तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

 कात्तिक १४, २०८१ बुधबार १५:५९:३१ | रासस
unn.prixa.net

डा. अरुणा उप्रेती

नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ । यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबीच विभिन्न उपहार पनि लिनेदिने पर्वका रूपमा पनि लिने गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार । दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाइका परिकार खुवाउने, टीका लगाउने, पूजा गर्ने र त्यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई स्नेहपूर्वक उपहार दिने एकदमै राम्रो चलन हो । यो चलनलाई जोगाउनुपर्छ । तर यो पर्व मनाउँदै गर्दा विभिन्न मसला र भोजन दाजुभाइलाई दिँदा त्यस्तो भोजन कस्तो तरिकाले बनाइएको र कस्तो तेल प्रयोग गरिएको छ भनेर विचार चाहिँ गर्नुपर्छ ।

तेलको गुणस्तरले भोजनको गुणस्तरमा पनि असर पार्ने हुँदा आफूले प्रेमपूर्वक दिएको खानेकुराले कुनै असर नगरोस् भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । बारम्बार एउटै तेलको प्रयोग गर्दा त्यसमा नराम्रो खालको चिल्लो उत्पन्न हुन्छ । त्यसले मुटु र कलेजोलाई हानि पुर्‍याउँछ । यस्तो खाना खाएपछि दाजुभाइलाई समस्या उत्पन्न हुनसक्छ । त्यसमाथि पनि मधुमेह, उच्च रक्तचापको समस्या भएका व्यक्तिहरूमा झन् समस्या थपिन सक्छ । त्यसैले दिदीबहिनीले सबैलाई स्वास्थ्यकर हुने घरमा बनाइएका खानेकुराको बढी प्रयोग गरे दाजुभाइलाई ‘माया’ गरेको ठहरिन्छ ।

तिहार पर्व मनाइरहँदा सन्तुलित र स्वस्थ खानेकुरातर्फ ध्यान दिन जरुरी छ । यो बेलामा विभिन्न तरिकाले बनाएका बढी मासु खाँदा स्वास्थ्यमा समस्या पनि आउन सक्छ । धेरै चिल्लो, मसला र पिरो राखेर पकाएको मासु स्वादिष्ट त हुन्छ । भात, रोटी, चिउरासँग त्यो स्वादिष्ट मासु खाएर पेट टन्न हुँदा पनि जिब्रो अघाएन र जिब्रोले स्वाद खोज्यो भन्दै पुनः थपेर खाँदा पेटको स्वास्थ्यमा असर गर्छ । जिब्रोको स्वादका आधारमा यसरी मासु र धेरै परिकार तथा अन्य खानेकुरा खाँदा स्वास्थमा अनेक समस्या आउन सक्छ । त्यसैले संयमित भएर भोजन गर्नुपर्छ ।

पर्वका बेला कहिलेकाहीँ धेरै स्वादिष्ट मसलेदार मासु खाएको खण्डमा बिहान टन्न खाएमा दिउँसो खाजा नखाँदा पेटलाई आराम हुन्छ । पेट अटसमटस हुने गरी मासु खाँदा झाडापखाला लाग्ने, पेट दुख्ने समस्या निम्तिन सक्छ । मासुमा रेशादार तत्त्व हुँदैन । त्यसैले मासुसँगै हरियो सागसब्जी, दही, गेडागुडी, दाल, फलफूल अनिवार्य रूपमा मिलाएर शरीरलाई चाहिने मात्रा सेवन गरेर सन्तुलित आहार खाँदा स्वस्थ बन्न सकिन्छ । यस्तो साधारण कुराको ज्ञान राखेर दिदीबहिनीले दाजुभाइलाई कसरी स्वस्थ बनाउने पनि विचार गर्नुपर्छ ।

पहिला नेपालीलाई मासु खानका लागि दशैँ, तिहारजस्ता चाडपर्व नै कुर्नुपर्थ्याे । आजभन्दा ४४/४५ वर्षअघि दशैँ, तिहारमा मासुभात, मासु चिउरा, मिठाइ खान पाइन्छ भनेर खुशी भइन्थ्यो । यही बेलामा मात्रै मन लागे जति मासु खान पाइन्थ्यो । अरू बेलामा त एक पाउ ल्याएर परिवारले खाने भएर होला दशैँ, तिहारको बेला धेरै मासु खाने चलन थियो । अहिले मासु खान दशैँ, तिहारजस्ता चाडपर्वमा पर्खिनु पर्दैन । दैनिक जीवनमा पनि हप्तामा एक/दुई चोटी मासु प्रायः धेरै परिवारमा पाक्छ । मासु मात्रै लगातार खाने अनि दाल, गेडागुडी, हरियो सागसब्जीलाई बेवास्ता गर्दा कब्जियतको समस्या हुन्छ । शरीरलाई चाहिने प्रोटिन तत्त्व प्राप्त गर्नका लागि सबै खानेकुरालाई मिलाएर खानुपर्छ ।

चाडपर्वको बेला मासु बढी खाने तर अन्य स्वस्थकर खानेकुरालाई बेवास्ता गर्दा मधुमेह, युरिकएसिड, अत्यधिक मोटोपन, ग्यास्ट्रिक भएकाहरूलाई झन् समस्या पर्छ । विदेशतिर काँचो मासु काटेर डीप–फ्रिजमा राख्छन् र आफूलाई चाहिएका बेला निकालेर पकाउँछन् । हामीकहाँ चाहिँ धेरै मासु एकैपटक पकाएर फ्रिजमा राख्ने, त्यसपछि पुनः खानेबेलामा सबै निकालेर एकैचोटि तताउने, चाहिएको खाने अनि फेरि फ्रिजमा राख्ने गरिन्छ । यसरी फ्रिजमा राख्दै, बाहिर निकाल्दै खाने अनि फेरि फ्रिजमा राख्ने गर्दा मासुमा भएको पौष्टिक तत्त्व र गुणत्मकता घट्छ । खानामा विषालु तत्त्व उत्पन्न पनि हुनसक्छ । धेरै मासु एकैचोटि ल्याएर डीप–फ्रिजमा काँचो मासु राख्ने, जति चाहिन्छ, त्यति मात्रै निकालेर पकाउने गर्नुपर्छ । सकेसम्म जुनसुकै खानेकुराहरू फ्रिजमा राखेको २४ घण्टादेखि ४८ घण्टाभित्र खानुपर्छ । अहिले नसर्ने रोगहरूको बिगबिगी बढेकाले दाजुभाइको स्वास्थमा राम्रो फाइदा गर्ने भोजन दिनुपर्छ ।

यदि कोही दाजुभाइहरू शाकाहारी छन् भने उनीलाई दही, दूध, पनिर, च्याउ, तोफु, फापर, विभिन्न थरिको रोटी, ढिँडो, चिउराका परिकार आदि खानेकुरा मिलाएर भोजन गराउँदा स्वाद र स्वास्थ्य दुवै पाइन्छ । तिहारमा चाडपर्वमा मिठाई कोसेली लैजान त बन्द नै गर्नुपर्छ । मैले त घरमा आउने पाहुनालाई ‘मिठाई ल्याउँदा पनि नल्याउनुहोस्’ भनेको छु । म पनि अरूकोमा जाँदा फलफूल नै लैजान्छु । फलफूल लैजान सजिलो पनि छ । अलि सम्मान गर्ने व्यक्तिको घरमा जाँदा काजु लैजान्छु । गाउँबाट ल्याएको तामा, कोदो, फापर लैजान्छु । तिहारमा म कहिल्यै मिठाइ किन्दिनँ । अरूलाई उपहार दिँदा पनि दिन्नँ ।

तिहारमा रमाइलो गरेर मनाइरहँदा स्वास्थ्य अवस्थालाई चाहिँ ध्यानमा राख्नुपर्छ । यो बेला चिल्लो धेरै खायो भने बिरामी परिन्छ । त्यसको असर दीर्घकाल रूपमा पनि पर्न सक्छ । पाँच/छ फिटको शरीरका लागि तीन/चार इन्चकाे जिब्रोले 'कन्ट्रोल' गर्न नसक्दा समस्या पर्छ । दाजुभाइले पनि आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानपिन गर्नुपर्छ । यो बेला मासु, तरकारी, दालभात, विभिन्न किसिमका परिकारहरू खाइन्छ । भोजनले पेट भर्ने मात्र होइन, यो आनन्दसँग पनि जोडिएको छ । पेट भर्ने घर परिवारसँग पाहुनालाई सँगै खाँदा छुट्टै आनन्द आउँछ । तर यस्तो बेला खानेकुरामा एकदमै विचार गर्नुपर्छ । दाजुभाइलाई पाहुना बोलाएको बेला विशेषगरी मासु एकदमै चिल्लो र मसलादार साथै हेर्दा राम्रो लाग्ने गरी बनाइन्छ । तर यस्तो मासु धेरै खाँदा स्वास्थ्यमा असर गर्छ भन्ने कुरा बुझ्नुपर्छ । स्वास्थ्यलाई नराम्रो असर पर्ने कुराहरू सकेसम्म दाजुभाइलाई पर्वको बेला दिनु हुँदैन । मासु र भात पकाएर खाँदा पेट भरिए पनि मुख भरिएको छैन भनेर खाइन्छ ।

पर्वको बेला धेरै चिल्लो, गुलियो पदार्थ, चिसो पेयपदार्थ, मिठाइहरू खाँदा शरीरमा विशेषगरी कलेजोमा बोसो जम्ने समस्या हुन्छ । त्यही कारणले पनि चाडपर्वमा मासुदेखि मिठाइसम्म चिसो पेयपदार्थदेखि अन्य पेय पदार्थहरूसम्म सेवन गर्दा धेरै विचार गर्नुपर्छ । जुन वस्तुले स्वास्थ्यमा राम्रो असर पार्छ, त्यही खानुपदर्छ । तिहारको बेला ‘ड्राइफूड्स' का विभिन्न प्रकार जस्तैः काजु किसमिस, बदाम, ओखरको प्रयोग गरेर परिकार बनाउन सकिन्छ । यिनीहरू एकदमै स्वास्थ्यवर्द्धक खानेकुरा हुन् । तर यी खानेकुराको प्रयोग एकैपटक धेरै गर्नु भने हुँदैन । अलिअलि थोरैथोरै हरेक दिन खाने गरेमा स्वास्थमा सकारात्मक असर पर्छ । भाइमसलामा शरीरलाई चाहिने पौष्टिक तत्त्व प्रशस्त मात्रामा पाइन्छ । यस्तो खानेकुराको प्रयोग हामीले हलुवा, खिरमा मिसाएर पनि खान सकिन्छ । यसको प्रयोगले खानेकुरा मीठो र स्वस्थकर हुन्छ ।

भाइमसलाहरू महँगो हुन्छ । काजु, ओखर आदि थोरै थोरै धेरै प्रकारका खानेकुरा बनाएर खाए पनि पुग्छ सकिन्छ । सस्तो बदामलाई ‘गरिबहरूको काजु’ भनिन्छ, तिहारमा ‘बदाम’ प्रयोग गरेर विभिन्न परिकार बनाउन सकिन्छ । यो बेलामा दाजुभाइलाई बाहिरबाट ल्याइएका खानेकुरा दिनुभन्दा घरमा नै बनाइएका विभिन्न प्रकारका खानेकुरा स्वस्थकर हुन्छ । बाहिरबाट ल्याइएका प्याकेटका खानेकुरा उपहार दिँदा दाजुभाइको स्वास्थ्यलाई झन् नकारात्मक असर पार्छ । यस्ता खानेकुरा ल्याएर दाजुभाइलाई ‘माया गरेको’ नठाने हुन्छ ।

हामीले तिहार पर्व दाजुभाइको दीर्घायु र सुस्वास्थ्यका लागि मनाउँछौँ । त्यसैले उनीहरूको स्वास्थ्यको ख्याल राख्नु दिदीबहिनीको कर्तव्य हो । अहिले उपहारमा पनि अनेक फलफूलको जुस होइन, स्थानीय फलफूल नै दिनुपर्छ । बट्टाको फलफूलको जुसले शरीरमा धेरै बेफाइदा गर्छ । बट्टाको जुसहरूमा एकदमै धेरै चिनीको मात्रा हुन्छ । अहिलेको समयमा चिनीको प्रयोगले मानिसहरूलाई विभिन्न किसिमका समस्या आइपरेका छन् । त्यसमाथि यदि कसैका दाजुभाइ मधुमेहका बिरामी छन् भने त झनै समस्या हुन्छ । त्यस कारणले बारीमा, पसलमा सजिलै पाइने अम्बा, सुन्तला, अमला हलुवाबेदजस्ता खानेकुराले दाजुभाइको तिहार विशेष बनाऔँ । खानेकुरा घरमा दाल, भात, तरकारी, माछामासु बनाउँदा पनि चिल्लो, पिरो कम गरी बनाउनु पर्छ । स्वादका लागि टमाटर, लप्सी, तिल, सिलाम, आलस, आलुको अचार बनाउन सकिन्छ । अचार खाँदा यसमा हालेको अमिलोमा भिटामिन 'सी' हुन्छ, त्यसले रोगसँग लड्ने शक्ति बढाउँछ । सरल र सहज रूपमा पाइने खानेकुराको प्रयोग गरेर पनि तिहार विशेष बनाउन सक्छौँ ।

चाडपर्व भन्दैमा खानेकुरा अव्यवस्थित रूपमा खानु हुँदैन । खानेकुराको व्यवस्थापन र उचित आहार स्वस्थ जीवनशैलीको प्रतीक हो । चिल्लो, पिरो, अमिलो तथा हरेक प्रकारका खानेकुरालाई व्यवस्थापन गर्न सकिन्छ । हरेक खानेकुरा समयमा खानाले स्वस्थ्य भई चाड मनाउन सकिन्छ । रमाइलो गर्ने हो तर स्वास्थ्यको ख्याल गर्दै गरेका हरेक कुरा हाम्रा लागि लाभदायक हुने गदर्छन् । चाडबाड मनाउँदै गर्दा स्वास्थ्यको क्षति नगरी हरेक खानेकुराले आफन्त तथा दाजुभाइको स्वास्थ्यको ख्याल गर्नुपर्छ ।

(उप्रेती पोषणविद् हुनुहुन्छ)

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया