प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत
मंसिर १८, २०८१ मंगलबार
झापा –बिर्तामोडबाट भद्रपुर जाने मुलबाटोमै पर्छ, गरामनी चोक । सडक कालोपत्र गरिएको छ, तर पनि धेरै ठाउँमा खाल्डाखुल्डी र धुलो । यही धुलाम्मे सडक छेउमा बसेर आफ्नो जिन्दगी अघि बढाउँदै हुनुहुन्छ, सुकसरी राजवंशी ।
चटपटे, पानीपुरी, पान र चियानास्ता बेच्न एकाबिहानै गरामनी चोक पुग्नुहुन्छ । साँझ पसलमा ग्राहकको चहपहल भैरहँदासम्म काममा खट्नुहुन्छ ।
दिनभरी दोबाटो ढुकेर बिहान बेलुका गाँसको जोहो गर्नुपर्ने सुकसरीको दैनिकी हो । साउदी गएका श्रीमानको सास उतै निभेदेखि जीवन चलाउन सुकसरीले थालेको बाटो हो यो ।
श्रीमान परदेश लाग्दा केही थान सपना थिए सुकसरीसँग । जग्गा किन्ने । आफ्नै घर बनाउने । छोराछोरी पढाउने यस्तै यस्तै । तर सोचेको जस्तो कहाँ हुन्छ र जीवन? सपनालाई साउदीमै छाडेर सुकसरीका श्रीमान बाकसमा फर्किए, कहिल्यै नउठ्ने गरी ।
दुःखले गाँजेको जीवनलाई कमाएर सुखी बनाउने सपना देख्नु नै गल्ती थियो कि सुकसरी ठम्याउन सक्नुहुन्न । तर उहाँलाई लाग्छ, धेरै कमाउने भन्दै श्रीमान विदेशको बाटो लाग्नु नै गल्ती थियो ।
जे हुनु भैसक्यो, सही र गलतको लेखाजोखा गर्दै खाटा बस्न लागेको घाउ कोट्याउनु आफैंलाई थप गलाउनु हो । त्यसैले बिस्तारै लयमा फर्किएकी सुकसरीको जीवनमा सडकमा व्यवसाय थालेदेखि केही आशाहरु पलाएका छन् ।
१७ वर्षको उमेरमा सुकसरीको मागी बिहे भयो । एक छोरी र एक छोरा जन्मिए । परिवारिक सम्बन्ध ठिकठाक थियो । दुःख थियो । तर साथमा खुसी थियो । २०५८ सालको कुरा हो । जाडो मौसम थियो । घरबाहिर आगो बालेर ताप्ने चलन थियो ।
छिमेकीसहित सुकसरीको सासुससुरा पनि आगो ताप्दै थिए । सुकसरी भने अलि पर भाइको घरमा टीभी हेर्न जानुभएको थियो । सुकसरीका श्रीमान छोरा र छोरीलाई लिएर सुतेका थिए ।
‘आगो लाग्यो......आगो’ सुकसरीको कानमा आगो भन्ने शब्द टीभीमा बजेको आवाज भन्दा चर्कोसँग गुञ्जियो । बाहिर निस्किँदा घर हवार्ह्वारी बलिरहेको थियो । सुतिरहेका छोराछोरी र श्रीमानलाई त बचाउनुभयो, तर घर बाँकी रहेन ।
‘घर त के बच्थ्यो र, चन्द्रगढीबाट दमकल आउँदा सबै जलेर खरानी भैसकेको थियो,’ सुकसरीले सम्झिनुभयो ‘बास बारीको पाटोमा भयो, चन्द्रगढीबाट पकाउने भाँडा र पाल दिएका थिए, त्यसकै भरमा दिनरात कटाउनु पर्यो ।’
भएको घर आगोले खाइदियो । श्रीमान श्रीमती मिलेर काम गर्नुभयो । सुकसरीले गार्मेण्टमा काम गर्नुभयो भने श्रीमानले अटो रिक्सा चलाउनुभयो ।
दुवै मिलेर काम गर्दा बिहान बेलुका खान पुगेको थियो । तर बचत हुँदैन थियो । दिनदिनै बढ्दै गरेका छोराछोरीलाई हेर्दा सुकसरीलाई लाग्थ्यो, कम्तिमा आफ्नो एउटा घर होस् ।
गाउँकै ज्वाईं पर्नेले विदेशको कुरा सुनाए । नेपालमा भन्दा राम्रो कमाइ हुने आश्वासन पनि दिए ।
‘विदेशको लोभ देखाएर ललाइफकाइ गर्दा रहेछन्, मलाई त के थाहा र,’ सुकसरीलाई अहिले लाग्छ, ‘त्यो बेला विदेश नपठाएको भए आज श्रीमान साथै हुन्थे कि !’
भन्छन् नि हुने कुरा टारेर टर्दैन । २०६७ सालमा सबै मेलोमेसो मिलाएर उनै ज्वाईं पर्नेले सुकसरीका श्रीमानलाई साउदी पठाइदिए ।
घर बनाउने ठाउँमा काम गर्छु भन्थे सुकसरीलाई श्रीमानले । आफ्नै गाउँठाउँमा बन्ने घरजस्तै होलान् त्यहाँ बन्ने घर पनि, काम सजिलै होला भन्ने ठान्नुहुन्थ्यो उहाँ ।
अलिअलि पैसा पनि कमाएर पठाए । सुकसरीले घडेरी किन्नुभयो । छुट्टी मिलाएर घर पनि आइरहन्थे ।
‘आमाको मृत्यु भएको बेला पनि आउनुभएको थियो, कामकाज सकेपछि जानुभएको,’ सुकसरी र श्रीमानको त्यो नै अन्तिम भेट बन्यो ।
घर बिदामा आएर सुकसरीका श्रीमान साउदी पुगेको झण्डै १० महिना भएको थियो । कमाई बढ्दै थियो । बिदामा आएका बेला श्रीमान र सुकसरीबीच बिस्तारै घर बनाउने सल्लाह भएको थियो । तर सुकसरीका श्रीमान घर बनाउने सपनाको जग मात्र हालेर बाटो लागे ।
एक दिन श्रीमानका साथीले फोन गरेर सुकसरीलाई भने ‘भाउजू दाइ दुर्घटनामा पर्नुभएको छ ।’ के भयो कसरी भयो भनेर सुकसरीले सोध्न नभ्याउँदै उताबाट भने ‘तपाईँलाई कहिलेसम्म ढाँट्नु भाउजू, दाइ अब हुनुहुन्न ।’
फोनमा दाइ हुनुहुन्न भन्ने शब्द सुन्दा सुकसरीलाई टेकेको धर्ती भासिएझैं भयो । केही पत्तो पाउनुभएन ।
‘मलाई कहाँ टेकेछु भन्ने पनि थाहा भएन, पत्याउन पनि मुश्किल पर्यो, नपत्याउँ भने मृत्युको खबरमा त कसले खेलाँची गर्ला र भनेजस्तो पनि लाग्यो,’ सुकसरी त्यो कठिन क्षण सम्झनुहुन्छ । सुकसरीलाई लाग्छ कुनै श्रीमतीले श्रीमानको मृत्युको खबर सुन्न नपरोस् ।
सुकसरी र छोराछोरी रोएको आवाज सायद गाउँसम्म सुनियो । गाउँले जम्मा भए । ‘सबैले होइन होला’ भन्ने अड्कल काटे । तर नहुनु भइसकेको थियो ।
घर बनाउने ठाउँमा काम गर्ने सुकसरीका श्रीमान काम गर्दागर्दै तीन तलाबाट भुईँमा पछारिएर मृत्यु भएको खबर उहाँलाई फोनमा सुनाएका थिए । ‘त्यति माथिबाट तल झर्दा कता कता चोट लाग्यो होला ? आइया पनि भन्न पाएनन् होला कि ? हाम्रै लागि कुन गतिले मर्नुपर्यो’.. यस्तै कुराले सुकसरीको मन भतभती पोल्थ्यो । केही सोच्नै सक्नुभएन ।
इदको समय भएकाले शव नेपाल आउन ढिलो हुने भयो । पराइ देशमा काम गर्दा गर्दै लडेर श्रीमानको मृत्यु भएको खबर सुनेदेखि शव आउने दिन गन्दै डेढ महिना कसरी बित्यो होला ? सुकसरी भन्नुहुन्छ, ‘रुँदारुँदा आँसु नै सकिएको थियो, म रुँदा छोराछोरी पनि सँगै रुन्थे, उनीहरुलाई कति कमजोर बनाउनुजस्तो लाग्थ्यो, उनीहरुलाई हेर्थें अनि आफूलाई सम्हाल्ने कोशिस गर्थें ।’
डेढ महिनापछि शव आयो । सुकसरी आफैं काठमाण्डौ पुगेर झापा लैजानुभयो शव । ‘सबैले हेर्ने भने, मैले बाकस खोलिदिएँ,’ सुकसरीले त्यो कहालीलाग्दो क्षण सम्झिनुभयो, ‘मैले त हेर्न पनि सकिनँ ।’
आफ्ना मान्छे गुमाउनुको पीडा एकातिर । अर्कोतिर छोराछोरी कसरी पाल्ने कसरी पढाउने भन्ने चिन्ता । ‘जति रोयो उतिनै तनाव हुने, छोराछोरी पनि सँगसँगै रुन्छन्,’ सुकसरीलाई त्यतिबेला लाग्थ्यो अब केही बाँकी छैन ।
जन्मेपछि एक दिन मर्नै पर्छ । शायद भाग्यमा यस्तै लेखेको थियो । सुकसरीले मन बुझाउने कोशिस गर्नुभयो । साथमा एक रुपैयाँ पनि बचत थिएन । नुनदेखि पानीसम्म नकिनी घरमा आगो बल्दैन थियो ।
गरामनी बजारमा किराना पसल खोल्नुभयो । दुई हजार रुपैयाँको सामान राख्नुभएको थियो । चुरोट र चक्लेटजस्ता सामान धेरै बिक्थ्यो । मज्जैले व्यापार भयो भन्दा पनि तीन सय रुपैयाँ हुँदैन थियो ।
सुकसरीले चटपटे पनि बेच्न थाल्नुभयो । व्यवसाय बढाउदै जाँदा व्यापार पनि अलिअलि बढ्दै गयो । के खाने भन्ने चिन्ता केही भए पनि कम भयो । तर बुवाको मृत्युको खबरले छोराछोरीमा नराम्रो असर पर्यो ।
‘छोराछोरीले पढ्न पाएनन्, धेरै पढाउने मन थियो,’ पछुतो मान्दै सुकसरी भन्नुहुन्छ, ‘एक त बुवा बितेको शोक भयो, अर्को कुरा पढाउन पैसा पनि भएन, उनीहरुलाई चिन्ता धेरै भयो ।’
सुकसरीले आफूले पौरख गरेर छोराछोरीलाई म पढाउन सक्छु भन्ने आँट दिन पनि सक्नुभएन ।
सुकसरीका श्रीमान् अनिल राजवंशीको शव आएको केही समयपछि साउदीबाट चिठी आयो । जेनरल अर्गनाइजेशन फर सोसियल इन्सुरेन्स, रियाद रिजन अफिसबाट विभिन्न कागजपत्र पठाउन अनुरोध गरिएको थियो चिठीमा ।
काम गर्दा गर्दै मृत्यु भएकाले इन्सुरेन्स कम्पनीले चिठी पठाएको थियो । माग अनुसार उहाँले कागजपत्र बनाएर पठाउनु पनि भयो । तर दुई वर्ष बित्दा पनि अहिलेसम्म कुनै जवाफ आएको छैन ।
कतिले सुकसरीलाई ‘साउदीबाट पैसा आएर पनि कसैले खाइदियो होला’ भन्दै सुनाउँछन् । तर सुकसरीलाई त्यो चिठी अनुसार पैसा आउँछ भन्ने पनि थाहा छैन । चिठीको जवाफ किन आएन कहाँ गएर बुझ्ने भन्ने पनि जानकारी छैन ।
सुकसरीका श्रीमान अनिलको मृत्यु भएको चार वर्ष बितिसक्यो । पति वियोगको समुद्रबाट बिस्तारै उभिन खोज्दै हुनुहुन्छ । बिहानदेखि बेलुकासम्म खट्नुहुन्छ । व्यापार भएका बेला एक हजारदेखि १५ सय रुपैयाँसम्म कमाइ हुन्छ दिनमा ।
छोरीको बिहे गरिदिनुभयो । छोराले १२ कक्षामा विषय लागेपछि पढ्ने मन गरेनन् । फुर्सदका बेला सुकसरीलाई काममा सघाउँछन् । छोरा आफैंले पनि काम थालेका छन् ।
‘स्थानीय बैंकमा गार्डको काम गर्छ,’ सुकसरी भन्नुहुन्छ, ‘मेरो इच्छा त छोराले धेरै पढोस् भन्ने थियो तर के गर्नु सोचेको जस्तो नहुने रहेछ ।’ भनिन्छ नि देखेको हैन लेखेको पाइन्छ, यस्तै लाग्छ सुकसरीलाई पनि । भन्नुहुन्छ, ‘मेरो भाग्यमा लेखेको जीवन भोग्दै छु ।’
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।