जापान पठाइदिने भन्दै भ्रमपूर्ण प्रचार गर्नेहरुको विश्वासमा नपर्न मन्त्रालयको आग्रह

 साउन १०, २०७७ शनिबार १३:५०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

 

काठमाण्डौ – जापान पठाइदिने भन्दै भ्रमपूर्ण प्रचार गर्नेहरुको विश्वासमा नपर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ ।

नेपाल सरकार र जापान सरकारबीच भएको स्पेसिफाइड स्कील्ड वर्कर (एसएसडब्लु) प्रणाली अन्तर्गत जापान रोजगारीमा पठाइदिने भनेर केही जापानी भाषा प्रशिक्षण केन्द्र लगायत सीप प्रशिक्षण केन्द्रहरुले भ्रमपूर्ण प्रचार गरिरहेको भन्दै त्यस्ताको विश्वास नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

जापानमा रोजगारी प्राप्त गर्न जापानिज भाषा परीक्षा उत्तीर्ण गरेको र सम्बन्धित कार्यक्षेत्रको सीप परीक्षण प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने प्रावधान रहेको छ । त्यस अनुरुप दुवै परीक्षणहरु जापान सरकारकै तर्फबाट छनौट भएको जापान फाउण्डेसनले मात्र गरिरहेको मन्त्रालयले जनाएको छ ।

यसै प्रावधान अन्तर्गत जापानका रोजगारदाताहरु मार्फत नेपालबाट अहिले केयर गिभरको लागि केही मागहरु प्राप्त भएको छ । यसरी एसएसडब्लु प्रणाली अन्तर्गत जापान फाउण्डेशनले सञ्चालन गरेको भाषा र सीप परीक्षामा सहभागी भई उत्तीर्ण भएका उम्मेदवारहरु मात्र योग्य उम्मेदवार मानिने भएकाले भाषा केन्द्रहरुको भ्रममा नपर्न मन्त्रालयले सचेत गरेको छ ।

सन् २०१९ मार्चमा नेपाल सरकार र जापान सरकारबीच भएको एमओसी (सहयोग ज्ञापनपत्र ) अनुसार कामदार पठाउँदा वैदेशिक रोजगार विभागको जापान ईकाई मार्फत कामदार छनौट हुने व्यवस्था रहेको छ । कामदार छनौटको परीक्षण पद्धतिमा निजी क्षेत्रका विभिन संस्थाहरुको भूमिका समेत नहुने हुँदा यसका लागि रकम बुझाउनुको कुनै अर्थ नहुने मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार विभागबाट यथार्थ र आधिकारिक सूचना लिएर मात्र भाषा परीक्षा तथा सीप परीक्षणको तयारी गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया