कर्णाली प्रदेशले विदेशबाट फर्किएकालाई तत्काल काम दिने

 असार २१, २०७७ आइतबार १४:५८:३० | उज्यालो सहकर्मी

काठमाण्डौ – कर्णाली प्रदेशले विदेशमा रोजगारी गुमाएर खाली हात स्वदेश फर्किएकालाई तत्काल मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीमा जोड्ने भएको छ ।

प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले भारतसँगै तेस्रो देशबाट नेपालीहरु कोरोनाको कारण रोजगारी गुमेर स्वदेश फर्कने क्रम चलिरहेकाले उनीहरुलाई तत्काल रोजगारीमा जोड्न वडास्तरमै मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि चार अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो । 

‘यो वर्ष कर्णाली प्रदेशले महामारी, भोकमरी र रोजगारीलाई प्राथमिकतामा राखेको छ, प्रदेशमा कालापहाडबाट मात्रै एक लाख बेरोजगार भएर फर्कने अनुमान गरिएको छ,’ मन्त्री रावलले उज्यालाेसँग कुराकानी गर्दै भन्नुभयो, ‘उहाँहरुलाई हामी आफ्नै वडामा तत्काल रोजगारीमा जोड्ने र दीर्घकालीन रोजगारीका लागि योजना बनाइरहेका छौं ।’

कर्णाली प्रदेशमा ७१८ वटा वडा रहेका छन् । यी सबै वडामा नागरिकको श्रममार्फत पूर्वाधारको काम गर्ने स्थानीय सरकारको योजना रहेको छ । यी सबै वडामार्फत स्थानीयस्तरमा नै विदेशबाट फर्कनेलाई रोजगारीमा जोड्ने पालिकाको योजना रहेको छ । 

‘हामी तत्काललाई विदेशबाट फर्कनेलाई पूर्वाधार निर्माण लगायत छनोटमा परेका योजनाहरुमा काममा जोड्ने छौं, सबै काम श्रमशक्तिबाट गराउने र नागरिककै खातामा पारिश्रमिक दिने हाम्रो योजना छ,’ सामाजिक विकास मन्त्री रावलले भन्नुभयो । 

हवाइ र पैदलबाटो हुँदै अहिले विदेशमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्किरहेका छन् । महामारीको चपेटामा परेर फर्कनेलाई हातमा पैसा नभए पनि साथमा सीप र अनुभव हुनेलाई प्रदेशको विकासमा जोड्ने उहाँको भनाइ रहेको छ । 

प्रदेशले उद्यम गरिरहेका र गर्न खोज्ने,सीप र अनुभव भएकालाई अनुदानभन्दा पनि सहुलियत कर्जा दिएर काम गर्न थप सहज बनाउने उहाँले बताउनुभयो  ।

मन्त्री रावल भन्नुहुन्छ, ‘तपाईँहरु काम गर्छु भनेर योजना बनाउनुस् र थाल्नुहोस्, वातावरण र पुँजीमा प्रदेश सरकारले सहयोग गर्छ ।’ विभिन्न उद्योगसँगै प्रदेशको प्राकृतिक स्रोत र साधनलाई उपयोग गरेर दीर्घकालीन रोजगारीका योजनाहरु ल्याउने काम प्रदेश सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया