सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्गकोर सीधा हवाई उडान शुरू गर्न पहल

 मंसिर १०, २०८१ सोमबार १५:७:५१ | रासस
unn.prixa.net

काठमाण्डाै – पाँच दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्त्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख घिमिरेले बुद्ध जन्मस्थल लुम्बिनी र कम्बोडियाको अङ्गकोरबाट हिन्दू तथा बौद्ध सम्पदालाई प्रवद्र्धन गर्न सीधा हवाई सेवा शुरू गर्नुपर्नेमा जोड दिनुभयो । यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास छ ।

नेपाल र कम्बोडियाबीच २०७५ मा नै हवाई सम्झौता भएको थियो । भेटमा दुवै देशका नागरिकबीच अनुभव आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सभामुख घिमिरेले नेपाल भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणासमेत दिनुभएको छ ।

प्रधानमन्त्री मानेटले साना राष्ट्रको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी) को अन्तर–संसदीय सभा उत्कृष्ट मञ्च भएको उल्लेख गर्नुभएको छ ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुग्नुभएका सभामुखले हिजो सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औं पूर्ण सत्रलाई सम्बोधन गर्नुभएको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया