प्रकृति संरक्षण कोषलाई अनुकूलन कोषको नयाँ राष्ट्रिय कार्यान्वयन निकायको रुपमा छनोट

 मंसिर ८, २०८१ शनिबार ९:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई अनुकूलन कोषले आफ्नो नयाँ राष्ट्रिय कार्यान्वयन निकाय (एनआईई) रूपमा छनोट गरेको छ । यसले नेपालमा जलवायु अनुकूलन कार्यक्रमका लागि वित्त ल्याउन सहज हुने विश्वास गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषजस्ता एनआईईमा अहिलेसम्म विश्वभरका ३४ वटा निकायले मान्यता पाएका छन् । अनुकूलन कोषबाट एउटा परियोजनाबाट एक अर्ब ३५ करोड रुपैयाँसम्म प्राप्त गर्न सकिन्छ ।

अजरबैजानको राजधानी बाकुमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा एनटीएनसीले यो मान्यता पाएको हो ।

नेपालमा अनुकूलन कोषको रकम ल्याउन, जलवायु अनुकूलनसम्बन्धीका परियोजना निर्माणदेखि कार्यान्वयनका लागि सहज बनाउन अनुकूलन कोषले नेपालमा पहिलोपटक एनटीएनसीलाई छनोट गरेको जलवायु तथा ज्ञान व्यवस्थापन विभागका प्रमुख डा.मनिसराज पाण्डेले जानकारी दिनुभयो ।

यसअघि एनटीएनसी ‘हरित जलवायु कोष’बाट राष्ट्रिय मान्यता प्राप्त निकायको रूपमा छनोट भई कार्यान्वयनको अवस्थामा रहेको छ । अनुकूलन कोषले विगत १५ वर्षदेखि जलवायु अनुकूलनका परियोजना पहिचान, विकास र कार्यान्वयन गर्नका लागि सक्षम रहेका विभिन्न अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय निकायलाई एनआईईको रूपमा छनोट गर्दै आइरहेको छ ।

नेपालका लागि एनटीएनसीले अब जीसीएफ र अनुकूलन कोषजस्ता जलवायुका ठूला अन्तर्राष्ट्रिय कोषमा सोझै पहुँच पुर्‍याउने अधिकार पाएको एनटीएनसीका सदस्य सचिव डा.नरेश सुवेदीले बताउनुभयो ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया