प्रशान्त लिम्बूलाई साउदीबाट उद्धार गर्न ब्लडमनी सङ्कलन अभियान सुरु

 साउन १४, २०७५ सोमबार १४:२५:२२ | उज्यालो सहकर्मी

काठमाडौं – साउदी अरबमा ब्लडमनी तिर्न नसकेर नेपाल फर्किन नसकेका प्रशान्त लिम्बुका लागि ब्लडमनी सङ्कलन गर्न अभियान घोषणा भएको छ । 

प्रशान्तले चलाएको गाडीमा साउदीका नागरिकले चलाएको गाडी ठोक्किँदा त्यहाँका एक नागरिकले ज्यान गएको थियो । त्यही अभियोगमा साउदीको अदालतले दुई लाख २० हजार रियाल ब्लडमनी तिर्नुपर्ने निर्णय फैसला गर्‍याे । 

त्यसमा लाइसन्स नदिई गाडी चलाउन लगाउने कम्पनी पनि दोषी भएको भन्दै ब्लडमनीको आधा अथवा एक लाख २० हजार रियाल कम्पनीले तिर्नुपर्ने निर्णय सुनाएपछि प्रशान्त एक लाख २० हजार रियाल ब्लडमनी तिर्न नसकेर नेपाल फर्किन नसक्नुभएको हो । 

उहाँलाई फर्किन चाहिने त्यही एकलाख २० हजार रियाल अथवा ३५ लाख रुपैयाँ जुटाउन प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले ब्लडमनी सङ्कल अभियान घोषणा गरेको हो । ब्लडमनी संकलनका लागि ग्लोबल आईएमई बैंकमा ३९०१०१०००००४०९ खाता खाेलिएकाे छ । 

ब्लडमनी सङ्कल अभियान घोषणा गर्न गरिएको कार्यक्रममा प्रशान्तका बुवा उत्तरसिंह लिम्बुले छोरालाई घर फर्काउन सहयोग गरिदिन आग्रह गर्नुभयो । प्रशान्तका श्रीमती कमला लिम्बुले श्रीमानको उद्धारका लागि आफूहरु एक वर्षदेखि पठाउने म्यानपावरदेखि वैदेशिक रोजगार विभागसम्म पुगेपनि सहयोग नपाएको गुनासो गर्नुभयो । 

झापाको बुद्धशाान्ति गाउँपालिका–४ का प्रशान्त जुलाई २०१६ मा ड्राइभरको भिसामा साउदीको कारम अल खालिज कम्पनीमा जानुभएको हो । त्यहाँ पुगेको आठ महिनामा नै एक छोराका पिता २६ वर्षे प्रशान्तलाई आपत आइलाग्यो । 

ट्रायल समेत नगराई कम्पनीले प्रशान्तलाई गाडी चलाउन लगाएको थियो । २९ अप्रिल २०१७का राति उहाँ गाडीमा सामान लोड गरेर गन्तव्यतिर जाँदै हुनुहुन्थ्यो । रियादको धुर्मा पुग्दा प्रशान्तले चलाइरहेको ट्रकमा पछाडिबाट कार ठोक्कियो । कार चालक साउदी नागरिक थिए । दुघर्टनामा उनको ज्यान गयो । 

नेपाली दूतावासका कारण प्रशान्तले ब्लडमनी र क्षतिपूर्तिका लागि तोकिएको आधा मात्रै पैसा तिर्नुपर्ने भयो । यो बाहेक दूतावासले प्रशान्तका लागि तत्कालै गर्न सक्ने केही काम छैन । कन्सुलर सेवा विभागलाई पत्र पठाएर दूतावासले आवश्यक जानकारीका लागि भन्दै फैसलाको सारांश पठाएको छ । 

दुघर्टनामा साउदी नागरिकको मृत्यु भएपछि प्रशान्तलाई प्रहरीले पक्राउ गर्‍यो र मलास जेलमा थुनामा राख्यो । १३ फेब्रुअरी २०१८ मा उहाँ जेलमुक्त हुनुभयो । जेलमुक्त हुनु एक महिना अगाडि अदालतले प्रशान्त र उहाँ कार्यरत कम्पनीलाई दुघर्टना हुनुमा ७५ प्रतिशत दोषी ठहर गर्‍याे । 

प्रशान्त र उहाँ कार्यरत कम्पनीले दुईलाख २५ हजार रियाल ब्लडमनी र गाडीको क्षतिपूर्तिबापत १५ हजार रियाल तिर्नुपर्ने भयो । ब्लडमनी र क्षतिपूर्ति बापतको दुई लाख ४० हजार रियाल (झण्डै ७० लाख रुपैयाँ) मध्ये आधा रकम अथवा एक लाख २० हजार रियाल प्रशान्तले तिर्नुपर्ने भयो । त्यो पैसा तिर्न नसक्दा उहाँ फर्कन नपाउनु भएको हो ।

प्रशान्तलाई सहयोग गर्न अभियान सुरु भएको जानकारी गराउँदै पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले यसअघि जस्तै संस्थाको अभियानमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । किराँत याक्थुम चुम्लुङ, काभ्रे सेवा समाज र नेपाली प्रवासी समाजले अभियानमा ऐक्यबद्धता जनाउने सहयोग गर्ने घोषणा गरेका छन् । 

यस अघि साउदीमा ब्लडमनी तिर्न नसक्दा समस्यामा परेका थानेश्वर भुषालको पीएनसीसीको पहलमा उद्धार भएको थियो । 
 

यो पनि पढ्नुहोस् । 

साउदीमा नेपाली ड्राइभरको व्यथा स् पैंतीस लाख रुपैयाँ तिर्न नसक्दा मरुभूमिको बास

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया