अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : कानूनी रूपमा अधिकार सुरक्षित, व्...
मंसिर १८, २०८१ मंगलबार
अहिले म मलेसियामा छु । कोरोनाको त्रास नहुँदा त काहालीलाग्दो यो परदेशमा झन् कोरोना थपिएको छ । डरको के कुरा गर्नु ? भागेर जाउँ कुन ठाउँ जाउँ, कोरोना नपुगेको सहर नै छैन ।
मनमा कोरोनाको डर बोकेर काम गर्नुपर्दा त जिन्दगीकै भर छैन, के दुःख गर्नु झैं लाग्ने । संसारभर फैलिएको कोरोनाको तथ्याँक हेर्छु अनि नेपाली धेरै भएको देशको हेर्छु । सबैभन्दा धेरै त मलेसियामा सङ्क्रमितको सङ्ख्या पो रहेछ ।
अहिले खाडीका देशको तुलनामा मलेसियामा कोरोना सङक्रमितको सङ्ख्या धेरै छ । यो सङ्ख्याले पनि सातो लगेको छ अहिले त । म मात्र हो र, मेरा साथीहरुको पनि मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेजस्तै मुटुको धड्कन पनि बढेको छ ।
अझ मेरो त कम्पनीमा काम पनि चलिरहेको छ । काम नगरौं कम्पनीको डर, काम गरौं कोरानोको डर । यो अवस्थामा काम गर्नुपर्दा त सङ्क्रमित भइन्छ कि झैं लाग्दोरहेछ । यस्तो कुरा सोचेर परदेशमा आफूले आफूलाई कमजोर त बनाउन हुँदैन । तर केही भइहाल्यो भने के गर्ने परदेशको ठाउँ भन्ने लाग्छ । मन पोलिरहन्छ । तर संसारभर यसको त्रास बढ्दा म यस्तो नसोची पनि कसरी बस्न सक्छु र ।
यस्तो बेला घर पनि कसरी फर्कनु । फर्कने उपाय पनि त छैन । संसार कोरोनासँग लडिरहेको छ । योबेला परदेशमा हुनेलाई सरकारले गरेको बेवास्ता देख्दा त साह्रै रीस उठ्छ नि । हाम्रै कमाइले देश चलेको छ । यस्तै रहेछ परदेशी जीवन, कमाउँदा हाई हाई, दुःख पर्दा कोही न कोही ।