न्यूनतम मापदण्ड पनि पूरा गरेनन् डोटीका व्यावसायीले

 असार १६, २०७५ शनिबार १७:४६:३८ | विमल बिष्ट

डोटी – बेला–बेलामा गरिने बजार अनुगमन प्रभावकारी नभएपछि दिपायल–सिलगढी नगरपालिकाले अनुगमनलाई नियमित बनाएको छ ।

नगरपालिकाका विभिन्न बजार क्षेत्रमा भएका अधिकांश पसल तथा व्यवसायीहरुले न्यूनतम मापदण्ड समेत पूरा नगरेपछि अनुगमनलाई तीव्रता दिइएको नगरपालिकाले जनाएको छ । 

दिपायल सिलगढी नगरपालिकाले अनुगमन मातहतको सहकार्यमा मासु पसल, किराना पसल, होटल व्यवसायलगायतमा अनुगमन तीव्र बनाएको हो ।

‘दर्ता गर्नु पर्ने, कर तिर्नु पर्नेजस्ता न्यूनतम मापदण्ड पनि पूरा गरेका छैनन्, त्यसैले अनुगमनलाई निरन्तरता दिएका छौं’, दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले भन्नुभयो, ‘अनुगमन गरिरहेका छौं, न्यूनतम मापदण्ड पूरा नगर्नेलाई कानुनी कारबाहीको दायारामा ल्याउने छौं ।’ 

यो नगरपालिकाले धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनका विरुद्ध जनचेतना जगाउँदै यस्ता वस्तुको बिक्री खुल्ला रुपमा नगर्न निर्देशन जारी गरेको छ । 

अनुगमनमा व्यवसाय दर्ता नवीकरण भए-नभएको, साइन बोर्ड राखिएको-नराखिएको, मूल्य सूची नभए-नभएको, नापतौल प्रमाण पत्र भए-नभएकोलगायतका ११ वटा सूचकलाई आधार बनाएर बजार अनुगमनलाई तीव्रता दिइएको नगरपालिकाका प्रशासकीय अधिकृत भोजराज शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बजारमा सबै वस्तुको मूल्यको एकरुपता होस्, ग्राहक नठगिउन् भन्ने हेतुले अनुगमनलाई तीव्रता दिईएको हो,गलत भेटिए कारबाही हुन्छ ।’ डोटीका प्रमुख व्यापारिक केन्द्रहरु दिपायल, पिपल्ला, राजपुर तथा सिलगढी क्षेत्रमा रहेका पसलहरुमा पसलै पिच्छे विभिन्न उपभोग्य वस्तु तथा अन्य सामानको मूल्य फरक फरक भएको स्थानीयबासीको आरोप छ ।

त्यस्तै विभिन्न खाद्य पदार्थमा कुनै अवाञ्छनीय मिसावट भए-नभएको, खाद्य पदार्थमा रहेको स्वाभाविक गुण वा उपयोगिता घटाइएको वा स्वभाविक छोडिएको, मानिसले खाने, पिउने, अप्रशोधित, अर्ध प्रशोधित, प्रशोधित वा उत्पादित खाद्य वा पेय पदाथर्, खाने पिउने पदार्थमा प्रयोग गरिने मरमसलाको प्रयोग लगायतका विषयमा अनुगमन शुरु गरेको हो । 

खाद्य योगशील रंग, सुगन्धले स्वास्थ्यमा हानी हुने गरी सडेको गलेको वा फोहरमैला विषाक्त अवस्थामा राखिएको वा तयार गरिएको, अन्य मिश्रण राखिएको जस्ता विषयमा अनुगमनले निगरानी गर्ने दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले जानकारी दिनुभयो । 

नगरपालिकाको नेतृत्वमा शुरु भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पशु सेवा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, र उपभोक्ताको तर्फबाट उपभोक्ता मञ्चका अधिकारीहरु सहभागी भएका छन् ।


 

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया