‘फ्री भिसा फ्री टिकट’को कार्यान्वयन र प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन गरिने : श्रममन्त्री श्रेष्ठ

 मंसिर ३, २०७८ शुक्रबार १६:२१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन र ‘फ्री भिसा फ्री टिकट’को कार्यान्वयन गरिने बताउनु भएको छ ।

शुक्रवार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिबद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताउनु भएको हो । उहाँले ‘फ्री भिसा र फ्री टिकट’ भन्ने नारालाई लागू नगर्नेहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने पनि बताउनुभयो । मन्त्री श्रेष्ठले श्रमिकहरुलाई एजेन्टमार्फत् नभइ सिधा म्यानपावरसम्म पुर्याउनका लागि पहल गर्ने समेत बताउनुभयो । सरकारले श्रमिकहरुको हकहितमा केन्द्रित रहेर केही विशेष निर्णय गर्न लागेको पनि उहाँले जनाकारी दिनुभयो ।

‘भिसा, फ्रि टिकटमा सर्भिस चार्ज १० हजार भनिएको छ, यसमा जाने श्रमिक पनि ठगिएको छ, राज्यले लिने कर पनि लिन पाएको छैन, सरकार ठगिएको छ, श्रमिक ठगिएको छ’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘यस विषयमा छलफल गरेर केही निर्णय गर्दैछौँ । श्रमिकहरुले एजेन्टमार्फत् नभइ सिधा म्यानपावरमा सम्पर्क गर्ने व्यवस्था कार्यान्वयन गरिनेछ, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउनेछौँ ।’

मन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता श्रमिकहरुको हकहित हुने बताउनु भयो । उहाँले श्रमिकहरुको हकअधिकार खोस्नेहरुलाई कानुनअनुसार कारबाही गरिने पनि बताउनुभयो । 

यस्तै मन्त्री श्रेष्ठले मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपालीहरुको धेरै ज्यान गएको बताउँदै यसको अनुसन्धान गरेर अघि बढ्ने र त्यसतर्फ श्रमिकलाई सचेत गराउने बताउनुभयो । उहाँले सबैभन्दा ठूलो समस्या भारतमा जाने नेपाली कामदारहरुको भएको भन्दै कामदारहरुले न्यूनतम पारिश्रमिक पाउने व्यवस्थाका लागि पहल गरिरहेको समेत जानकारी दिनुभयो । 

मन्त्री श्रेष्ठले तत्काल चाँडै ७ वटा प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाउने र दोस्रो चरणमा सात सय ५३ वटै पालिकामा यो सेवा शुरु गर्ने पनि बताउनुभयो । उहाँले नेपालमै रोजगारीको अवस्था सिर्जना गर्ने सरकार र आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । मन्त्री श्रेष्ठले श्रम सूचना बैंक दुई हप्ता भित्र सञ्चालन गर्ने र स्वदेशमा रहेका श्रमिकहरुको लागि श्रम अस्पतालको पनि कल्पना गरिरहेको बताउनुभयो । 
 

अन्तिम अपडेट: मंसिर २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया