मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
बाग्लुङ - पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्किनुभएका जैमिनी नगरपालिका-५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउनुहुन्छ ।
विदेश जानुअघि देशमै सिकेको सीपले उहाँलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बोलेरो जोड्यो । पाँच वर्षे करार अवधि भ्याएर घर फर्किनुभएका उहाँ फेरि विदेश फर्किन चाहनुभएन । अहिले उहाँले यातायात व्यवसायमा हात हाल्नुभएको छ ।
जैमिनीकै राङखानीका बोमबहादुर विकले विदेशमा कमाएको पैसा फर्निचर उद्योगमा लगानी गर्नुभएको छ । विभिन्न देश गरी लामो समय विदेश बस्नुभएका विकले राङखानीकै व्याडथलामा फर्निचर उद्योग सञ्चालनमा ल्याउनुभएको हो । मलेसिया, साउदीदेखि कोरियामा मात्र १० वर्ष बिताउँदा नमरेको पैसा कमाउने धित मार्न उहाँले गाउँमै लगानी गर्नुभएको हो ।
विदेशमा कमाएको धेरथोर पैसा साना व्यवसायमा लगानी गर्दा निरन्तर आम्दानी र अन्यलाई रोजगारीसमेत हुने उहाँको बुझाइ छ । उहाँको उद्योगमा पलङ, कुर्ची, टेबल, झ्यालढोका लगायतका काठका सामग्री निर्माण गरिन्छ । यसबाट उहाँ बाहिरी बजारमा जाने गाउँको पैसा गाउँमै रोकिएको जिकिर गर्नुहुन्छ । उद्योगमा ५० लाख रुपैयाँ लगानी गरेको विकले बताउनुभयो ।
'धेरै विदेश धाइयो अलिअलि कमाइ भयो, विदेशको कमाइ भेलबाढी हो धेरै टिक्दैन', विक भन्नुहुन्छ, 'निरन्तर आम्दानीका लागि देशमै केही गर्नैपर्छ ।' लगानी नगरि प्रतिफल नआउने भन्दै विकले कमाएको पैसा यत्तिकै राख्दा कुनै फाइदा नहुने बताउनुभयो । विकको फर्निचरमा उहाँको परिवार र केही गाउँका युवाले समेत काम गर्छन् ।
'मैले ४०/५० लाख रुपैयाँ लगानी गर्दा घरपरिवार र छिमेकीलाई समेत काम पुगेको छ', उहाँ भन्नुहुन्छ, 'काम भए कमाइ हुन्छ, कमाइ भए खर्च पुग्छ ।' उहाँले विदेशका मानिसहरुको व्यवसायप्रतिको मोह देखेर आफूले पनि सानो व्यवसाय थालेको बताउनुभयो । जैमिनी-१० राङखानीका यम पुन दुबईबाट फर्किनुभएको हो ।
दुबईमा काम र दाम धेरै राम्रो थियो तर उहाँ ११ वर्षको दुबई बसाइ सकेर गाउँघरमै व्यवसायमा लाग्नुभएको छ । उहाँले दुबईमा कमाएको पैसा लगानी गरेर कुश्मीशेरा बजारमा ‘जैमिनी कृषि तथा पशुपंक्षी फार्म एण्ड रिसर्च सेन्टर तथा ब्लक उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ ।
विदेशको सिकाइ र भोगाइलाई साना व्यवसायमा लगाउने योजना बनाउनुभएका पुनले ब्लक उत्पादनदेखि पक्षीको फार्मसम्मका लागि ५० लाख रुपैयाँ लगानी गर्नुभएको छ । 'ठूलो योजना बनाएर कामको थालनी गरेका छौँ', पुन भन्नुहुन्छ, 'ब्लक उद्योगबाट सुरु गरेका छौँ, उद्योगबाट दैनिक ५०० ब्लक निर्माण हुनेछ, त्यहाँ तीन व्यक्तिले रोजगारी पाउँछन् ।'
उद्योगअन्तर्गत बङ्गुरपालन सुरु भएको छ । पाँच सय बङ्गुर पाल्ने योजना छ । त्यहाँँ बङ्गुरपालनसँगै कुखुरा, टर्की, बट्टाइ, कडकनाथ र माछापालन गर्ने लक्ष्यसाथ अहिले काम सुरु गरिएको छ । 'आफ्नै ठाउँमा गरे हुन्छ भन्ने सन्देश दिने इच्छा छ', पुन भन्नुहुन्छ, 'विदेशमा दुःखले कमाएको स्वदेशमा लगानी गरेर रोजगारी सिर्जना गर्ने लक्ष्य हो ।' तीन युवाका अतिरिक्त जैमिनीमा विदेशमा कमाएर गाउँघरमा लगानी गर्ने युवाको उल्लेख्य सङ्ख्या छ ।
पशुपालन, व्यापार, व्यावसायिक केराखेती, माहुरीपालन तथा साना उद्योगको सञ्चालनमा युवाले सहभागितात्मक लगानी बढाएका छन् । युवाको सक्रियताअनुसारको साथ स्थानीय सरकारले नदिएको युवाहरुको गुनासो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।