खाडी क्षेत्रमा पहिलो पटक ओमानमा रहेको नेपाली दूतावासको आफ्नै भवन बन्ने

 भदौ ९, २०७७ मंगलबार १७:३२:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – ओमानमा रहेको नेपाली दूतावासको अब आफ्नै भवन बन्ने भएको छ ।

मंगलबार नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणका लागि नेपाल सरकार र ‌ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिनुभयो ।

ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव प्रशासन तथा लेखा मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरी सम्झौतामा हस्ताक्षर भएको राजदूत ढकालले जानकारी दिनुभयो ।

नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको छ । यो जग्गा २० वर्षका लागि लिजमा लिइएको र त्यसपछि फेरि नवीकरण गर्न सकिने प्रावधान रहेको छ ।

सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ ।

हस्ताक्षर कार्यक्रमपछि मोहम्मद विन नासिरले नेपाल लगायत सम्पूर्ण देशहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताउनुभएको छ ।

उहाँले जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा नेपालसँग हस्ताक्षर भएकोमा नेपाललाई बधाइसमेत दिनुभएको छ ।

यो सम्झौता पश्चार ओमान रहेको नेपाली दूतावास खाडीमा आफ्नै भवन भएको पहिलो दूतावास बन्नेतर्फ अघि बढ्ने र आफ्नै भवनबाट नेपाली श्रमिकलाई प्रभावकारी र सहजरुपमा सेवा दिन सकिने दूतावासले जनाएको छ ।

आफ्नै भवन हुँदा भाडा बापत तिर्न पर्ने रकम पनि बच्ने छ । साथै मस्कटमा बन्ने नयाँ भवनबाट नेपाली उत्पादनको प्रदर्शनीलाई स्थायी तथा बृहत बनाई व्यापार तथा पर्यटन प्रवर्द्धन समेत थप योगदान गर्ने योजना रहेको दूतावासले जनाएको छ ।

दूतावासको आफ्नै भवन हुनुले पनि ओमान लगायत समग्र खाडी क्षेत्रमा नेपालको दीर्घकालीन सम्बन्ध राख्न चाहेको सकारात्मक सन्देश जाने राजदूत ढकालले बताउनुभयो। यसले खाडी क्षेत्रमा रहेका करिव १५ लाख नेपालीहरूको सुरक्षा तथा स्थायीत्वमा योगदान दिने राजदूत ढकालको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया