छठ पर्व नजिकिएसँगै मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त

 कात्तिक १९, २०८१ सोमबार १८:३१:२१ | रासस
unn.prixa.net

सुनसरी – सुनसरी हरिनगर गाउँपालिका–२ का मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसका सामग्री बनाउन व्यस्त छन् । आस्था र लोकपर्वका रूपमा रहेको छठ पर्व आउन केहीदिन मात्र बाँकी रहे पनि यहाँका मरिकहरूलाई धेरै दिन पहिलेदेखि नै छठ लागिसकेको छ ।

सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, देवानगन्ज, इटहरी, दुहबी, रामधुनी, कोशी, बराह क्षेत्रलगायत क्षेत्रमा बसोबास गर्ने मरिक समुदायलाई छठ नजिकिँदै जाँदा सामान बनाउन थप चटारो छ ।

छठमा प्रयोग हुने कोनियाँ, ढकी, नाङ्गलोलगायत बाँसका सामग्री बनाउनका लागि व्यस्त हुनुपरेको हरिनगर– २ का वीरेन्द्र मरिकले बताउनुहुन्छ । छठमा बाँसका सामग्रीको माग अधिक हुने गरेकाले आफूहरूले यस्ता सामान बनाएर बिक्री वितरणबाट आएको केही रकमले चाडपर्वको गर्जो टार्ने गरेको सुनाउनुभयो । 

यस्तै अनिता मरिकले पनि हरेक वर्ष छठ आउनुभन्दा एक महिना अगाडिदेखि नै बाँसको सामग्री बनाउने गरिएको बताउनुभयो । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक समुदायका व्यक्तिले पनि यस बेला आम्दानी गर्ने अवसर पाउँछन् ।

चन्दन मरिकले पनि आफूहरूको आम्दानीको अन्य स्रोत नभएकाले छठ पर्खेर बस्नुपर्ने अवस्था रहेको सुनाउनुभयो । यसरी बाँसको सामग्री बिक्री गरेर वर्षभरिका लागि आर्थिक जोहो गर्नु आफूहरूको बाध्यता रहको र यसैबाट खाने कुराका साथै छोराछोरीको शिक्षादिक्षाको खर्च धान्ने गरेको उहाँको भनाइ छ ।

दुई जनाको सहारामा एउटा बाँसको ढकी बनाउनका लागि २ दिनसम्म लाग्ने गरेको मरिक समुदायका अगुवाले बताएका छन् । तर पछिल्लो समय आधुनिकतासँगै भित्रिएका प्लाष्टिकलगायत सामग्रीले घरमा बनाएका सामानको माग घट्दै गएकामा मरिक समुदाय चिन्तित छन् ।

मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसका सामग्रीको व्यवसायीकरण  वा वैकल्पिक सामान बनाउनका लागि आवश्यक तालिम र प्रविधि सहयोग गर्नुपर्ने उनीहरुको  माग छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया