अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : कानूनी रूपमा अधिकार सुरक्षित, व्...
मंसिर १८, २०८१ मंगलबार
म अहिले २७ वर्षको भएँ । मेरो श्रीमान् मलेसियामा हुनुहुन्छ । म लुगा सिलाउनेसँगै घर चलाउने काम पनि गर्छु । मेरा दुई छोरी छन् । एउटा तीन वर्षको अनि एउटा चाहिँ १० महिनाको ।
घरव्यवहार हेर्नु, बालबच्चा स्याहार्नु अनि काम गरेर आफ्नो खर्च आफैं पुर्याउन सजिलो छैन । तर पनि म श्रीमानले विदेशमा कमाएकै छन् भनेर उहाँको कमाईमा भर पर्दिनँ । घरको सबै काम भ्याएर पैसा कमाउने काम पनि गर्छु ।
म स्नातक पढ्दै सिलाई पनि सिक्दै थिएँ । त्यही बेला बिहे भयो । बिहेपछि पढाइ पनि राम्रोसँग अघि बढाउन सकिनँ । पढाइ र सिलाईमा भन्दा पनि बढी ध्यान घरव्यवहारमा दिनुपर्यो । केही महिना बोर्डिङ स्कूलमा पढाएँ । त्यसपछि गाउँकै सरकारी स्कूल पनि पढाएँ । तर बालबच्चा भएपछि त्यो पनि सम्भव भएन ।
मेरो श्रीमानले सिएमए पढ्नुभएको हो । तर पनि काम पाउन गाह्रो भयो । चिनेजानेको कोही थिएन । कसै न कसैले नभन्दिएसम्म कसले काम दिने ? त्यसैले मेरो श्रीमान् विदेश जानुपर्यो । देशमा केही गर्छु भन्दा गाह्रो छ । तर विदेश जान्छु भन्नुपर्छ पैसा दिनेदेखि भिसा खसाल्दिने पनि घरमै आइपुग्छन् ।
मलेसिया जानुभयो तर काम भनेअनुसारको परेन । सप्लाईको काम पर्यो । उहाँको कमाइ काम अनुसारकै छ ।
कहिले ३० हजार त कहिले ४० हजार रुपैयाँ कमाउनुहुन्छ महिनामा । एक लाख रुपैयाँ ऋण गरेर जानुभएको थियो त्यो तिरिसक्नुभयो । अब केही बचाउनुपर्छ भन्ने लागेको छ । त्यसैले म पनि उहाँको कमाइ घरखर्चमा खर्च गर्नु नपरोस् भनेर काम गरिरहेको छु । सिलाइको कामबाट छोरीहरु र मलाई खर्च पुर्याउँछु ।
हिजोआज वित्तीय साक्षरता कक्षामा पनि बस्छु । यो कक्षामा बस्न थालेदेखि मैले झन पैसाको महत्व बुझेको छु । कहाँ, कसरी पैसा लगानी गर्ने, कसरी बचत गर्ने भन्नेकुरा पनि सिकेको छु ।
अब दुई जना मिलेर काम गर्ने हो । मैले कमाएको पैसाले घर खर्च चलाउने र उहाँको कमाइ बचत गरेर केही व्यापार व्यवसाय गर्न पुग्ने बचत भएपछि उहाँलाई पनि घरमै बोलाउछु । सबैकुरा बिस्तारै योजनाबद्ध रुपमा मिलाउँदै लैजान्छु ।