साउदीमा कार्यरत श्रमिकका समस्या समाधान गर्न प्रयासरत छौं : राजदूत सिंह

 वैशाख १९, २०७७ शुक्रबार २०:३९:५८ | उज्यालो सहकर्मी

काठमाण्डौ – साउदीका लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले कोरोना भाइरस कोभिड–१९ का कारण साउदीमा समस्यामा परेका श्रमिकका समस्या समाधान गरिरहेको बताउनुभएको छ ।

कोरोनाका कारण मनोवैज्ञानिक सन्त्रास भए पनि विकराल अवस्था भइनसकेको र समस्यामा परेका श्रमिकलाई दूतावासले पूर्ण रुपमा सहयोग गरिरहेको राजदूत सिंहले बताउनुभएको हो ।

‘हामीले तपाईँहरुलाई परेको समस्या के हो, कहाँ हुनुहुन्छ, अवस्था कस्तो छ, खुलस्त भन्न भनेका छौं,’ राजदूत सिंहले भन्नुभयो, ‘दुईजना कर्मचारी श्रमिकको गुनासो सुन्नकै लागि खटाइएको छ ।’

कोरोनाका कारण केही समस्या बढे पनि विकराल अवस्था भइनसकेको उहाँ बताउनुहुन्छ ।

साना कम्पनी, साना होटल लगायतका कामहरु बन्द हुँदा त्यहाँ कार्यरतलाई खान बस्नको समस्या छ ।

त्यस्ता कम्पनीमा कार्यरत श्रमिकलाई दूतावासले खाद्यान्नको व्यवस्था गरिरहेको पनि राजदूत सिंहले बताउनुभयो ।

कोरोनाको जोखिम बढेसँगै दूतावासमा फोन सम्पर्क गरेर आफ्नो समस्या राख्ने श्रमिकहरु पनि बढेका छन् । उहाँका अनुसार दूतावासमा दिनमा १५० देखि २०० वटासम्म फोन आउने गरेको छ ।

समाधान खोज्न नियमित छलफल

साउदीमा श्रमिकलाई परेका समस्याको समाधान सामूहिक रुपमा खोज्नका लागि गैरआवासीय नेपाली संघ, विभिन्न नेपाली समुदायसँग भिडियो कन्फ्रेन्सका माध्यमबाट छलफल भैरहेको पनि राजदूत सिंहले बताउनुभयो ।

खाद्यान्न लगायतका समस्या समाधान गर्न गैरआवासीय नेपाली संघदेखि विभिन्न नेपाली समुदायसँग मिलेर पनि समस्याको समाधान गरिरहेको राजदूत सिंहले जानकारी दिनुभयो ।

‘अहिले हामीले समस्यामा पर्ने नेपालीहरुको तथ्याँक सङ्कलन पनि गरिरहेका छौं,’ राजदूत सिंहले भन्नुभयो ,‘तपाईँहरुलाई के समस्या परेको छ, कुन म्यानपावरमार्फत आउनुभएको हो, कम्पनी कुन हो, अहिलेको अवस्था के छ, हामीलाई भन्नुहोस्, समाधानको पहल हामी गर्छौं ।’

साउदीमा अहिलेसम्म कोरोना सङ्क्रमित ६ जना नेपाली श्रमिक निको भइसकेका छन् । साउदी सरकारले कोही श्रमिकलाई कोरोना सङ्क्रमण भएमा उसको कानुनी अवस्था नहेरी निःशुल्क र आफ्ना नागरिक सरह नै उपचार गरिरहेको छ । कोरोनाका कारण संसार नै प्रभावित भइरहेको बेला नआत्तिन र समस्या परेमा दूतावासमा सम्पर्क गर्न राजदूत सिंहको आग्रह छ ।

साउदीले कोरोना सङ्क्रमण रोकथामका लागि विभिन्न क्षेत्रमा करफ्यु नै जारी गरेको छ । साउदीले जारी गरेका नियम मान्न, आफ्नो वासस्थान नछाड्न र समस्या परेका दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गर्दै आएको छ ।

 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया