूत्रनलीमा पनि सङ्क्रमण हुन सक्छ । धेरै बेरसम्म पिसाब थामेर बस्दा पिसाबलाई थामेर राख्ने थैली र त्यसलाई प्रवाह गराउने नलीमा रोगका जिवाणु पुगेर संक्रमण सुरु हुन्छ । यसको चाँडै उपचार नगराएमा मृगौलामा समेत सङ्क्रमण हुन सक्छ । मृगौलामा पत्थरी बनाउने मुख्य कारण पिसाबमा संक्रमण हो । पुरुषहरुको प्रोस्टेड ग्ल्याण्ड बढेर पिसाबसम्बन्धी अरु धेरै समस्या आउन सक्छन् ।
दिसा रोक्दा पनि उस्तै समस्या
डाक्टर काफ्ले भन्नुहुन्छ, ‘लामो समय दिसा रोक्दा कब्जियत हुन्छ भने कब्जियतबाट पायल्स ।’ कब्जियत भयो भने दैनिक दिसा गर्दा पीडा हुन्छ । पायल्सले त धेरैलाई सताईरहेको छ । उपचार पनि झण्झटिलो र खर्चिलो तथा धेरै खानेकुरा बार्नुपर्ने हुन्छ ।
यस्तै लामो समय दिसा रोक्दा विभिन्न रोग लगाउने जिवाणुहरु उत्पादन भई शरीरमा संक्रमण समेत फैलने भएकोले दिसा लाग्नेबित्तिकै शौचालय जान डाक्टरहरुको सुझाव छ ।
डाक्टर काफ्ले भन्नुहुन्छ, ‘दिसा पिसाब रोक्ने चिज होइन, फाल्नुपर्ने चिज हो, साँचेर बोकिराख्नु हुँदैन ।’
पानी कम पिउँदा के हुन्छ ?
शहरमा बाहिर निस्कँदा वा गाडीमा लामो यात्रा गर्दा पिसाबको पीरले पानी कम पिउने गरेको धेरैले बताउँछन् । मिर्गाैला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले पानी कम पिउँदा शरीरमा अरु समस्या आउने बताउनुहुन्छ ।
पानीको अभावमा पखाला, ज्वरो र बान्ता हुन्छ । पखाला लागेका व्यक्तिले अझै धेरै पानी पिउनुपर्छ । पानीको अभाव भयो भने मान्छे थकित हुने र काम गर्न जाँगर नहुने हुन्छ । पानी कम भयो भने टाउको दुख्छ । पाचन प्रक्रियामा पनि पानीले सहयोग गर्छ । कब्जियत हुन नदिने, शरीरको तौल घटाउनका लागि पनि पानी पर्याप्त पिउनुपर्छ ।
सामान्य व्यक्तिले दिनमा दुईदेखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ । तर यो एकै चोटी पिउनु हुँदैन । यसको लागि यही समय भन्ने पनि छैन । पिसाब पहेंलो हुनु हुँदैन । पिसाब पहेंलो छैन भने शरीरमा पानीको मात्रा ठिक छ भनेर बुझ्न सकिन्छ ।
पाइखानाकाे पीर-३
यदि तिर्खा लागिहाल्यो भने तिर्खा मेट्नुपर्छ । तिर्खा लाग्नासाथ एकैपटक धेरै पानी पिउनु पनि हुँदैन । धेरै पानी एकैचोटी पिएमा वान्ता पनि हुन सक्छ । पानी पटक/पटक पिउनुपर्छ ।
सामान्यतया प्यास लाग्दा पानी पिउने गरिन्छ । मानसिक थकान वा तनाव हुँदा पनि छिनछिनमा प्यास लाग्छ । तर, यतिले मात्र शरीरमा पानीको मात्रा पुग्दैन । धेरै गर्मी छ, शरीरमा पसीना आएको छ अथवा काम गरिएको छ भने पानीको मात्रा बढाउनुपर्ने डाक्टरहरु बताउँछन् ।
तर पिसाबकै पीरले आवश्यकता अनुसार पानी नपिउने धेरै छन् । सुन्दा सानो, तर सहन साह्रो र स्वास्थ्यलाई समेत गाह्रो हुने यो गम्भीर विषयमा सम्बन्धित निकायको ध्यान कहिले जाला ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।