मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डाै – वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा पूर्ण अशक्त भएका खोटाङका श्रमिक परिवारका ३२ बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ ।
रोजगारीका सिलसिलामा विभिन्न देशमा दुर्घटना वा अन्य कारणले ज्यान गुमाएका वा अशक्त बनेका श्रमिकका ३७ बालबालिकालाई बोर्डले छात्रवृत्ति उपलब्ध गराएकामा ३२ जनाले मात्र त्तयाे छात्रवृत्ति पाएका हुन् । अन्य पाँच छात्रछात्राको ठेगाना नखुलेकाले छात्रवृत्ति रकम फिर्ता पठाइएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जानकारी दिनुभयो ।
'छात्रवृत्तिका लागि समुदायस्तरका विभिन्न कार्यक्रम, विद्यालय तथा पालिकामा जानकारी गराएर सम्बन्धित परिवारसम्म सूचना पुर्याउने अभियान सामीले गरिरहेको छ', उहाँले भन्नुभयो, 'यही आधारमा आप्रवासी स्रोत केन्द्रको सम्पर्कमा आएका विद्यार्थी र अभिभावकलाई आवश्यक कागजपत्र सङ्कलनमा सहयोग गरी जिल्ला शिक्षा समन्वय एकाइमा पेश गर्ने काममा सहजीकरण गर्दै आएका छौँ ।'
वैदेशिक रोजगारीका कारण अभिभावकविहीन बनेका छात्रछात्राको पठनपाठनमा सघाउ पुर्याउने उद्देश्यका साथ बोर्डले आर्थिक वर्ष २०७६/७७ मा सुरक्षित आप्रवासन परियोजनासँगको समन्वयमा छात्रवृत्ति उपलब्ध गराएको कार्यक्रम संयोजक आचार्यले बताउनुभयो ।
बोर्डले वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ बमोजिम पीडित परिवारका कक्षा १ देखि कक्षा ८ सम्मका छात्रछात्रालाई जनही रु आठ हजार र कक्षा ९ देखि कक्षा १२ मा अध्ययनरत छात्रछात्रालाई जनही १२ हजार रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराएको हो ।
आव ०७६/७७ मा कक्षा ८ सम्मका २८ र सोभन्दा माथिका नौ जना छात्रछात्राले छात्रवृत्ति पाएका छन् । वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृति लिएर विदेश गएको अवस्थामा करार अवधिमा मृत्यु भएका, अङ्गभङ्ग वा अशक्त भएका तथा बेपत्ता भएका परिवारका बालबच्चाका लागि केही वर्ष अघिदेखि हरेक वर्ष शिक्षा विकास तथा समन्वय एकाइमार्फत छात्रवृत्ति रकम पठाउने गरेको छ ।
नेपाल सरकार र स्विट्जरल्यान्ड सरकार बीचको द्विपक्षीय सम्झौताबमोजिम हेल्भेटास नेपालको प्राविधिक सहयोेगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा १० स्थानीय तह रहेको खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सामी परियोजना सञ्चालन भइरहेको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धिमूलक बनाउने क्षेत्रमा काम गर्दै आएको परियोजना बाल सेवा समाजको सहजीकरण सञ्चालन भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।