काठमाण्डाैसँग हारेसँगै लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
मंसिर २६, २०८१ बुधबार
दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना एक सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ ।
नगर कार्यपालिकाको हिजाे मंगलबार सम्पन्न ९५ औँ बैठकले 'स्मार्ट छोरी विहेबारी बीस वर्षपारी' कार्यविधि पारित गरेसँगै अब यो लागू हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरिसकेको छ ।
कार्यविधिमा उल्लेख भए अनुसार २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीहरुको बैंक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिन भित्रमा अनिवार्य रुपमा जन्मदर्ता गराएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । ‘घटना दर्ता अनिवार्य गर्नुपर्नेमा कतिपय अभिभावकले बिनाकारण ढिला गर्ने गरेको पाइन्छ यसले केही सुधार हुने देखिन्छ’ उपप्रमुख शर्माले बताउनुभयो ।
कार्यक्रममा समावेश हुनका लागि उपयुक्त बालिकाको अभिभावकले बैंकमा खाता खोलेर खाता नम्बर उपमहानगरपालिकालाई उपलब्ध गराएपछि रकम जम्मा हुने कुरा कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा उल्लेख भए अनुसार जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपैयाँ र त्यसपछि हरेक महिना १ सयका दरले खातामा रकम जम्मा हुनेछ ।
उपमहानगरपालिकाले बालिकाको नाममा खोलेको खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि एकमुष्ट रुपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ । कार्यविधि अनुसार २० वर्ष नपुग्दासम्म विहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्नेछ ।
‘बीचमै विवाह गरेमा या माध्यमिकतहसम्म पढेको नभएमा रकम सरकारी खातामा फिर्ता हुनेछ ’ उपप्रमुख शर्माले बताउनुभयो । तत्काललाई मासिक १ सय रुपैयाँ जम्मा गर्ने भए पनि आवश्यकता अनुसार कार्यविधि परिवर्तन गरेर रकम बढाइने समेत उहाँको भनाइ छ ।
कार्यविधि अनुसार समय अगावै बालिकाको ज्यान गएमा, कडा रोग लागेर माध्यमिक तह पुरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएमा भने खातामा जम्मा भएको रकम पुरापुरा दिनुपर्ने उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।