श्रमिकका समस्या समाधान गर्ने खालको बजेट ल्याउन माग

 जेठ १०, २०७८ सोमबार १४:१२:३३ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकका समस्या समाधान गर्ने खालको बजेट ल्याउन माग गरेकाे छ । युनियनले विश्वव्यापीरूपमा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै आर्थिक वर्ष २०७८/०७९ मा कोरोनाले तहसनहस पारेको अर्थतन्त्र जोगाउँदै श्रमिकको समस्या समाधान गर्ने खालको बजेट ल्याउन आइतबार अर्थमन्त्रीसमक्ष माग गरेको हो । 

युनियनका अध्यक्ष पुष्कर आचार्यले कम आय भएका श्रमिक तथा स्वरोजगारहरुलाई आयकरलगायत अन्य कर र कर्जाको ब्याज मिनाहा गर्नुपर्ने बताउनुभयो । “कोरोना भाइरसको अग्रमोर्चामा खटिएका श्रमिकलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पीपीईलगायत स्वास्थ्य उपकरणका साथै बीमा र प्रोत्साहन सुविधा व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

यस्तै युनियनले साना तथा मझाैला घरेलु उद्योग, कृषि तथा कृृषिजन्य उद्योगको विकास र विस्तार गरी नयाँ रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने, शिक्षकलगायत सम्पूर्ण श्रमिकलाई छिटोभन्दा छिटो निःशुल्क कोराेना खोप दिलाउने व्यवस्था गर्नुपर्ने, राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकलगायतको आय करको सीमा वृद्धि गरी कम्तीमा पनि सात लाख रुपैयाँ कायम गर्नुपर्ने बताएको छ । 

युनियनका उपाध्यक्ष अजयकुमार राईले ट्रेड युनियन र व्यावसायिक सङ्घ, सङ्गठनको समेत प्रतिनिधित्व हुने गरी एक अधिकार सम्पन्न रोजगार प्रवर्द्धन बोर्डको स्थापना गर्नुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय तहमा श्रमिकको पञ्जीकरण गरी परिचय पत्र (रासन कार्ड) उपलब्ध गराउने र त्यही परिचयपत्रका आधारमा अनौपचारिक क्षेत्रका श्रमिकलाई कोराेनासँग सम्बन्धित राहत उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

यस्तै युनियनले अनौपचारिक तथा स्वरोजगार क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा  योजनामा समावेश गराउनुपर्ने, सामाजिक संवादको माध्यमबाट श्रमिक समस्या सम्बोधन गर्न अनिवार्यरूपमा प्रदेश तथा स्थानीय तहमा त्रिपक्षीय श्रम सल्लाहकार समिति गठन गरी क्रियाशील गर्नुपर्ने, असल श्रम सम्बन्ध र कार्यस्थलमा महामारीजन्य रोगको सुरक्षाका लागि सबै प्रतिष्ठान तहमा श्रम ऐनको प्रावधानअनुसार श्रम सम्बन्ध समितिको अनिवार्यरूपमा गठन गरी क्रियाशील गराउन सरकारको ध्यानाकर्षण गराएको छ । 

कोरोना महामारीबाट रोजगार गुमाएका आप्रवासी श्रमिकलाई कूटनीतिक नियोगमार्फत यथाशीघ्र उद्धारको व्यवस्था मिलाउन पर्याप्त बजेटको विनियोजन गर्नु पनि युनियनले आग्रह गरेकाे छ । यस्तै वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकको अनुभव, सीप र साधनको प्रयोग गरी स्वदेशमै रोजगारीको सिर्जना र उद्यमशीलताको विकास गर्न प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने, महामारीको समयमा श्रमिकको तलब कटौती गर्न नपाइने युनियनले बताएको छ ।

अन्तिम अपडेट: मंसिर २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया