अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : कानूनी रूपमा अधिकार सुरक्षित, व्...
मंसिर १८, २०८१ मंगलबार
मलाई यतिबेला ऋणले मरौं कि बाँचौं भएको छ । पहिले बुद्धि पुर्याउन पाएको भए, सायद यो दिन आउँदैन थियो होला । यसरी एजेण्ट खोज्दै भौंतारिनु पर्ने थिएन होला । दिनरात रुनु पर्ने थिएन होला । तर के गर्नु नहुनु भइसक्यो ।
मेरो श्रीमान् भुपेन्द्र बुढाथोकी २०७३ फागुनमा कतार जाने प्रक्रिया मिलाउन काठमाण्डौ जानुभएको थियो । तर केही दिनमा घर फर्किनुभयो । उहाँले कतार जाने कुरा छाडेर अष्ट्रेलिया जाने योजना बनाउनुभएछ ।
कतार जान लागेका मेरा श्रीमानको भेट काठमाण्डौ आएपछि रसियाबाट फर्किएका गाउँका एक जनासँग भएको रहेछ । उनले नै खाडीमा के जान्छौ यूरोप गए खाडीमा पाँच वर्षमा हुने कमाइ एकै वर्षमा हुन्छ भन्दै एजेण्ट नरेन्द्र खातीसँग भेट गराइदिएछन् ।
नरेन्द्र खातीले १५ लाख रुपैयाँमा अष्ट्रेलिया पठाइदिने आश्वासन दिएछन् । मैले श्रीमान्लाई भनेको पछि हुँ । तपाईँले पढ्नु भएको छैन, त्यस्तो देशमा तपाईँलाई कसरी काम गर्नुहुन्छ, के काम गर्नुहुन्छ भनेर सम्झाएको थिएँ । तर उहाँले मान्नु भएन ।
त्यसपछि एजेण्टले भनेअनुसार नै गर्ने भइयो । १५ लाख रुपैयाँ निकाल्ने अरु त कुनै माध्यम थिएन । त्यसपछि मैले माइतीमा सल्लाह गरेँ । कमाइ राम्रो हुन्छ भने त घर नै धितो राखौं न त भन्ने भयो ।
त्यसैले माइतीको घर धितो राखेर एजेण्ट नरेन्द्र खातीलाई १५ लाख रुपैयाँ बुझाइयो । १५ लाख रुपैयाँ पाएपछि विदेश उडाउँछु भनेर काठमाण्डौ बोलाए । श्रीमानलाई कति समय यसै झुलाए ।
अन्तिममा एजेण्ट नै बेपत्ता भयो । उसले भिसा आयो, टिकट काटें भन्दै विभिन्न कागजात इमेल र फेसबुकमार्फत पठाएको थियो । हामी ज्ञान नभएकालाई त्यो नक्कली हो भन्ने के थाहा र ।
सबै नक्कली रहेछ । अहिले झण्डै तीन वर्ष बित्न लाग्यो । वैदेशिक रोजगार विभागमा उजुरी दियौं । तर केही भएको छैन । बैंकको किस्ता तिर्न पनि सकेको छैन । किस्ता तिर्न नसक्ने भए घर खाली गर भनिरहन्छ ।
माइतीको घर धितो राखेको छु । मलाई त सम्झँदा बेलाबेलामा बाँच्न मन लाग्दैन । दुई छोराको मुख हेरेर मात्र आफूलाई सम्हालेको छु । दिनमा भोक लाग्दैन । रातमा निद्रा लाग्दैन ।
कसैले नदेख्ने ठाउँमा जाउँ जस्तो भएको छ । के गर्नु ! जे भए पनि एजेण्टले त्यो पैसा फिर्ता गरिदिए त यसरी रुँदै हिँड्न पर्दैन थियो होला । घरका सबैले मलाई नराम्रो देख्छन् । त्यतिको पैसा लगेर मैले केही नराम्रो काम गरेको हो कि भन्ने शंका गर्छन् ।
तर मेरो मनको व्याथा भनिसाध्ये छैन । कसले बुझ्ने । नबुझेर एजेण्टको विश्वास गरियो । मेरो नरेन्द्र खातीलाई यो अनुरोध छ, तपाईँले एक गरिबको ज्यान नलिनुहोस्। हाम्रो बिचल्ली भएको छ ।
तपाईँ जहाँ भए पनि हाम्रो पैसा फिर्ता गरिदिनुहोस् । हुन त हामी जस्ता थुप्रैलाई रुवाउनुभएको होला । तर विदेश जाने तयारीमा रहेकालाई म नरेन्द्र खाती मात्र हैन, कोही पनि एजेण्टको विश्वास नगर्न अनुरोध गर्छु ।