हिउँद लागेसँगै आगलागीका घटना बढे, २४ घण्टामा १० ठाउँमा आगलागी
मंसिर १६, २०८१ आइतबार
धेरै बैंक हुँदा अस्वस्था प्रतिस्पर्धा बढेको भन्दै नेपाल राष्ट्र बैंकले अहिले ठूला बैंक गाभ्ने अर्थात बिग मर्जरलाई जोड दिएको छ । केही दिनअघि त राष्ट्र बैंकका गभर्नर चीरञ्जीवी नेपालले सार्वजनिक कार्यक्रममै मौद्रिक नीति आउनुअघि नै कुन बैंक कोसँग गाभिने भन्ने विषय टुंग्याउन निर्देशन दिनुभएको थियो ।
अहिले २८ वटा रहेका वाणिज्य बैंकलाई १४ वटामा झार्ने राष्ट्र बैंकको तयारी छ । ठूला बैंक गाभ्ने विषयमा कुमारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीसँग अर्जुन पोख्रेलले गरेको कुराकानी :
बजारमा अहिले बिग मर्जरको धेरै चर्चा छ, के हो बिग मर्जर भनेको ?
बिर्ग मर्जरको कुरा गर्नुभन्दा पहिले मर्जरकै कुरा गर्नु उपयुक्त हुन्छ । नेपालको पहिलो मर्जर सन् २००४ मा लक्ष्मी बैंक र हाइसेफ फाइनान्सबीच भएको थियो । बीच–बीचमा बैंक तथा वित्तीय संस्था एक अर्कामा गाभिने र विलय हुने क्रम धेरै चलेको हो । ८५ वटा विकास बैंक अहिले २५ वटामा झरेका छन् । मैले पनि ५ वटा बैंक तथा वित्तीय संस्थाको मर्जरमा सहभागिता जनाइसकेको छु । अहिले म कुमारी बैंक आउँदा पनि काष्ठमण्डप बैंक लगायत अरु ३/४ वटा संस्थाहरु ल्याएर मर्जर गरिएको हो ।
बैंक तथा वित्तीय संस्थाका श्रेणीहरु छन् । ‘क’ वर्गमा वाणिज्य बैंकहरु पर्छन्, ‘ख’ वर्गमा विकास बैंक छन्, ‘ग’ वर्गमा फाइनान्स कम्पनी र ‘घ’ वर्गमा लघुवित्त कम्पनी पर्छन् । यीमध्ये ‘क’ वर्गका बैंक गाभ्ने या विलय हुने प्रक्रियालाई नै बिग मर्जर भनिएको हो । सजिलो गरी बुझ्दा ठूलाठूला बैंकहरुबीच हुने मर्जर नै बिग मर्जर हो ।
अब यो बिग मर्जर किन गर्नुपर्यो भन्ने कुरातिर जाउँ । केही वर्षअघि ‘क’ वर्गका बैंकको चुक्ता पूँजी २ अर्बको चुक्ता पूँजीबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने नीतिगत व्यवस्था ल्याए पनि वाणिज्य बैंकको संख्या खासै घटेन । यसरी ठुला बैंकको संख्या अपेक्षा गरेअनुरुप नघट्दा अस्वस्थ प्रतिस्पर्धा उस्तै छ । यो अस्वस्थ प्रतिस्पर्धा घटाउन र सञ्चालन खर्च घटाउन तथा वित्तीय क्षेत्रलाई अझै व्यवस्थित तथा सबल बनाउनका लागि बिग मर्जरको कुरा आएको हो ।
बैंक तथा वित्तीय संस्थाबीचको मर्जरको कुरा पहिलेदेखि नै चल्दै आएको हो । तर पछिल्लो एक महिनायता यसको चर्चा धेरै चुलिएको छ नि ?
मर्जरलाई सामान्यतया दीर्घकालीन व्यावसायिक रणनीतिका रुपमा बुझिन्छ । अर्कोसँग गाभिँदा या विलय हुँदा मैले के पाउँछु र अर्कोले के पाउँछ भन्ने विषयसँग सम्बन्धित छ । २ वटा या २ भन्दा धेरै बैंक तथा वित्तीय संस्था मिल्दा हामी कति बलियो हुन्छौँ भन्ने विषयसँग पनि यो सम्बन्धित छ ।
यो दीर्घकालीन व्यावसायिक योजना भएकाले मर्जर छोटो समयमा र सानो तयारीले पुग्छ जस्तो लाग्दैन । त्यसैले पछिल्लो समय यसको चर्चा धेरै भएको हो । उदाहरणका लागि हामीले मागी बिहेको कुरा गर्न सक्छौँ । बिहे भनेको आजको भोलि नै त हुँदैन नि । केटाकेटीबीच कुरा हुनुपर्यो, परिवारबीच कुरा मिल्नुपर्ला, उनीहरुका बारेमा बुझ्ने अनि किनमेल गर्ने र दिन हेराएर बिहे गराइदिने चलन छ ।
भनेको बिहे गर्न त त्यति व्यवस्थित र धेरै समय चाहिन्छ भने यति ठूला बैंकहरुको मर्जरको लागि पनि समय त लागिहाल्छ नि ।
तर राष्ट्र बैंकले त मौद्रिक नीति आउनुभन्दा अघि नै मर्जरको विषय टुंगो लगाउन भनेको छ नि ?
राष्ट्र बैंकले र गभर्नरज्यूले भनेको कुरा हामीले समग्रतामा हेर्नुपर्ने हुन्छ । उहाँले पनि आजको आजै मर्जर गर भन्नुभएको हैन । तर धेरै बैंक हुँदा विकृति बढे, त्यसैले मर्जरका लागि तयार रहनु भन्ने अर्थमा उहाँले मौद्रिक नीति आउनुअघि नै मानसिक रुपमा तयार होउ भन्न खोज्नुभएको होला ।
अर्को कुरा गभर्नरज्यूले भनेका कुरामा धेरै सत्यता छ । बैंकहरुको पूँजीसँगको सम्बन्ध गज्जबको हुन्छ । पूँजी बढ्दा पनि बैंकहरुलाई खराब नै हुन्छ । अनि आवश्यकताभन्दा कम पूँजी हुँदा पनि खराब नै हुन्छ । कम पूँजी भयो भने जोखिम बहन गर्ने क्षमता कम हुन्छ, बढी पूँजी भयो भने स्रोतको दोहन गर्ने जोखिम हुन्छ । अहिले हाम्रो बैंकिङ क्षेत्रले निक्षेपको अत्यधिक दोहन गर्दा विकृति देखिएको छ । यसले गर्दा अन्धाधुन्ध लगानी गरी वित्तीय क्षेत्र जोखिममा परेको देखिन्छ ।
गभर्नरले मौद्रिक नीतिअगावै कुन कुन संस्था मर्जरमा जाने हो सूची तयार पार्नुस् भन्नु भएको थियो, सल्लाह गर्नका लागि समय पर्याप्त हो ?
मैले मर्जरमा पनि केही काम गरेको हुनाले मर्जर जस्तो दीर्घकालीन महत्वको निर्णयका लागि केन्द्रीय बैंकले दिएको समय कम हो कि । यो दीर्घकालीन महत्वको विषय भएकोले २-४ घन्टा र २-४ जना व्यक्तिले मात्रै निर्णय गर्नेभन्दा पनि थुप्रै विषयमा थुप्रैै जनाले यथोचित समय दिएर छलफल गर्नुपर्ने विषय हो ।
मुल्याङ्कन गर्ने, साधारणसभा गर्ने, जनशक्ति/कर्मचारी व्यवस्थापन गर्ने र संस्थासँगै कल्चर पनि एक गर्ने कुरा मर्जरमा पर्ने भएकाले कम्तीमा पनि ४-५ महिना लाग्ने कुरा हो ।
राज्यले केही अलोकप्रिय निर्णय गरेरै भए पनि बैंकहरु मर्जर गराएका विश्वमा धेरै उदाहरण छन् । जस्तै मलेसियाका कुरा गर्दा पनि त्यहाँको केन्द्रीय बैंकले मर्जरको लागि बाध्यकारी नीति ल्याएपछि अहिले निकै राम्रो भएको छ । नेपालमा हाम्रो केन्द्रीय बैंक कानुनद्वारा स्थापित स्वायत्त संस्था हो, हामी बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय भएकाले राष्ट्र बैंकले दिएका निर्णयहरु बाध्यकारी हुन्छन् ।
म फेरि पनि भन्छु, बैंकहरुको अस्वस्थ प्रतिस्पर्धा हटाउन पनि मर्जर अत्यावश्यक छ ।
त्यसाे भए वाणिज्य बैंकहरुमा विकृति धेरै रहेछन् है ?
हो, २ अर्बको पूँजीलाई ८ अर्ब पुर्याइदिएपछि विकृति त भित्रिएको छ नै । पूँजी धेरै भएपछि नाफा पनि धेरै कमाउनुपर्यो । धेरै नाफा कमाउनका लागि कर्जा दिँदा गलत ठाउँमा पनि पर्न सक्छ । प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नभएको हुन सक्छ । अनुत्पादक क्षेत्रमा लगानी धेरै भएको हुन सक्छ । अर्को कुरा बैंक धेरै भएपछि शाखा पनि बढ्दै गए, शाखा बढ्नु भनेको बैंकको सञ्चालन खर्च बढ्नु हो, त्यस्तै धेरै शाखा खोल्नका लागि हामीसँग क्षमतावान कर्मचारी छन् कि छैनन्, स्रोत साधन छ कि छैनलगायतका कुरा पनि आउँछन् ।
यसले गर्दा देशको समग्र बैंकिङ क्षेत्रको उत्पादनशीलता घट्ने र लागत बढ्ने जोखिम पनि उत्तिकै छ । । पहिला २ अर्बको १० प्रतिशत नाफा कमाउन २० करोड भए पुग्थ्यो भने अहिले त ८० करोड रुपैयाँ नाफा चाहिन्छ । त्यसैले नाफाका लागि केही बैंकले अधिक जोखिम लिने तथा संस्थागत अनुशासनमा सम्झौता गर्ने डर पनि उत्तिकै देखिन्छ । त्यसैले पनि मर्जर आवश्यक छ ।
बैंकिङ उद्योगमा देखिएका पछिल्ला प्रतिस्पर्धा र स्रोतको सीमितताले गर्दा राष्ट्र बैंकले भनेन भने पनि अर्को १/२ वर्षमा त बैंक तथा वित्तीय संस्थाहरु आफै मर्जरको लागि तयार हुन्छन् जस्तो लाग्छ ।
तपाईँको भनाइअनुसार त मर्जर अब टारेर पनि नटर्ने देखियो । त्यसका लागि कन्सल्ट्यान्टहरु नेपालमै काफी छन् ?
हामीले बैंक तथा वित्तीय संस्थाको सफल मर्जर थालेको १५ वर्षभन्दा धेरै भैसकेको छ । आजसम्म हामीले देशभित्र उपलब्ध प्रविधि, जनशक्ति र साधनबाट गरेका मर्जरका कामहरु सन्तोषजनक छन् । त्यसैले हामीलाई विदेशी कन्सल्ट्यान्टको आवश्यकता छ जस्तो लाग्दैन । आफैले गरेका मर्जरले राम्रो नतिजा दिएका छन् ।
मर्जरको मुख्य कारणमध्ये तपाईँले सञ्चालन खर्चलाई पनि देखाउनुभयो, नेपाली बैंकहरुको सञ्चालन खर्च किन यति धेरै भएको हो
तपाईँले राम्रो प्रश्न गर्नुभयो । मर्जरले बैंकहरुको सञ्चालन खर्च घटाउँछ । अहिले २८ वटा वाणिज्य बैंक छन् । सीईओको तलब १०/१२ लाख रुपैयाँसम्म छ । अब बैंक १४ वटामा झरे भने सीईओको तलबबापतकै कति धेरै रकम बचत हुन्छ भन्नुस् त । अनि कर्मचारी पनि धेरै छन्, मर्जरपछि केही कम हुन सक्छन् ।
वित्तीय पहुँच पुर्याउनको लागि विगतमा हामीले आवश्यकताभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई लाइसेन्स दिएका पनि हुन सक्छौँ । तत्कालीन अवस्थामा गरिएको निर्णयका आधारमा सधैँभरि त्यही निर्णय नै सही हो भन्ने हुँदैन । तसर्थ वर्तमानमा बैंक तथा वित्तीय संस्थाको संख्या घट्नु आवश्यक छ ।
यसको मतलब बैंक मर्जर भए भने शाखा पनि घटन् सक्छन् । शाखा घट्नु भनेको सञ्चालन खर्च घट्नु हो । म एउटा अनुभव भन्छु । नेपाल बंगलादेश बैंक समस्यामा परेपछि राष्ट्र बैंकले ३ जनाको एक व्यवस्थापन समूह बनाएर व्यवस्थापनको जिम्मा दिएको थियो । त्यो समूहमा म पनि एक सदस्य थिएँ । त्यसकै सिलसिलामा १२ वर्षअघि म दमक गएको थिएँ । त्यतिबेला दमकमा एउटा पनि कर्मसियल बैंक थिएन ।
दमकमा त्यतिखेरको एउटा प्रतिष्ठित समूहले १ करोड रुपैयाँ ऋण लिएर लाइफलाइन अस्पताल खोलेको रहेछ । आफू १ करोड रुपैयाँ ऋण लिन विराटनगरसम्म पुगेको गुनासो गर्दै त्यो समूहका एक सदस्यले कुनै कमर्सियल बैंक दमकमा आए राम्रोसँग व्यवस्थापन गर्न सक्ने अवस्था रहेको र निक्षेप पनि राम्रो संकलन हुने कर्जाको पनि राम्रो माग रहेको जानकारी दिनुभयो । उहाँले दमकमा एउटा कमर्सियल बैंकको शाखा आवश्यक रहेकाले शाखा खोल्न पहल गरिदिनु आग्रह गर्नुभयो ।
तर अहिले दमकमा हेर्नुस् त कति धेरै बैंकका शाखा छन् । हरेकजसो कमर्सियल बैंक दमक पुगेका छन् । ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु पनि उत्तिकै छन् । त्यहाँ कति खर्च लागेको होला भन्नुस् त । प्रतिस्पर्धाको नाममा अहिले त चाहिनेभन्दा धेरै शाखाहरु खोल्न थालिएको छ । त्यसैले समग्र बैंकिङ क्षेत्रको सञ्चालन खर्च बढेको छ । उत्पादनशीलता घटाइदिएको छ ।
मर्जरपछि अहिले ब्याजदरमा आएको उतारचढाव कम हुन्छ भनिएको छ, यसमा कत्तिको सत्यता छ ?
यसमा पुरै सत्यता छ भन्ने त लाग्दैन । ब्याजदरको उतारचढावका थुप्रै कारण छन् । अघि भनेझैँं तीव्र प्रतिस्पर्धाका कारण पूँजी संकलन र कर्जा प्रवाहमा समस्या देखिएको पक्कै हो । निक्षेपमा बढी चाप हुँदा (माग बढ्न गइ) ब्याज बढ्छ र कर्जाको ब्याज पनि त्यसैअनुरुप बढ्ने नै भयो । यसरी अस्वभाविक ब्याजदरको उचारचढावले व्यवसायीहरुलाई व्यवसाय गर्न कठिन हुन्छ त्यस्ले पनि असन्तुष्टि बढेको हो ।
बैंक तथा वित्तीय क्षेत्र वित्तीय मध्यस्तकर्ता मात्र हो । जनताबाट निक्षेप लिई जनतालाई नै कर्जा उपलब्ध गराउने हो, तसर्थ निक्षेप ब्याजको आधारमा कर्जाको ब्याज तोकिने हो । तर मर्जरपछि यो सन्तुलनमा आउन सक्छ भन्ने आशा गर्न सकिन्छ ।
ब्याजदरको सम्बन्ध तरलता अभावसँग छ, मर्जरपछि तरलता अभावको समस्या पनि कम होला कि ?
बिग मर्जरकै कारण तरलता अभाव हुँदैन भन्न त मिल्दैन । हामीले उत्पादनमूलक क्षेत्रमा लगानी नबढाएसम्म त तरलता अभावको समस्या यत्तिकै समाधान हुँदैन होला । आयातमुखी अर्थतन्त्र रहँदासम्म हाम्रो पैसा विदेशिन्छ अनि तरलतामा चाप परिरहन्छ । देशमा उब्जनी घटेको छ, अनि खाद्यान्नदेखि गाडी जस्ता विलासिताका बस्तुका लागि हामीले पैसा विदेश पठाउनुपर्दा समस्या बढेको छ । यदि हाम्रै उत्पादन बढेको भए र देशभित्रै पैसा रहने थियो नि ।
त्यसैले सरकारले भनेका प्राथमिकता प्राप्त क्षेत्रमा बैंकले प्रभावकारी भएर लगानी गरेका छन् कि छैनन् भन्नेतर्फ पनि हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ । मर्जरपछि तरलतामा केही सहज सक्ला र संभवत देशको उत्पादनशील क्षेत्रले पनि राहत महसुस गर्न सक्ला कि ।
राष्ट्र बैंकले बिग मर्जरका लागि दबाब दिन थालेपछि बैंक समूहको शेयर बढ्न थालेको छ, यसको संकेत के हुन सक्छ ?
शेयरको मूल्य बढ्नु या घट्नुमा धेरै कारणहरु छन् । जस्तै कम्पनीको आफ्नो व्यवसायिक अवस्था, देशको राजनितिक, सामाजिक र आर्थिक अवस्थालगायत अन्य थुप्रै कारणहरु हुन सक्छन् । स्वभावत बिग मर्जर जस्तो घटनाले पनि शेयर बजारको मूल्यको उतारचढावमा प्रभाव पार्न सक्छ । हाल शेयर बजारमा देखिएको बैंकिङ समूहको मूल्यवृद्धिले पनि हाम्रा लगानीकर्ताको मनोभावना मर्जरले बैंक तथा वित्तीय संस्थाहरु सवल तथा बढी प्रतिफल दिन सक्ने हुन्छन् भन्ने देखिन्छ ।
धेरै कुराको राम्रो नतिजासँगै केही असर र जोखिम पनि हुन्छन्, मर्जरका पनि केही जोखिम छन् कि ?
मर्जर भनेको दीर्घकालीन व्यावसायिक रणनीति हो । यो कुनै लहड, फेसन र बाध्यता (सामान्य अवस्थामा) होइन संस्थाहरुले आफ्नो दीर्घकालीन व्यावसायिक हितमा गरिने निर्णय हो । यसका लागि राम्रो तयारीको आवश्यकता महत्वपूर्ण हुन्छ । जस्ले राम्रो तयारीका साथ मर्जर सम्पन्न गर्छ त्यही मर्ज सफल र प्रभावकारी हुन्छ ।
मर्जरका केही विधिहरु छन् । सामान्यता मर्जरलाई २ भागमा बाँडिन्छ ।
१ – मर्जको पूर्वअवस्था
२ – मर्जपछिको अवस्था
प्रि–मर्जको कामलाई जति व्यवस्थित र प्रभावकारी बनाउन सके मर्जपछिका कामलाई पनि उत्तिकै व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ । यी दुई अवस्थालाई सही तथा प्रभावकारी ढंगले व्यवस्थापन गर्न आवश्यक हुन्छ । मर्ज सफलताको राज नै त्यही हो ।
मर्जमा सञ्चालकको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन, संस्कृतिहरुको एकीकरण प्रणाली र अर्थनीतिको प्रभावकारी एकीकरण तथा मर्ज सम्बन्धमा उपल्ला तहका कर्मचारीको बुझाइ तथा प्रभावकारी नेतृत्वको महत्वपूर्ण भूमिका रहन्छ । मूल नेतृत्व (सीईओ) ले नै मर्जरको स्पिरिटलाई लिएर नेतृत्व गर्न सक्छन कि सक्दैनन् भन्ने पनि ठूलो प्रश्न हुन्छ ।
मेरो अनुभवमा ठूला बैंकहरु मर्जरको पक्षमा थिएनन् तर विगत केही वर्ष यता केही बैंकहरुले अस्वभाविक रुपमा आफ्नो आकारलाई बढाए । जसले गर्दा बैंकिङ क्षेत्रमा नयाँ तरंगहरु पैदा गराए । जसलाई हामी क्रमभंगता भन्न सक्छौँ । यसले गर्दा सबल भनिएका राम्रा बैंकलाई पनि निकै चुनौती देखिएको छ । साथै पूँजीवृद्धिका कारण कमजोर भएका बैंकहरु आफ्नै कारण पनि मर्जरमा जानुपर्ने देखिएको छ ।
यसो भन्दा केन्द्रीय बैंक वा गभर्नरले बिग मर्जरमा जाउ भन्नुमा देशको बैंकिङ क्षेत्रको आफ्नै आवश्यकता हो भन्ने बुझ्न पनि जरुरी छ । तर केही मर्जर विशेषमा ठूला बैंकहरुले साना संस्था लिँदा कमजोरी पनि देखिएका छन् । कर्मचारी व्यवस्थापनमा उदासिनता, साना संस्थाका लगानीकर्तामा देखिएको नैराश्यपनलाई पनि ध्यान दिनुपर्छ ।
अझ भनौँ व्यवस्थित र प्रभावकारी ढंगले सबैलाई समेटेर लैजान नसकेको हाम्रो अवस्थामा ठूला बैंकहरुको मर्जमा चनाखो तथा ठूलो हृदयका साथ व्यवस्थित र प्रभावकारी हुन निकै आवश्यक छ ।
ठूला बैंकहरुले जमिन्दारी सोच त्याग्नैपर्छ । मर्जपछि अर्को संस्थाका लगानीकर्ता, कर्मचारी, ग्राहकहरुलाई गरिने व्यवहार पनि सफल मर्जका लागि अत्यावश्यक छ । मेरो अनुभवमा ठूलो संस्थाका सबै चिज राम्रो (हाम्रो राम्रो) तर अर्कै संस्थाको सबै चिज नराम्रो (राम्रो पनि) जस्ता सोचले मर्जको सफलतामा अवरोध हुन सक्छ ।
– (उल्लेखित अन्तर्वार्तामा प्रस्तुत गरिएका विचार अन्तर्वार्ताकारका निजी विचार हुन् । यसले कुनै पनि संस्थाको प्रतिनिधित्व गर्दैन ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।