नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
भोजपुर – कोरोनाका कारण बेरोजगारी बढेको बेला भोजपुरका रामबहादुर राई भने स्वरोजगार बन्नुभएको छ ।
लकडाउन भएपछि उहाँको घर वरपर मौरीका घार थपिएका छन् । मौरीको भुनभुनसँगै आफ्नो कर्मको संगीतमा रमाइरहनुभएको छ, रामबहादुर पनि ।
लकडाउनमा पनि राई दिनभर काम गर्नुहुन्छ । मौरीका घार बनाउन प्रयोग हुने औजारको साथ समृद्ध भविष्य कोर्नमै अचेल उहाँका दिन बित्छन् । अरु काम बन्द हुँदा के गरेर खाउँला भन्ने चिन्ता टरेको उहाँ बताउनुहुन्छ ।
आफ्नै बारी र नजिकैका जंगलमा उपलब्ध सुकेका काठ खोजेर ल्याउनु र मौरी पाल्नका लागि घार बनाउनु रामबहादुरको दिनचर्या बनेको छ । दुई महिना अघिसम्म राईका १३ वटा मात्रै मौरीका घार थिए । ती घारबाट उत्पादित मह उहाँ गाउँघरमै बेच्नुहुन्थ्यो । तर त्यो महले गाउँघरकै माग पनि धान्न सकिरहेको थिएन । तर पनि रामबहादुरले त्यतिबेला घारको संख्या बढाउन आवश्यक ठान्नुभएन । त्यति घार पनि रामबहादुरलाई धेरै जस्तो लाग्थे । जब लकडाउन भयो अनि खाली समयमा केही न केही त गर्नुपर्छ भनेर रामबहादूर घारको संख्या बढाउने काममा लाग्नुभयो ।
अहिले उहाँको घरमा ३० वटा मौरीका घार बनिसकेका छन् । घारको सङ्ख्यालाई बढाएर चाँडै एकसय जति पुर्याउने उहाँको लक्ष्य छ ।
लकडाउनले गर्दा रामबहादूरको आम्दानीका अरु बाटा बन्द भए पनि मौरीको मह बेचेर हुने आम्दानीको बाटो भने रोकिएन । दैनिक खेतीपाती र ज्याला मजदुरीमा बित्ने उहाँको समय मौरीका घार थप्नमा लागेको छ । मौरीका घारसँगै महको उत्पादन बढ्दा आम्दानी पनि बढेको उहाँ बताउनुहुन्छ ।
‘हिउँदका छ महिनामा एक एक किलो मह उत्पादन हुन्छ भने बाँकीका छ महिनामा एक घारबाट दुई किलो मह उत्पादन हुन्छ’, उहाँ गर्वका साथ भन्नुहुन्छ ।
रामबहादुरले एक किलो मह एक हजारमा रुपैयाँमा बेच्नुहुन्छ । लकडाउन सुरु भएको पर्सिपल्टैदेखि काम सुरु गरेर १७ घार थप्नुभएका राई लकडाउनलाई मौरी पालनको सोच साकार गर्ने मौकाको रुपमा लिनुहुन्छ ।
कम लगानी र थोरै मेहेनतमा पनि मौरी पालन गरेर राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।
उहाँ भन्नुहुन्छ, ‘थोरै लगानी र कम मेहनतमा राम्रो आम्दानी गर्न सकिने पेशा हो, यसले एक डेढ महिनामै उत्पादन दिन थाल्छ ।’
यही कारण आफू यसै पेशामा रमाएको उहाँ बताउनुहुन्छ ।
पहिले त रामबहादुरलाई आफूसँग भएका १३ वटा मौरी घार पनि बढी जस्तो लाग्थे । बरु ज्याला मजदूरी नै राम्रो माहुरीका घार बढाएर के नै कमाइ होला र भन्ने उहाँको सोच गाउँमा सञ्चालित वित्तीय साक्षरता कक्षा पछि परिवर्तन भयो ।
नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा स्थानीय सरकारहरुको नेतृत्वमा र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) को वित्तीय साक्षरता कक्षामा उहाँ सहभागी हनुभयो ।
वित्तीय साक्षरता कक्षाले उहाँलाई परिवार व्यवस्थित बनाउने, जीवनस्तर उकास्ने, सुखी भविष्य निर्माण गर्नको लागि विभिन्न उपायहरु सिकायो ।
गएको वर्षको माघ २१ गतेदेखि उहाँ वित्तीय कक्षामा सहभागी हुुनुभएको थियो । त्यही कक्षाले आफूमा व्यवसाय गर्नुपर्छ भन्ने सोच पलाएको रामबहादूर बताउनुहुन्छ ।
रामबहादुरसँग मौरीका १३ वटा घार त छँदैथिए । सिकाइको क्रममा वित्तीय साक्षरता सहजकर्ता र कक्षाका सहभागीहरुसँग छलफल गर्दा सबैैले उहाँलाई घार थप्न सुझाए । त्यसपछि त के थियो र, साथीभाइको हौसला र आफ्नो जाँगरले रामबहादुरले लकडाउन पनि नभनी घारका सङ्ख्या बढाउनतर्फ लाग्नुभयो ।
वित्तीय कक्षाले नै रामबहादूरलाई ऋण लिए व्यवसाय बढाउन सिकायो । त्यसपछि उहाँले गाउँकै एक सहकारीबाट ऋण पनि लिनुभयो । ऋण लगेको पैसा उहाँले मौरीका घार थप्ने र बाख्रा किन्ने काममा लगानी गर्नुभयो । ठूलो परिवार भएकोले आम्दानी बढी चाहिने हुँदा त्यसको लागि लगानी पनि बढाउनु परेको उहाँको भनाइ छ ।
वित्तीय कक्षाले रामबहादुरमा व्यवसाय गर्ने उपाय सँगसँगै घर व्यवहार चलाउने तरिका पनि सिकायो । यो कक्षामा बसेपछि ५२ वर्षको उमेरसम्म नसिकेको घर व्यवहारका तरीका अहिले सिकेको कुरा उहाँ गर्वका साथ बताउनुहुन्छ ।
‘कक्षाले परिवारभित्रै कामको बाँडफाँड गर्नुपर्छ भन्ने कुराको समेत महसुस गराएको छ’, उहाँ भन्नुहुन्छ, ‘पहिले आफ्नो काम र घरमा गर्ने निर्णयहरु एकलौटी गरिन्थ्यो । अब परिवारमा सबै विषयमा सल्लाह हुँदा धेरै सजिलो हुने गरेको छ ।’
परिवारसँगको सल्लाहपछि रामबहादूरले मौरीसँगै बाख्रा पालन पनि गर्ने सोच्नुभएको छ । ‘घारको कामसँगै बाख्राको खोर बनाउने काम पनि सबै मिलेर गरिरहेका छौं’, उहाँले उत्साहित हुँदै सुनाउनुभयो ।
मौरीका घार र बाख्राका खोरसँगै रामबहादुरका सपना पनि बढ्दै गएका छन् । उहाँको अनुहारको हौसला र उत्साहित बोली सुन्दा लाग्छ, रामबहादूर आफ्नो व्यवसायको आम्दानी बढाउने सोचमा हुनुहुन्छ ।
रामबहादुरको परिवारमा श्रीमती, छोराछोरी र बुहारी गरेर १० जना हुनुहुन्छ ।
गाउँमा आम्दानीको अरु बाटो नदेखेपछि ३ वर्ष पहिले उहाँको छोरी वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया जानुभयो । छोरीको कमाइ धेरै नभए पनि कहिलेकाहीँ घरखर्च भनेर पठाएको रकमले मौरी पालनमा सहयोग पुगेको उहाँ बताउनुहुन्छ । अहिले आफ्नो व्यवसाय बढेसँगै छोरीलाई पनि नेपाल बोलाउने रामबहादूरको इच्छा छ ।
‘अब छोरीलाई पनि यतै आएर दुःख गर्नुपर्छ भनेर सम्झाउँछु’, रामबहादूरले आफ्नो योजना सुनाउनुभयो, ‘पसिनासँगै आम्दानी पनि बढाउँछु ।’
(मनकला राई, हतुवागढी गाउँपालिकाकको नेतृत्वमा सञ्चालित सामी परियोजना अन्तर्गत वित्तीय साक्षरता सहजकर्ताको रुपमा कार्यरत हुनुहुन्छ ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।