वस्तुभाउसँगै एउटै कुवाको पानी पिउन बाध्य गुइडुङ गाउँका बासिन्दा

 फागुन ८, २०७५ बुधबार १७:४४:२७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका - १२ गुइडुङ गाउँका ५० घर परिवार वर्षाैंद्खि वस्तुभाउसँगै एउटै कुवाको पानी पिउन बाध्य छन् ।

खानेपानीको अन्य कुनै स्रोत  र उपाय नभएपछि उनीहरु ९० वर्षदेखि पशुसँगै एउटै कुवाको पानी प्रयोग गर्न बाध्य भएका हुन् ।

स्थानीय गुन्जसिंह थिङ भन्नुहुन्छ, 'यो डाँडामा बस्न थालेको जुग बितिसक्यो, केही पनि विकास भएको छैन' उहाँले भन्नुभयाे, 'डाँडो कुर्दाकुर्दै मर्ने बेला हुन लाग्याे । अब त गाडी, बिजुली, पानी, धारा, अस्पताल केही पनि देखिँदैन जस्तो लाग्छ ।

घारीबथानबाट करिब ४ घण्टाको ठाडो उकालो हिँडेपछि विकट गुइडुङ गाँउ पुगिन्छ । त्यहाँ पुग्ने जो कोहीले पनि एउटा फरक अनुभूति गर्न सक्छन् । विकासको पर्खाइमा बसेको  गुइडुङ गाउँका महिलाहरु बिहानै उठेर ढिकीजाँतो गर्न जान्छन् ।

घरभन्दा एक किलोमिटर तल खोल्सामा एउटा सानो  कुवा छ। त्यही कुवाबाट  स्थानीय बासिन्दा र पशु सँगसँगै पानी खान्छन् । सानो काठले छाएको कुवाभित्र धमिलो पानीमा भ्यागुता र चेपागाँडा पौडिएका छन् । खानेपानीको लागि सबैसँग हारगुहार गरे पनि कसैबाट कुनै सुनुवाइ नभएको स्थानीय मानसिङ थिङले गुनासो पाेख्नुभयाे ।

१९९१ सालमा काभ्रे जिल्लाबाट आएर यही डाँडामा बसेको बताउँदै वीरबहादुर थिङ भनुहुन्छ, 'त्यतिबेला डरले मधेश गइएन, यतै बसियाे । तर अहिलेसम्म यो ठाउँको विकास हुन सकेको छैन', उहाँले मनमा गाँठाे पार्दै भन्नुभयाे, 'पिउनका लागि शुद्ध खानेपानीकाे व्यवस्था छैन, बिरामी भइहाले अस्पताल पनि छैन ।' 

यस्तै गाउँमा एउटा मात्र विद्यालय छ,शिद्देश्वरी, त्याे पनि प्राथमिक । त्यहाँ १८ जना विद्यार्थीका लागि दुई जना शिक्षक कार्यरत छन् । त्यहाँबाट  पाँच कक्षा उत्तीर्ण गरेपछि विद्यार्थीहरुलाई माथिल्लाे कक्षा पढ्न कहाँ जाने भन्ने समस्या हुन्छ । कक्षा ८ मा पढ्ने १३ वर्षकी शुशिला थिङ अहिले चार घण्टा पैदल हिँडेर चुरे फेदीमा रहेको नेपाल राष्ट्रिय जनता मावि घारीबथानमा पढनुहुन्छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया