त्रिभुवन विश्वविद्यालयमा अब श्रम शिक्षा पनि पढाइ हुने

 कात्तिक ४, २०७६ सोमबार १७:२८:२५ | उज्यालो सहकर्मी

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले आउँदाे शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धी पाठ्यक्रम पनि अध्यापन गराउने भएको छ ।

सत्तारुढ दल नेकपा निकट मजदुर संगठन जिफन्टको पहलमा यस विश्वविद्यालयअन्तर्गतको मानविकी संकायको स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धी छुट्टै पाठ्यक्रमको अध्यापन आउँदाे शैक्षिक सत्रबाट सुरु हुने भएको हो ।

सोमबार जिफन्टले काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक केशवप्रसाद अधिकारीले श्रमिकहरुलाई दक्ष बनाउन तथा उनीहरुलाई सम्मानका साथ स्वदेशमै रोजगारीको अवसर सृजना गर्न श्रम शिक्षा सम्बन्धि छुट्टै पाठ्यक्रम अध्यापन गराउने तयारी गरिएको जानकारी दिनु भयो ।

उहाँले त्यसका लागि विश्वविद्यालयले छुट्टै विभाग र पाठ्यक्रमको पनि निर्माण गरिसकेको बताउनुभयो । उहाँले पाठ्यक्रममा नेपाली श्रमिकहरुको अवस्था, उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि गर्नुपर्ने पहल लगायतका विषयबस्तुहरु समावेश गरिएको पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकहरुका लागि सम्मानजनक ढंगले रोजगारीको व्यवस्थापन गर्न विश्वविद्यालयको स्नाकोत्तर तहमा पनि श्रमिक शिक्षासम्बन्धी छुट्टै अध्यापन गर्न पहल गरिएको बताउनु भयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट प्राप्त हुने जनशक्ति देशका लागि र सबै श्रमिक संगठनहरुका लागि उपयोगी हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

जिफन्टले श्रमिकहरुको दक्षता वृद्धिका लागि विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म छुट्टै श्रमिक शिक्षा अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको थियो ।

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया