पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
ललितपुर – गएको असोज ११ र १२ गतेको बाढी पहिरोबाट प्रभावित भएकाहरूका लागि अहिलेसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दशैँ तिहार मनाएका छन् ।
छिमेकी बचाउन जाँदा आफ्नो परिवारका सबै सदस्य गुमाउनुभएका डुकुमान स्याङ्तान अहिले ठूलो बुवाको छोरा जिरामान स्याङ्तानको घरमा आश्रय लिएर बस्नुभएको छ ।
परिवारका सबै सदस्य गुमाएर एक्लै बाँच्नुभएका डुकुमानलाई दशैँ तिहारको उमङ्गभन्दा पनि परिवारका सदस्या गुमाउँदाको पीडाले विछिप्त बनाएको छ । कसैसँग राम्रोसँग कुरा गर्नसमेत नसक्ने अवस्थामा डुकुमान पुगेका उहाँका दाजु जिरामानले बताउनुभयो । ‘खानपिन पनि त्यति ध्यान दिएर खाँदैन, आफ्नै सुरको कुरा गरिरहन्छ, हिँडिरहन मात्रै खोज्छ’, उहाँले भन्नुभयो ।
बाढी पहिरो आएको दिन आफ्नो घर सुरक्षित ठानेर राति १ बजेतिर सुतिरहेका श्रीमती, दुई छोरा र छोरीलाई छोडेर घरभन्दा ५० मिटर तल रहेका सात घरमा बाढी पस्न थालेको देखेर छिमेकीको उद्धार गर्न तल झर्नुभएका डुकुमानले उद्धारमा खटिरहेका बेला आफ्नो परिवारको भने उद्धार गर्न पाउनुभएन ।
अरूलाई सुरक्षित ठाउँमा ल्याइसकेको डुकुमानले आफ्नै घर माथिबाट झरेको पहिरोले परिवार र घर पुर्न थालेको देख्नुभयो तर उहाँ घर पुग्नै पाउनुभएन । ‘पहिरो यति तीव्र गतिमा झर्यो कि उहाँ पुग्नुअघि उहाँको घर पुर्याे । गुहार माग्यो, चिच्यायो अनि थचक्क भुँइमा बसेर रुनुको विकल्प भएन । उसले कसैलाई बचाउन सकेन’, दाजु जिरामानले भन्नुभयो ।
डुकुमानकी श्रीमती राममाया, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र नौ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्याे । खोलाका किनारैकिनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारै जनाको खोजी गरे पनि फेला पार्न सकेनन् । चारै जना कहीँकतै जिउँदै भेटिने आश उहाँलाई थियो ।
असोज १२ गते दिउँसो ३ बजेतिर डुकुमानले श्रीमतीसहित दुई छोरा र एक छोरी एकैठाउँमा पुरिएको अवस्थामा फेला पर्नुभयो । ‘भर्याङमुनि चारै जना एकै ठाउँमा थिचिएको अवस्थामा भेटियो, श्रीमती राममायाले उद्धार माग्दै हात उठाएको देखिन्छ’, दाजु जिरामानले भन्नुभयो । परिवारका पाँचमध्ये डुकुमान एक्लै जीवित हुनुहुन्छ । उहाँका बुबा, आमा र दाइ पहिल्यै नै बितिसक्नुभएको थियो ।
उहाँ तीन वर्ष वैदेशिक रोजगारमा बसेर ६ महिनाअघि मात्र स्वेदश फर्कनुभएको थियो । डुकुमानलाई आश्रय दिएर राखिरहनुभएका जिरामानको सात रोपनीभन्दा बढी खेत बढीले बगाएर नष्ट गरेको छ । ‘आफ्नो भएको त्यही खेत हो, सबै बगाएर सखाप पार्याे । अन्न उब्जाउ हुने ठाउँ छैन’, उहाँले दुखेसो पोख्नुभयो ।
बाढी पहिरोबाट विस्थापित बुद्धिमान स्याङ्तानको परिवार उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौ रहेका छोराछोरीको डेरामा बसिरहेको छ । ‘अब बस्ने ठाउँ पनि रहेन, अर्को व्यवस्था तत्कालै हुने अवस्था पनि देखिएन, त्यसैले छोराछोरीको डेरामा केही समय बस्न गएका छौँ’, माइती आउनुभएकी बुद्धिमानकी श्रीमतीले भन्नुभयो ।
मानिखेलमा ज्यान गुमाएका ६ र बेपत्ता दुई गरी आठ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट दुई लाख रुपैयाँका दरले उपलब्ध गराएको महाङ्काल गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का अध्यक्ष जोनीकुमार न्यासुरले बताउनुभयो ।
‘मृतकका परिवारलाई सङ्घीय सरकारले दिने रकम दिइसकेका छौँ । सङ्घीय सांसद उदयशम्शेर राणाले २० हजार रुपैयाँ र पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा २५ हजार रुपैयाँ पनि उहाँहरूले पाइसक्नुभएको छ, स्थानीय सरकारले दिने १५ हजार रुपैयाँ राहत केही दिनमा उपलब्ध गराउनेछौँ’, अध्यक्ष न्यासुरले भन्नुभयो, ‘पुनर्वासका लागि वडा नम्बर २ मानिखेलको टुटुवा डाँडामा व्यवस्था मिलाउने गरी पालिकाबाट निर्णय भएको छ । याे निर्णय विभिन्न निकाय हुँदै मन्त्रिपरिषद्बाट पारित भएपछि स्थायी संरचना निर्माण गरेर त्यहाँ सार्ने व्यवस्थाका लागि लागेका छौँ ।’
वडाध्यक्ष न्यासुरका अनुसार ठोट्ने खोलाका २९, लक्ष्यबासका तीन र मानिखेलबेँसीका ६ गरी ३८ परिवार विस्थापित भएका छन् । ‘त्रिपालमुनि बस्नुपरेको अवस्था चाहिँ छैन, कोही आफन्तकामा, कोही गोठमा र कोही अध्ययनका लागि उपत्यकामा रहेका आफ्ना छोराछोरीको डेरामा बसिरहेका छन्’, उहाँले भन्नुभयो ।
वडा नम्बर ३ गोटीखेलका अध्यक्ष मनोजकुमार पराजुलीका अनुसार वटा नम्बर ३ मा चार जनाको ज्यान गएको र १९ परिवारको घरबार पूरै नष्ट गरेको छ । अरू ५२ परिवार अतिप्रभावित भएका छन् । ‘खाद्यान्न भाँडाकुँडा र कपडा प्रत्येकले पाएका छन्, पुनर्वासका लागि व्यवस्था गर्ने काम हुँदैछ । विस्तृत विवरण पूरा नभएका कारण स्थानीय तहले दिने राहत दिन बाँकी छ, एक/दुई दिनमा वितरण गर्नेछौँ’, उहाँले भन्नुभयो ।
विस्थापितको पुनर्वासका लागि स्थानीय तहले गरेको निर्णयअनुसार जिल्लाका सरोकार भएका सम्बन्धित सबै कार्यालयसँग समन्वयमा काम अगाडि बढिरहेको जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले बताउनुभयो ।
‘विस्थापितलाई सुरक्षित स्थानमा बसाउने व्यवस्थाका लागि हामी लागिरहेका छौँ । उहाँहरूलाई बासस्थान निर्माण गर्न कम्तीमा आठ आना जग्गाको व्यवस्थापन गर्नुपर्छ, यसका लागि स्थानीय तहले सुरक्षित ठाउँ पहिचान गरेर निर्णय सिफारिश गरिसकेको छ । अब जिल्ला प्रशासन कार्यालय हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएपछि यो कामले मूर्तरूप पाउनेछ’, प्रमुख फुयाँलले भन्नुभयो ।
महाङ्काल गाउँपालिकामा बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ छ । जिल्लामा बाढी पहिरोले सबैभन्दा बढी क्षति पुर्याएको यस पालिकालाई ललितपुर महानगरले ५० लाख रुपैयाँ राहत स्वरूप उपलब्ध गराउने निर्णय गरिसकेको छ भने बाग्मती प्रदेश सरकारकाे यही कात्तिक २ गते शुक्रवार बसेको बैठकको निर्णयले अतिप्रभावित स्थानीय तह घोषित गरी ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।