इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको ज्यान गयो

 कात्तिक १९, २०८१ सोमबार १६:३९:४८ | एजेन्सी
unn.prixa.net

पूर्वी इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । लेवोटोबी लाकी–लाकी नाम गरेको पहाडमा ज्वालामुखी विस्फोट भएको इन्डोनेशियाको ज्वालामुखी तथा भौगर्भिक विपद् न्यूनीकरण केन्द्रले जनाएको छ ।

आगो दन्केको लाभाका टुक्रा र ढुङ्गाहरू उछिट्टिएर ज्वालामुखीको केन्द्रबाट चार किलोमिटर टाढा रहेका गाउँहरूमा पुगेका थिए । त्यसबाट कतिपय घरहरूमा आगलागी भएको छ । ज्वालामुखी विस्फोटबाट सात वटा गाउँ प्रभावित भएका छन् ।

इन्डोनेशिया सरकारले ज्वालामुखीबाट पुग्ने खतराको सूचनाको तहलाई उच्चतम स्तरमा बढाउँदै ज्वालामुखीको केन्द्रबाट सात किलोमिटरकोे क्षेत्रभित्र पर्ने सबै ठाउँ खाली गराउन भनेको छ ।

इन्डोनेशियाको विपद् न्यूनीकरण निकायका प्रवक्ताले अबका केही दिन अकस्मात् आउने बाढी र बगेर आउने चिसो लाभाले समस्या निम्त्याउने चेतावनी दिनुभएको छ । स्थानीय सरकारहरूले ५८ दिनका लागि प्रभावित क्षेत्रमा सङ्कटकालको घोषणा गरेका छन् ।

इन्डोनेशिया, प्रशान्त महासागरीय क्षेत्रमा आगोको घेरा अर्थात रिङ अफ फाएर भनिने उच्च भूकम्पीय गतिविधि भइरहने इलाकामा पर्छ । यसको मुनि एकभन्दा बढी टेक्टोनिक प्लेटहरू छन् । त्यहाँ एक सय ३० वटाजति सक्रिय ज्वालामुखीहरू छन् ।

त्यस क्षेत्रको माटो निकै उर्वर हुने हुँदा धेरै मानिसहरू ज्वालामुखीको नजिकको क्षेत्रमा जोखिम उठाएरै भए पनि बसोबास गर्दै आएका छन् । 
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया