पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको जुलुस इस्लामाबाद नजिकै पुग्यो

 मंसिर ११, २०८१ मंगलबार १२:२:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका हजारौं कार्यकर्ताको जुलुस राजधानी इस्लामाबाद प्रवेश गर्ने नाकामा पुगेको छ ।

सरकारले नै सडक बन्द गर्दै विभिन्न अवरोध सिर्जना गरे पनि हजारौं मानिस इस्लामाबादको ढोकैमा पुगेका समाचार संस्था एएफपीले जनाएको छ । पीटीआईका कार्यकर्ताले सबै खालका अवरोध तोड्दै अघि बढिरहेका छन् ।

हिजो भएको झडपमा एक जना प्रहरीको ज्यान गएको छ भने नौ जना गम्भीर घाइते भएका छन् । प्रहरीले रबरका गोली र अश्रुग्यास हान्दा सयौं आन्दोलनकारी घाइते भएका छन् । देशका अरू ठूला शहरमा पनि विशाल प्रदर्शन भइरहेका छन् ।

गएको शनिवार रातिदेखि राजधानी प्रवेश गर्ने सबै नाका सरकारले नै बन्द गरेको छ । मोबाइल इन्टरनेट छिटपुट रूपमा काटिएको छ । पाकिस्तानको मानव अधिकार आयोगले राजमार्ग बन्द गरेर राजधानी आउजाउ गर्ने पहुँच रोक्नुले आमनागरिकलाई सरकारले नै दण्डित गरिरहेको उल्लेख गरेको छ ।

सडकमा हतियारसहितका २० हजार जनाभन्दा धेरै प्रहरी, ब्यारिगेड र ट्रक तेर्स्याएर सरकारले ठूलै युद्धको झल्को दिएको डन अखबारको सम्पादकीयमा उल्लेख छ ।

गएको हप्ता इस्लामाबाद शहर प्रशासनले सार्वजनिक जमघटमा दुई महिनाको प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । स्कूल र कलेज पनि बन्द छन् । अन्यायपूर्वक जेलमा राखिएका इमरान खानको रिहाइ नभएसम्म सडक नछाड्ने आन्दोलनकारीले बताएका छन् ।

सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीको रूपमा काम गरेका इमरान खानलाई गएको वर्षदेखि भ्रष्टाचार र दङ्गा भड्काउने लगायतका कानूनी आरोपहरू लगाएर जेलमा थुनिएको छ । यस वर्षको चुनावमा पीटीआईले सबैभन्दा धेरै सिट जिते पनि सैन्य प्रभावमा बढी लचिलो मानिने दलहरूको गठबन्धनले उसलाई सत्ताबाट बाहिर राखेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया