८ महिनामा विकास खर्च २३ प्रतिशतमात्रै, वैदेशिक अनुदान सङ्कलन ...
चैत १, २०८१ शुक्रबार
दुई, चार वर्ष परिवारसँग टाढा भए पनि पैसा कमाउँला र बाँकी जीवन सुखैमा काटौंला भनेर परदेश आएको थिएँ। विदेश आउने जहाज चढ्दा मेरा सपना पनि जहाजमा उड्दै आएको थियो कतारसम्म । तर अब के हुने हो थाहा छैन । लाग्छ मेरा यी सबै सपना कोरोनासँगै सधैंका लागि मर्नेछन् ।
म कतारको पाईप कम्पनीमा काम गर्दैछु । तर अहिलेको कतारको स्थिति हेर्दा लाग्छ, मेरो सपना मेरो जिन्दगीको अघिल्तिर केही होइन रहेछ । मर्ने हो कि बाँच्ने ठेगान छैन । घर फर्कन पाइन्छ कि पाईंदैन त्यो पनि थाहा छैन ।
तर उबेला बाहरुले भन्ने गर्थे, मर्नुअघि नै खुट्टा तान्न हुँदैन । हो रहेछ । काम गर्नैपर्छ ।
आफ्नो र परिवारको लागि परदेशी भूमिमा पसिना बगाईरहेको छु । कतार भनेको नियम कानुन राम्रो भएको देश हो । यहाँ सुरक्षा छ ।
केही भइहाल्यो भने पनि उपचार पाउन सजिलो छ । तर पनि किन किन परदेशमा असुरक्षित महसुस हुन थालेको छ । कुनबेला को र कस्तो मानिससँग नजिक भइन्छ के थाहा ? यस्तै कारणले गर्दा म र मेरा साथीहरुलाई हिजोआज डर लाग्न थालेको छ ।
तर पनि आत्मबल बलियो बनाएर काम गरिरहेको छु । घर फर्कने वातावरण पनि त छैन ।
यहाँ पनि मन दह्रो बनाएर बस्न कहाँ सकेको छु र ? मनमा अनेक कुरा खेल्छन् ।
सम्झँदा त निद्रा लाग्दैन । कतारको जागिर गयो भने भोलि के गर्ने, के खाने भन्ने चिन्ता पनि छ ।
नेपाल फर्कंदा पनि त रोजगारी पाईंदैन होला । अवस्था समान्य हुँदा त रोजगारी नपाएर परदेशीनु पर्यो झन अब के काम पाइएला र ? भोलि के हुन्छ थाहा छैन । आजसम्म ठिकै छु । बाँकी त कोरोनाकै हातमा भनेझैं पो त छ परदेशमा ।