प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत
मंसिर १८, २०८१ मंगलबार
काठमाडौं – स्थान : हर्कबहादुर तामाङको घर, कुदाक काउले, भोजुपुर जिल्ला, प्रदेश नम्बर १ ।
मिति : २०७४ साल जेठ १५ गते ।
समारोह : हर्कबहादुरको माइलो छोरा, सन्तोषीको ३६ वर्षे लोग्ने सुवास तामाङको पुनर्जन्म ।
हर्कबहादुरका माइला छोराको १ वर्ष पहिल्यै किरिया भैसकेको थियो । तर परार साउदीबाट बाकसमा ल्याएर सदगत गरेको मान्छे यो वर्ष हवाईजहाज चढेर जिउँदै आयो ।
त्यसैले, छिमेकी र नजिकका आफन्त हर्कबहादुरका माइला छोरा सुवासको पुनर्जन्म हेर्न जम्मा भएका थिए । आँगनमा भकारी राखिएको थियो । हेर्नेको भिडले भकारी चारैतिरबाट घेरेका थिए । यसअघि कहिल्यै नदखेको दृश्य नियाल्दै थिए उनीहरु ।
भकारीबाट हर्कबहादुरका १४ सन्तानमध्ये माइलोलाई जन्माइदै थियो, ३६ वर्षको उमेरमा । त्यहाँ प्रसव पीडा थिएन । के जन्मिएला भन्ने उत्सुकता पनि थिएन । किनकी पुनर्जन्म कसको हुँदैछ भन्ने सबैलाई थाहा थियो । तै पनि सबैजना जन्माइदै गरेको सन्तानको अनुहार हेर्न आतुर थिए ।
हेर्दा हेर्दै भकारीबाट सुवास तामाङ जन्मिए । तर बालख जस्तो च्याँच्याँ रोएनन् । बरु मुसुमुसु मुस्कुराउँदै आमालाई अंगालो हाले । गाउँले र आफन्ततिर हेरेर ङिच्च हाँसे ।
तामाङ संस्कार अनुसार लामा पढाएर अर्कोदिन उनको न्वारान गरियो । लामाले सुवासको नाम ‘रिन्छेन’ राखिदिए । ३६ वर्षसम्म सुवास भनेर चिनिएका उनी अब रिन्छेन भए ।
भोजपुरकै सन्तोषी गुरुङसँग सुवासले १२ वर्षअघि भागेर विवाह गरेका थिए । तर फेरि जन्मिएका सुवासको तीन दिनपछि आफ्नै पत्नी सन्तोषीसित फेरि बिहे भयो । पहिले भागेर बिहे गरेका सुवास र सन्तोषीको दोस्रो विवाहमा परिवार, आफन्त र गाउँले सबै भेला भएका थिए ।
उही श्रीमतीसँग दोस्रो पटक बिहे हुँदा सुवासलाई सपना झैं लाग्यो । ‘मेरो जीवन साँच्चिकैको एकादेशको कथा, रामायणमा लेखिने कथा जस्तो पो लाग्यो,’ सुवास मुस्कुराए ।
११ वर्षका छोरा र ९ वर्षकी छोरीका बाउ सुवासलाई पुनर्जन्म गराउनु पर्दा सुवासको परिवारलाई पनि एकादेशको कथा जस्तो नै लागिरहेको थियो । किनभने २ वर्षअघि सुवास मरिसकेका थिए । परिवारले उनको सदगत पनि गरिसकेका थिए ।
परिवारले बाकसमा आएको सुवासको शव मोरङको लक्ष्मीमार्गमा जलाइसकेको थियो । तामाङ संस्कार अनुसार लामा पढाएरै २०७२ साउनमा सुवासलाई बिदा गरिएको थियो ।
काजकिरिया पनि सकियो । श्रीमती सन्तोषीका सिन्दुर पखालियो । सुवासका नाममा सन्तोषीको गलाको पोते छिनाइयो । दुई सन्तान टुहुरा भए । उनको देह आगोले खरानी बनाइसकेको थियो । तर यो पालि आगोले डढिसकेका सुवास जीवित भएर फर्किएका थिए ।
सुवास २०७१ सालमा साउदी गएका थिए । मोरङको लक्ष्मीमार्गमा घर बनाउँदाको ६ लाख र विदेश जाँदाको सहित ७ लाख ५० हजार रुपैयाँ ऋणको भारी बोकेर सुवास साउदी उडेका थिए । १ वर्षमा दुई लाख रुपैयाँ कमाएर सुवास घरविदामा मोरङ आए । विदा सकेर २०७२ जेठमा सुवास फेरि साउदी फर्किए ।
तलब हात पर्नासाथ सुवास घरमा पैसा पठाउँथे । घरबाट फर्किएको महिना दिनपछि उनीसहित कम्पनीमा सँगै काम गर्ने चार जना साथी पहिले झैं घरमा पैसा पठाउन बैंक गए ।
साउदीमा चाडको समय परेकाले बैंकको भिडका कारण उनले घरमा पैसा पठाउन पाएनन् । साथीहरुसहित ट्याक्सी चढेर लेवर क्याम्पमा फर्कर्दै थिए । उनी क्याम्प पुग्न पाएनन् । बाटोमै दुर्घटनामा परे ।
२०७२ साल असार २४ गते दुर्घटनामा परेका मध्येका सुवाससहित हुण्डाई कम्पनीमा काम गर्ने चार जनाको भोलिपल्ट मृत्यु भएको खबर बाहिरियो । मृत्यु हुनेमा सुवासको पनि नाम उल्लेख र्गयो साउदीको जेद्धामा रहेको किङ अब्दुल अजिज अस्पतालले ।
त्यही दुर्घटनामा परेका ट्याक्सी चालक बाग्लुङका तेजेन्द्र भण्डारीको अस्पतालमा उपचार भैरहेको थियो । घरमा सुवासको मृत्युको कहालीलाग्दो खबर आयो । हुण्डाई कम्पनीमै काम गर्ने सुवासका दिदीका छोरा अर्जुन तामाङले ‘मामाको त चोक्टा लाम्टा टिपेर अस्पताल लगेको छ रे,’ भन्ने खबर दिए ।
मामाको अवस्थाको बारेमा अर्जुनले आफ्नै आँखाले नियालेका त थिएनन् । तर रे को भरमा अर्जुनले दिएको खबरमा विश्वास गरेर सुवासको लास घर आइपुग्दा पनि कसैले हेर्न आँट गरेनन् ।
‘बाक्सामा लासको टाउको बाङ्गो थियो, नाक चुच्चो लामो थियो, एउटा हात छातीमा थियो, औंला पनि लामा थिए । त्यो देख्दा मनमा चिसो पस्यो,’ सुवासकी जेठी सासु बिमला ओझा गुरुङलाई बाकसमा आएको सुवासको शव हेर्दा ज्वाईं भन्दा फरक मानिसको हो कि झैं लागेको थियो ।
बिमला जस्तै सुवासकी माइली सासुआमा वेदमाया गुरुङले पनि ज्वाईंकै लास हो भनेर यकिन गर्न सकिनन् । त्यतिबेला पत्यार गर्नुपर्ने औषधि बन्यो उनै भान्जा अर्जुनले चोक्टा लाम्टा जोडेर लास पठाएको छ रे भन्ने खबर ।
‘चोक्टा चोक्टा जोड्दा अरुकै नाक ज्वाईंलाई परेछ जस्तो लाग्यो, शरीर सबै कपासले छोपेको थियो । चलाउँ भने जोडेको शरीर फुत्किएला कि जस्तो लाग्यो,’ बिमलाले भनिन् । घरमा राखेर सबै कर्म पूरा गर्दा पनि बाकसभित्रको शव कसैले नियालेर हेरेका थिएनन् । विश्वासै विश्वासमा नै सुवासको शवमा दागवत्ति दिइयो ।
सुवासको मृत्यु भएको तीन महिनो बित्यो । साउदीको अस्पतालमा तीन महिनादेखि कोमामा रहेका ट्याक्सीचालक तेजेन्द्रको अनुहारको पट्टी खोलियो । उनी होसमा आए ।
कोमाबाट बिउँतिएका तेजेन्द्र होसमा त आए, तर भर्खरै जन्मिएको बालक जस्तै भएर । उनलाई आफ्नो बारेमा केही थाहा थिएन । उनले आफ्नो बारेमा जम्माजम्मी बताएका दुई शब्दले उपचार भैरहेका मानिस तेजेन्द्र होइनन् भन्ने कुरा खुल्यो ।
तेजेन्द्रको नाममा उपचाररत उनले आफ्नो घर र श्रीमतीको नाम बताए । त्यति भएपछि तेजेन्द्रका साथीले उनी हुण्डाई कम्पनीकै भएको ठहर गरेर कम्पनीलाई खबर गरे । कम्पनीले उनको बारेमा बुझ्दा होसमा आएका उनी तेजेन्द्र नभई सदगत गरिसकेका सुवास तामाङ भएको निधो भयो ।
कोमाबाट होसमा आउँदा सुवासले पहिलेको सबै कुरा बिर्सिए । कम्पनीबाट भान्जासहित साथीहरु भेट्न गए । उनले कसैलाई पनि चिनेनन् । सुरुसुरुमा त नेपाली पनि बोलेनन् ।
अस्पतालमा हिन्दी, अरबी र अंग्रेजी बोल्ने मानिसहरु नै बढी भएकाले उनी अंग्रेजी मात्र बोल्थे । हाउसकिपिङको काम गर्ने नेपालीले सुवासलाई नेपाली बोल्न सिकाउँदा पनि उनी अंग्रेजी मात्र बोल्थे । सुवासको मानसिक सन्तुलन बिग्रिएको थियो ।
‘म त खत्रै इङलिस बोल्थें रे, पछि पो साथीहरुले जिस्क्याए,’ सुवास आफूले अस्पतालमा गरेको क्रियाकलाप सम्झिएर खित्का छाडेर हाँसे । अनि सुनाए, ‘मलाई त भारतमा छु जस्तो लाग्थ्यो, साउदीमा पो रैछु, म त छक्कै परको थिएँ ।’
सुवास अस्पतालमा अनेक हर्कत गर्थे । भाग्न खोज्थे । त्यसैले अस्पतालले उनलाई फलामे साङलोले बाँधेर राखेको थियो । त्यो दाग अझै पनि उनको नाडीमा प्रष्ट देखिन्छ ।
सुवास जिउँदै रहेको कुरा उनका भान्जा र साथीहरुले मात्रै थाहा पाएनन् । यो खबर घरसम्मै आइपुग्यो । श्रीमान जीवित छन भन्ने खबर सुनेपछि श्रीमती सन्तोषी श्रीमानको बोली सुन्न आत्तिइन् । भान्जाले सुवाससँग कुरा गराए । सुवासले सन्तोषीको नाम बाहेक सबैकुरा बिर्सिएका थिए ।
हेलो भन्नासाथ सुवासले सोधे, ‘तिमी मेरो श्रीमती सन्तोषी हैन त ?’
सन्तोषी श्रीमानको आवाज सुनेपछि एकै स्वासमा भनिन्, ‘हो नि हाम्रो दुई जना छोराछोरी पनि छन् ।’
सन्तोषीका कुरा सुनेपछि सुवासले अच्चम मान्दै सोधे, ‘ए तिमीले एक्लै पायौ कि, म हुँदै पाएको ?’
सन्तोषी श्रीमानकोे कुरा सुनेर हाँस्न पनि सकिनन्, रुन पनि । फोन राखेपछि सन्तोषीलाई मरेका श्रीमान सपनामा आएर जिस्क्याए जस्तो लाग्यो ।
श्रीमानको बोलीबाट उनले सजिलै सुवासको अवस्थाको बारेमा पत्तो पाइन् । झन छट्पटी भयो । भान्जाले केही दिनपछि भिडियो च्याट गराए । चोटले सुवासको अनुहार बिग्रिएको थियो ।
सुवासले चाहिँ सन्तोषीलाई भर्खरकी देखेछन् । ‘मेरो श्रीमती त बुढी होला भनेको तिमी त तरुनी पो रहेछौ,’ सुवासले भिडियोमा देख्दा भनेको कुरा सुनाउँदै सन्तोषी हाँसिन् ।
अहिले श्रीमानकै अघिल्तिर बसेर २ वर्ष अघिका कुरा सुनाउँदा सन्तोषीले हाँसो रोक्न सकेकी थिइनन् । उनको हाँसोमा सुवासको पनि हाँसो मिसिँदै थियो ।
सुवासका ६ महिना अस्पतालमा बिते ।
असारमा दुर्घटनामा परेका उनी मंसिरमा कम्पनीको क्याम्पमा फर्किए । क्याम्पमा फर्किंदा पनि सुवास राम्ररी ठीक भैसकेका थिएनन् । उनलाई हेरचाह गर्न एकजना चाहिन्थ्यो ।
कम्पनीले भान्जा अर्जुनलाई सुवासको हेरचाह गर्न खटायो । सुवासको कम्मर र हिपको पछाडिको भागमा गहिरो चोट लागेकाले सजिलै उठ्न बस्न सक्दैन थिए । ‘बामे सरे जसरी हिँड्नु पथ्र्यो, शरीर गह्रौं हुन्थ्यो,’ सुवासले सुनाए ।
एकछिन अघि बोलेका र गरेका काम बिर्सन्थे सुवास । घरबाट श्रीमती र साथीभाइले अगाडिका सबैकुरा बताउँदा सुवासलाई अचम्म लाग्थ्यो । कम्पनीमा पहिले उनले गर्ने काम, कमाईको बारेमा साथीहरुले बताए । घरमा लाश आएको, सदगद गरेको श्रीमतीले बताइन् ।
साथीहरु र श्रीमतीका कुरा सुन्दा सुवास छक्क पर्थे । अनि एकछिनमा सबै कुरा बिर्सिन्थे पनि ।
‘त्यस्तो कसरी भयो भनेर कति सम्झन खोज्थें, मलाई याद नै हुँदैनथ्यो । केही जस्तो नै लाग्दैन थियो,’ सुवास सम्झिएर छक्क परे ।
पहिलेका कुरा अनि परिवारको बारेमा भन्दा, सम्झाउँदा उनले श्रीमती र छोराछोरीलाई त चिने । तर भोजपुरबाट मोरङ झरेर बनाएको घर अनि त्यही घर उकास्न साउदी उडेको उनलाई अहिले पनि सम्झनामा आउँदैन ।
भन्छन्, ‘सन्तोषीले मोरङमा छु भनिन्, मैले त मोरङमा घर छ भन्ने नै बिर्सेछु । किन त्यहाँ गएको भनेर गाली गरें । कम्ता रिस उठेन ।’
अस्पतालबाट कम्पनीमा फर्केको तीन महिना सुवासले बेहोसीमै बिताए । उनको स्वास्थ्यमा सुधार हुँदै थियो । कमाउन आएको रहेछु यसरी सुतेर हुँदैन जस्तो लाग्यो सुवासलाई । मंसिरमा क्याम्प फर्किएका सुवासले चैतमा कम्पनीसँग काम मागे ।
कम्पनीले हाउस किपिङको काम दिने बताएपछि ११ सय रियाल मासिक तलब पनि पाउने भए । १३ महिनासम्म हाउस किपिङको काम गरे । घरमा पैसा पनि पठाए । साथीहरुले धेरै तलब थापेको देखेपछि उनलाई चित्त बुझेन । त्यसैले कोरियन साहुसँग तलब बढाउन अनुरोध गरे ।
त्यति बेलासम्म सुवासले काम गर्छन् भन्नेबारे कम्पनीका साहु बेखबर थिए । सुवासको कुरा सुनेर कोरियन साहु छक्क परे । सुवासलाई हाउसकिपिङको काम नगर्न भने । त्यसको सट्टा सुरक्षागार्डको काम दिए ।
काम फेरिएसँगै सुवासले तलब १६ सय रियाल पुग्यो । ‘कोरियनले हाउसकिपिङको काम त नो नो भन्यो, रेक्युरिटीको काम गर त्यो नि मन नलागे नगर, तैंले तलब पाउँछस् भन्यो । म त कम्ता खुशी भइन,’ सुवासले कोरियन साहुलाई धन्यवाद दिए ।
मृत्युुको कागजपत्र बनाएर शव नै पठाएका व्यक्तिलाई फेरि जीवित बनाएर घर पठाउन कम्पनीलाई पनि सहज भएन । सुवास आफूलाई घर फर्काइदिन कम्पनीसँग दिनहुँ अनुरोध गर्थे । दुर्घटनामा परेकै कारण उनको औंलाको छाप पनि आएन ।
उनलाई घर फर्काउन कम्पनीलाई निकै समस्या पर्यो । २ वर्षपछि मात्रै साउदीले दिएको आममाफीको मौका छोपेर कम्पनीले सुवासलाई घर फर्काइदियो । सुवास २०७४ जेठमा नेपाल आइपुगे ।
कम्पनीले पठाउन ढिलो गर्दा परिवारलाई मरेको मान्छे जीवित छन् भन्ने भए पनि भेट्न पाइँदैन कि जस्तो लागेको थियो । साँच्चै फर्केर आएको देख्दा सबैजना छक्क परे । परिवारमा खुशी छायो ।
सुवास काठमाडौंमा विमानबाट ओर्लिंदा उनलाई घरसम्म पुर्याउने गाडी तयार थियो । घरमा उनलाई भित्र्याउन परिवार तयार थियो । सदगत गरिसकेका मानिस फर्कदा पुनर्जन्म गराउनुपर्ने मान्यता छ । सोहीअनुसार सुवासको पुनर्जन्मदेखि श्रीमतीसँग फेरि विवाह पनि गराइयो ।
सुवास फर्किएको पाँच महिना भयो । दुर्घटनामा परेका सुवासको अनुहारभरि दाग छ । दाहिने हातमा स्टिल राखिएको छ । उनको कम्मर र हिपको बिचमा पछाडि लागेको चोट अझै निको भएको छैन ।
उनी अहिले पनि बेलाबेला होसका कुरा गर्दैनन् । हाँस्न थालेपछि दिनभरी हाँसिरहन्छन् । कहिलेकाहीँ धरानबाट भोजपुर चल्ने बस चलाउँछु पनि भन्छन् । ‘घर बैंकमा राखेर गाडी निकाल्छु अनि धरानबाट भोजपुरको रुटमा आफैँ चलाउछु,’ सुवासले भने ।
सुवाससित आफ्नै मृत्युदर्ता छ । साउदीको सम्बन्धित निकायले प्रमाणित गरेको ‘डेथ सर्टिफिकेट’ पनि छ । दराजमा मृत्युको प्रमाणपत्र थन्क्याएर सुवास अहिले मोरङको लक्ष्मीमार्गमा सिटी सफारी चलाउँछन् ।
दुई लाख १० हजार रुपैयाँ ऋण काढेर सुवासले सिटी सफारी किनेका हुन । दिनको चारदेखि पाँचसय रुपैयाँसम्म कमाई हुन्छ । उनको कमाइले चार जनाको परिवारलाई बिहान बेलुका हातमुख जोर्न पुगेको छ ।
उनी बेलाबेला उपद्रो गरिराख्छन् । कहिले सफारी स्पिडमा कुदाएर झाडीमा पुर्याउँछन्, त कहिले कुखुरा लखेटी हिँड्छन् । ‘म एकदिन कुखुरो खोज्दै थिएँ, ज्वाईंले पो लखेट्दैरैछन् । के गरेको ज्वाईं भनेर सोधेको, हाँस्छन पो,’ सुवासकी काकी सासु वेदमायाले हाँसो रोक्न सकिनन् ।
सुवास आफूले गरेको काम सम्झेर छक्क पर्छन् । पहिलेका कुरा अरुले सुनाउँदा अचम्ममा पर्छन् । अहिले पनि श्रीमतीले आफ्नो मान्छे भनेर चिनाएका बाहेक अरु मान्छे चिन्दैनन् ।
अगाडिका कुरा कसरी बिर्सिएँ खै, क्रिकेट खेल्दो रैछु, भलिबल खेल्दो रैछु, त्यो बेलाका साथीहरु बाटोमा बोलाउँछन देखे देखे जस्तो लाग्छ तर चिन्दिन,’ सुवासले आफ्नो अवस्थाको बारेमा बताए ।
आफू दुर्घटनामा परेर परिवारले दुःख पाए भनेर सुवासलाई नरमाइलो लाग्छ । त्यसैले हातगोडा चलुन्जेल परिवारलाई सुखले पाल्ने सपना छ, सुवासको ।
खरानी बनिसकेका सुवास जीवित भएर फर्किएका छन् । उनलाई भकारीबाट पुनर्जन्म गराइयो ।
१२ वर्षअघि बिहे गरेकै श्रीमतीसित विवाह पनि भयो । परिवारलाई सुखी बनाउने सपना उनका लागि उति टाढा पनि छैन । त्यति हुँदाहुँदै पनि सुवाससित आफ्नै मृत्युदर्ताको प्रमाणपत्र सुरक्षित छ । अथवा कागजी रुपमा उनी मरेकै छन् । साँच्चै उनी कसरी जीवित होलान् ?
(पुनः प्रकाशित)
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।