कात्तिक नाच आजदेखि

 कात्तिक २१, २०८१ बुधबार ७:५:३८ | रासस
unn.prixa.net

काठमाण्डौ – तीन सय त्रियासी वर्षदेखि चल्दै आएको कात्तिक नाच आजदेखि शुरू हुँदैछ । पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा आजदेखि नाच सञ्चालन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिनुभयो । यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ ।

आउँदो ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसारका नाच देखाइन्छ । नेपाल संवत् ७६१ अर्थात् वि.सं.१६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो ।

मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका बासिन्दालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनर सिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ ।

यो नाच शुरूमा पाँच दिन प्रदर्शन भएको थियो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’र ‘सुरदास प्याखँ’थपेर यसलाई १५ दिन पुर्‍याए भनिन्छ । अहिले यसको विशेषता बुझेको कलाकार र नाच सञ्चालनका लागि आर्थिक अभावमा १० दिनमा मात्रै सीमित गरिएको चित्रकारको भनाइ छ ।

यो नाच नेपालको अमूर्त सम्पदा र परम्परागत संस्कृति भएकाले हालसम्म नरोकिएको अध्यक्ष चित्रकारले बताउनुभयो । कात्तिक नाच धार्मिक र तान्त्रिक महत्त्वसँग पनि जोडिएको छ ।

यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ । जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको चित्रकारले बताउनुभयो । यो नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको नाच प्रचारप्रसार समितिका संयोजक कलाकार सञ्जय शर्मा राजोपाध्यायको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया