मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
म्याग्दी - म्याग्दीमा छिमेकी देश तथा अन्य देशबाट आउनेलाई अनिवार्य १० दिन क्वरेण्टीनमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधवार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो ।
बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दिन क्वरेण्टीनमा बस्नुपर्ने व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भारतमा कोरोनाको दोस्रो लहर सुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने भएका कारण विदेशबाट जिल्लामा भित्रिनेलाई अनिवार्य क्वरेण्टीनमा राख्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनामा काम गर्न भारतबाट आएका चार मजदुर र जिल्ला कारागारका एक कैदीमा मङ्गलवार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । भारतबाट आएका मजदुरमा कोरोना पुष्टि भएपछि विदेशबाट आउने र घर बिदामा आउनेलाई १० दिन अनिवार्य क्वरेण्टीनमा राखेर घर पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा कार्यान्वयन गर्ने, मास्कको अनिवार्य प्रयोग, पालिकामा क्वरेण्टीन, आइसोलेशन कक्षलाई पुनः सञ्चालनमा ल्याउने र पीसीआर परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको छ ।
त्यसैगरी बेनी अस्पतालमा स्वास्थ्यजाँचलाई व्यवस्थित बनाउने र हरेक निजी तथा सार्वजनिक सङ्घसंस्थाले अनिवार्य साबुनपानीले हात धुने व्यवस्था मिलाउनेलगायतका निर्णय भएको छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा भीडभाड हुने कार्यक्रमलाई समेत कडाइ गरिने भएको छ । काममा आउने मजदुरलाई कोरोना परीक्षण तथा क्वरेण्टीनमा नराखि काममा खटाइएको अवस्थामा सम्बन्धित कम्पनी तथा व्यक्तिलाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैठकमा सहभागी केही प्रतिनिधिले भने विदेशबाट आउनेलाई क्वरेण्टीनमा राख्ने तर विभिन्न ठाउँमा मानिसको भीडभाड हुने मेलाजात्रा र महोत्सव नियन्त्रणमा बेवास्ता गरिएको भन्दै निर्णयप्रति असहमति जनाएका छन् ।
राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छवि विश्वकर्माले सङ्घीय सरकारले जारी गरेको निर्देशन र आग्रह विपरीत म्याग्दीमा मेला महोत्सवलाई सहयोग पुग्ने हिसाबले केही व्यापारीको दबाब र प्रभावमा उनीहरु अनुकूलको निर्णय गरिएको भन्दै असन्तुुष्टि जनाउनुभएको छ ।
दरवाङमा चैत अन्तिम हप्तादेखि मालिका महोत्सव र बेनीमा नयाँ वर्षको अवसरमा लोक सांस्कृतिक उत्सवको आयोजना गरिएको छ । यसैगरी फागुपूर्णिमा पर्वको अवसरमा पनि गाउँगाउँमा मेला आयोजना भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।