विद्युत कार्यालयको लापर्बाहीकै कारण अकालमै जान्छ धेरैको ज्यान

 असार २१, २०७५ बिहीबार १७:६:२६ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे : मंगलबार करेन्ट लागेर ज्यान गुमाएका ४ जनाको सामूहिक अन्त्येष्टि

डोटी – डोटीमा बर्सेनि करेन्ट लागेर सर्वसाधारणको ज्यान जाने गरेको छ ।

कहिले विद्युत कार्यालयको कमजोरीले त कहिले सर्वसाधरणकै लापर्बाहीले करेन्ट लागेर डोटीमा पनि धेरैको ज्यान गएको छ ।  जिल्ला प्रहरी कार्यालय डोटीको तथ्यांक अनुसार २०७१ सालपछि मात्रै डोटीमा १० जनाको करेन्ट लागेर ज्यान गएको छ ।

अधिकांश दुर्घटनाहरुमा विद्युत कार्यालयकै कारण भएको देखिएको छ । २०७१ सालमा सायल गाउँपालिकाको वडा नम्बर–१, खातीवडाका भानबहादुर साउदको भुइँमा खसेको विद्युतको तार छुँदा घटनास्थलमै ज्यान गएको थियो । लत्रिएको तार व्यवस्थापन गर्न पटक–पटक आग्रह गर्दा पनि विद्युत कार्यालयले सुनुवाई नगर्दा उहाँको ज्यान गएको हो । 

त्यस्तै २०७१ सालकै फागुनमा विद्युत कार्यालयकै लापर्बाहीले विद्युत कार्यालयका कर्मचारीको काम गर्दागर्दै ज्यान गयो । बाजुरा गोत्री घर भई दिपायलमा रहेको विद्युत कार्यालयमा करार सेवामा काम गर्ने राजेन्द्र खत्रीले जिजौडामाडौंमा विद्युत लाइन तान्नका लागि पोलमा चढेका बेला कार्यालयबाट करेन्ट छोडिदिएपछि ज्यान गएको थियो ।

२०७३ सालमा डोटीकै दिपायल–सिलगढी नगरपालिका पाकरीमा इन्सुलेटर पड्केर तार झर्दा  विद्यालय गइरहेका दुई बालिकाको ज्यान गएको हो भने ४ जना घाइते भएका थिए । 

त्यस घटनामा दिपायल–सिलगढी नगरपालिका पाकरीका गणेश आउजीका छोरीहरु १० वर्षीया रोजा आउजी र ८ वर्षीया रेश्मा आउजीको ज्यान गएको थियो । त्यही गाउँकी १० वर्षकी कालु आउजी, ८ वर्षकी इश्वरा आउजी, १० वर्षकी सन्तु आउजी, ७ वर्षकी सीता आउजी घाइते भएका थिए । 

गएको जेठमा सेती प्राविधिक शिक्षालयका एक विद्यार्थीहरुको क्रिकेट खेल्ने क्रममा हाइटेन्सन लाइनको तार छुँदा घटनास्थलमा नै उनको ज्यान गयो । पर्खालबाहिर रहेको क्रिकेटको बल ल्याउन पर्खाल नाघ्न खोज्न हाइटेन्सनको लाइन छोएर बालकको ज्यान गएको हो ।

मंगलबार बेलुकी मात्रै आदर्श गाउँपालिकाको वडा नम्बर–१, चासीमा चार युवाको ज्यान गयो । आफै पोल सार्न खोज्दै गर्दा उनीहरुको ज्यान गएको हो । स्थानीयले विद्युत कार्यालयलाई पटक–पटक त्यो पोल सार्न जानकारी दिँदा पनि सुनुवाई नगरेपछि युवाहरु आफै पोल सार्न अग्रसर भएका स्थानीय भरतबहादुर खड्काले जानकारी दिनुभयो । 

मंगलबार पनि विद्युत कार्यालयका फिल्डमा खटिने कर्मचारीलाई स्थानीयले पोल सार्नका लागि जानकारी दिए पनि कर्मचारीले आफैले पोल सार्न आदेश दिएका थिए । यद्यपि विद्युत कार्यालयले पोल सार्नेबारे आफूलाई कुनै जानकारी नदिएको दाबी गरेको छ । विद्युत काट्ने कुरामा स्थानीय युवा र विद्युत कार्यालयको समन्वय हुन नसक्दा चार जना युवाले अनाहकमा ज्यान गुमाउन पुगे  ।

करेन्ट लागेर धेरैको अकालमा ज्यान जाने गरेको भए पनि विद्युत कार्यालयको लापर्बाही भने अझै सुध्रिएको छैन । केआईसिंह गाउँपालिकाको लेकगडामा रहेको वडा कार्यालय अघि ट्रान्समिटरमा जडान गरेको फ्यूज तार अहिले पनि नाङ्गै छ । साना बालबालिकाले पनि नाङ्गो तार छुन सक्ने भएकाले करेन्ट लाग्ने सम्भावना बढी रहेको स्थानीय टेकबहादुर रावलले गुनासो गर्नुभयो । उहाँले पटक–पटक फ्यूज छोप्ने ढकन लगाइदिन आग्रह गरे पनि सुनुवाई नभएको बताउनुभयो ।

विद्युत कार्यालयमा भएको न्यून जनशक्ति, पुराना उपकरण, कर्मचारीहरुको लापर्बाही तथा सर्वसाधारणसँग जनचेतनाको अभावका कारण बर्सेनि सर्वसाधारणको ज्यान जाने गरेको छ । जनचेतनाका नाममा विद्युत कार्यालयले औपचारिकता मात्र पूरा गर्ने गरेको स्थानीयको आरोप छ ।

विद्युत कार्यालय दिपायलका प्रमुख बुद्धिनाथ झाले विद्युत कार्यालयका केही कमजोरी भए पनि सर्वसाधरणले समेत सचेत हुन जरुरी रहेको बताउनुभयो । झाले त्यस्ता घटना दोहोरिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिनुभएको छ ।

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया