मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डौ – नेपालमा लकडाउनकाे अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई सय ३४ अन्तर्राष्ट्रिय उडान भएका छन् ।
लकडाउनकाे तीन महिनाको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रुले अन्तर्राष्ट्रिय विमानस्थलबाट आवत जावत गरेको विमानस्थलले जनाएको छ । यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन् ।
विमानस्थल कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार लकडाउनकाे अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चार्टर्ड गरी दुई सय ३४ अन्तर्राष्ट्रिय उडान भएका हुन् । यी उडानबाट ११ हजार दुई सय ८२ यात्रु र ३३ बच्चा नेपाल आएका छन् भने नेपालबाट १३ हजार एक सय तीन यात्रु तथा दुई सय ५६ बच्चा बाहिरिएका छन् ।
यो अवधिमा विभिन्न देशबाट चार लाख ९२ कार्गो नेपाल आएको छ । नेपालबाट पनि ४१ लाख ७२ हजार ७७ केजी कार्गो विभिन्न देश गएको जनाइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले मात्रै कार्गो चार्टर्ड र यात्रु चार्टर्ड गरी ५१ उडान गरेको छ ।
निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार निगमको २८ चार्टर्ड तथा सरकारको समन्वयमा विभिन्न देशबाट नेपाली फर्काउन मात्रै २३ उडान भएका छन् । यो आजसम्मको पूर्वनिर्धारित उडान हो । जुलाई महिनामा चार्टर्ड उडानको फेरि नयाँ उडान तालिका आउने निगमले उल्लेख गरेको छ । निगमपछि हिमालय एअरलाइन्सले धेरै अन्तर्राष्ट्रिय उडान गरेको छ । अन्तर्राष्ट्रिय एअरलाइन्समा कतार एयरवेजले सर्वाधिक उडान गरेको छ । जजिरा, टर्किस, एअर अरेबिया, कोरियनलगायत एअरलाइन्सले पनि नेपालमा चार्टर्ड उडान गरेका छन् ।
लकडाउनकाे असाधारण परिस्थितिमा निगमले एकैदिन आठ अन्तर्राष्ट्रिय उडान गरेको छ । कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले लकडाउन लागू गरेको तीन महिनाको अवधिमा नेपाली एअरलाइन्सको तर्फबाट यो सबैभन्दा बढी अन्तर्राष्ट्रिय उडान हो । निगमले कोभिडको त्रासमाझ शुक्रबार (जुन २६ तारिख) मात्रै आठ अन्तर्राष्ट्रिय उडान गरेको जनाएको छ ।
निगमको अपरेशन विभागका अनुसार निगमका दुई वाइडबडी र दुई न्यारोबडी जहाजले लकडाउनकाे अवधिमा शुक्रबार सबैभन्दा धेरै आठ उडान गरेका छन् । निगमको न्यारोबडी एअरबस ए ३२० जहाजले बहराइनमा दुई, हङकङमा दुई र मलेसियाको क्वालालम्पुरमा एक उडान गरेको छ । त्यस्तै वाइडबडी ए ३३० जहाजले क्वालालम्पुरमा दुई र साउदी अरेबियाको रियादमा एक उडान गरेको छ ।
असारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरन्तर अन्तर्राष्ट्रिय उडान भइरहेको छ । असारको पहिलो हप्तादेखि दैनिक १० देखि १६ अन्तर्राष्ट्रिय उडान भएको छ । शुक्रबारमात्रै १६ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । असार महिनाको सुरुदेखि नै विभिन्न देशबाट अलपत्र नेपाली धमाधम चार्टर्ड उडानमार्फत स्वदेश फर्किरहेका छन् ।
लकडाउनमा गएको चैत १९ निगमले सबैभन्दा लामो गन्तव्य अस्ट्रेलियकाे ब्रिस्बेन र वैशाख २४ गते सिड्नीमा चार्टर्ड उडान गरेको थियो । पछिल्लो पटक निगमको वाइडबडी जहाजले जेठ २६ मा अस्ट्रेलियाको राजधानी क्यानबेरामा चार्टर्ड उडान गरेको थियो । मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै झण्डै १२ देखि १३ घण्टाको उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो ।
अहिले विदेशमा अलपत्र नेपाली ल्याउने क्रममा निगमको वाइडबडी जहाजले केही दिनअघि सिड्नी र आज क्यानबेराबाट नेपाली ल्याएको छ । गएको चैत १० देखि नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने सबै एअरलाइन्सको उडान स्थगन गरिएको छ । आन्तरिकतर्फ पनि उडान अहिलेलाई स्थगित छ । पछिल्लो पटक असारको अन्तिम सातासम्म उडान प्रतिबन्ध कायम गरिएको छ ।
अहिले कुटनीतिक माध्यमबाट मात्रै चार्टर्ड उडान हुन्छ । पछिल्लो पटक सरकारले विभिन्न देशबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेको छ ।
चैत ११ देखि जेठ ३२ सम्म सरकारले देशभर लकडाउन गरेको थियो । असार १ देखि लकडाउन केही खुकुलो बनाइएको छ । अत्यावश्यक कार्यालय, उद्योग, कलकारखाना तथा बजारमात्र खुकुलो बनाइएको छ । यस्तो व्यवस्था असार २१ सम्मका लागि हो । त्यसपछि परिस्थिति हेरेर निर्णय हुने जनाइएको छ ।
निगमले यूएन मिसनमा उडान गर्दै
निगमले संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा रहेका विभिन्न देशमा चार्टर्ड उडान गर्ने भएको छ । आउँदो जुलाई ८ देखि शान्ति सेना लैजान र उताबाट ल्याउन दुईतर्फी चार्टर्ड उडानको तयारी भएको निगम उच्च स्रोतले जानकारी दिएको छ ।
निगमका वाइडबडी जहाजले कङ्गो, सुडानलगायत यूएन मिसन भएका देशमा चार्टर्ड उडान गर्ने तयारी भएको हो । यसैबीच निगमले कोभिड महामारीको विषम परिस्थितिलाई ध्यानमा राखी सेवामा खटिने सबै कर्मचारीको बीमा गरेको छ ।
कोभिड महामारीका बीच सञ्चालन भइरहेको अवस्थामा निगमका सबै कर्मचारीलाई कोरोनाको बीमाको व्यवस्था मिलाइएको निगमले उल्लेख गरेको छ । निगममा झण्डै एक हजार पाँच सय कर्मचारी कार्यरत छन् । निगमले अन्तर्राष्ट्रियतर्फ दुई वाइडबडी र दुई न्यारोबडी जहाज तथा आन्तरिकतर्फ नौ जहाजले उडान भर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।