काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
म्याग्दी – कोरोनाको सङ्क्रमण पुष्टि हुनु । होम आइसोलेशन बस्नुपर्ने बाध्यता । काम गर्दै गरेको ठाउँमा जागिर खोसिनु । अनि सङ्क्रमण पुष्टि भएपछि टोल, छिमेकबाट दुर्व्यवहार हुनु यो कस्तो बिडम्बना !
कोरोना जस्तो भाइरसको सङ्क्रमण पुष्टि भएको अवस्थामा सङ्क्रमितलाई माया, ममता र हौसला दिनुपर्ने ठाउँमा उल्टै छि : छिः र दुरदुर अनि दुर्व्यवहार ! हामी कल्पना गर्न पनि सक्दैनौँ । तर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारका एक व्यक्तिले भने यही अवस्थाको चुनौती पार गरिसक्नुभयो ।
४१ वर्षीय शिव बरुवाल प्रभु बैंकको अन्नपूर्ण शाखा पोखरेबगरमा सुरक्षागार्डका रूपमा काम गर्नुहुन्थ्यो । उहाँले त्यस बैंकमा काम गर्न थालेको २० महिना पुगेको थियो । त्यसैक्रममा उहाँ गएको पुस पहिलो हप्ता कोरोना भाइरस सङ्क्रमित बन्नुभयो । पुस १ गते पीसीआर परीक्षणका लागि उहाँको स्वाब सङ्कलन गरियो र ५ गते रिपोर्ट पोजिटिभ आयो ।
सुरक्षागार्ड बरुवालले सङ्क्रमण भएपछि सुरुको एक हप्तासम्म टाउको दुख्ने, उच्च ज्वरो आउने, खान मन नलाग्ने र स्वाद थाहा नपाउने जस्ता लक्षण देखिएको बताउनुभयो । त्यही आधारमा पीसीआर परीक्षण गरियो अनि रिपोर्ट पनि पोजिटिभ आयो । अब बस्नुपर्ने भयाे आइसोलेशन ।
अन्नपूर्णमा सङ्क्रमित बिरामीलाई राख्नका लागि तत्कालीन अवस्थामा आइसोलेशन अस्पताल तयारी अवस्थामा थिएन । उहाँ म्याग्दी सदरमुकाम बेनीको आइसोलेशनमा आउन सम्भव पनि भएन ।
त्यसैले उहाँ घरैमा होम आइसोलेशन बस्नुभयो । घरमा आइसोलेशन बसेको भए पनि उहाँले टोल, छिमेकबाट राम्रो सहयोग पाउने अपेक्षा त गर्नुभयो तर अपेक्षा भने उपेक्षामा परिणत भयो । कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि आफू होम आइसोलेशनमा बसेको हुँदा अफिसमा काम गर्न नआउने भन्दै उहाँले फोनमार्फत बैंकमा जानकारी गराउनुभयो र बिदा बस्नुभयो ।
होम आइसोलेशन बसेको ४/५ दिनमै अफिसमा अर्को मान्छे राखेपछि बरुवालको जागिर खोसियो । एकातिर टोल छिमेकको दुर्व्यवहार, अर्कोतिर जागिर खोसिँदा उहाँलाई थप तनाव भयो ।
होम आइसोलेशन बसेको १४ दिनपछि र दोस्रो रिपोर्ट नेगेटिभ आएपछि बरुवाल कोरोनामुक्त हुनुभयो । योसँगै उहाँ जागिरबाट पनि मुक्त हुनुपर्याे ।
होम आइसोलेशनमै बसेको समयमा बैंकमा सुरक्षागार्ड नियुक्त गर्ने एक्सेलेन्ट सेक्युरिटी अफिस काठमाण्डौबाट तपाईँको ठाउँमा अर्को मान्छे राखिएको जानकारीसहित फोन आएको उहाँ बताउनुहुन्छ ।
कोरोना पुष्टिपछि भोगेका दुःख र पीडा सुनाउँदै उहाँले भन्नुभयो, ‘कोरोना पोजेटिभ भएर जागिर गुमाउने व्यक्ति नेपालमै म पहिलो हुन सक्छु । मलाई जस्तो दुःख र पीडा अरू कसैलाई नपरोस् ।’ त्यही बैंकमा फेरि आफूलाई सुरक्षागार्डकै रूपमा जागिरका लागि पुनर्बहाली गर्नुपर्ने उहाँको माग छ ।
बैंकमा सुरक्षागार्डको काम गर्ने क्रममा नै आफूलाई कोरोना सङ्क्रमण भएकाे हुन सक्ने बरुवालले अनुमान गर्नुभयो । काम गर्दै गर्दा कोरोना पुष्टि भएपछि जागिरबाट निकालिएको गुनासो गर्दै उहाँले बैंकबाट थप सहयोग पाउनुपर्ने ठाउँमा उल्टै झन् जागिर खोसिएको दुःखेसो पोख्नुभयो । ‘त्यही बैंकमा काम गर्ने अर्को स्टाफलाई कोरोना देखिँदा उहाँलाई त्यहीँ राख्ने अनि मलाई देखिँदा चाहिँ जागिरबाट निकाल्ने यो कस्तो नियम हो ? यस्तो नियम कहाँ छ ?’, भन्दै उहाँले प्रश्न गर्नुभयो ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा चार वर्ष बिताएर फर्किनुभएका बरुवालको परिवारमा बाबुआमा, श्रीमतीसहित तीन छोरी र दुई छोरा छन् । उहाँलाई कम्पनीले मासिक रूपमा सुख्खा १८ हजार रुपैयाँ तलब मात्रै दिएको थियो ।
आफू सङ्क्रमित भएर आइसोलेशनमा बसेको समयमा कोभिड अस्पतालका डाक्टर, नर्सहरू आएर हौसला दिएर मनोबल बढाउने काम गरेको अनुभव सुनाउँदै उहाँले अस्पतालले शारीरिक व्यायाम, बाफ लिने, योगा गर्ने र घाममा बस्न सिकाएको बताउनुभयो ।
यता प्रभु बैंक अन्नपूर्ण शाखाका प्रमुख विनोद केसीले भने एक्सेलेन्ट सेक्युरिटी कम्पनी काठमाण्डौले सुरक्षागार्डको नियुक्ति, तलब/भत्तालगायत व्यवस्था गर्ने भएकाले यस विषयमा बैंकको शाखालाई केही पनि जानकारी नहुने बताउनुभयो । सेक्युरिटी कम्पनीले दिएको नियुक्तिका आधारमा बैंकमा काम गर्न दिइने हुँदा उहाँले सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित व्यक्तिले कम्पनीमा जानकारी नगराएको हुन सक्ने बताउनुभयो ।
बरुवाल जस्तै कारोना सङ्क्रमित भएर टोल, छिमेकमा दुर्व्यवहार घारकै लिला खत्रीले पनि भोग्नुभयो । उहाँले पनि कोरोना सङ्क्रमण पुष्टि भएर घरमै बसेको समयमा टोल, छरछिमेकबाट सङ्क्रमण पुष्टि भएर आइसोलेशनमा बसेकाको घरमा जान हुन्न, उनीहरूसँग बोल्न हुँदैन भनेर सुनेको बताउनुभयो ।
आफ्नो घर अगाडिको बाटो भएर छिमेकीहरू आवतजावत गर्ने क्रममा घर नजिकै आएपछि दौडिने गरेको उहाँले गुनासो गर्नुभयो । आफ्नो गाडी भएर पनि त्यसको गाडीमा समेत चढ्नुहुँदैन भन्ने सुनेकामा आफूलाई धेरै नै नरमाइलो महसुस भएको पनि उहाँले दुःखेसो पोख्नुभयो ।
कोरोनामुक्त भएका बरुवाल र खत्रीलाई अन्नपूर्ण गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल उद्घाटनको अवसरमा कोरोनामुक्त भएको प्रमाणपत्र दिएर सम्मान गरेको थियो । उहाँलाई सम्मान गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले कोरोना लागेर जागिर गुमाएका बरुवालको बैंकमा पुनर्बहालीका लागि आफूले बैंकसँग कुराकानी गरेको बताउनुभयो । उहाँले कोरोना लाग्दैमा जागिरबाट कसैलाई पनि निकाल्न नहुने बताउँदै जागिर गुमाएका बरुवाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्नुभयाे ।
कोभिड अस्पतालका प्रमुख मेडिकल अधिकृत डाक्टर लक्ष्मी पन्थीले सङ्क्रमण पुष्टि हुँदैमा जो कोही पनि आत्तिन नहुने बताउँदै राम्रोसँग स्वास्थ्य सुरक्षाका विधि अपनाएमा छिटै कोरोनामुक्त भइने बताउनुभयो । सङ्क्रमितलाई उचित किसिमको माया, ममता, स्नेह र सहयोग दिएर सहज वातावरण निर्माण गर्न जोड दिँदै सङ्क्रमित बिरामीको मनोबल बढाउनेतर्फ विशेष ध्यान दिनुपर्ने डा. पन्थीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।