यू–१९ एशिया कप : नेपाल लगातार दाेस्राे खेलमा पराजित
मंसिर १६, २०८१ आइतबार
सलल बगेको छ, नदी । आडैमा मन्दिर । परेवी जोडी आफ्नै सुरमा चारो टिप्दै छन्, मन्दिर आँगनीमा । मन्दिरको दायाँपट्टी छ, एउटा लाकुरीको बोट । मन्दिर र लाकुरी बीचको दूरी खासै दूर छैन ।
लाकुरीको फेँदमा बस्न मिल्ने गरी सर्लक्क बिच्छ्याइएको छ, ढुंगा । हिउँदको समय छ । तर आज खासै मौसम खुलेको छैन । रमेको छैन । जसरी उसको मन खुलेको छैन । रमाएको छैन ।
मध्यान्ह समय । लाकुरीको फेँदमा बिच्छ्याईएको छेउको ढुंगा फूफू ...गरेर टुसुक्क बस्छ उ ।
गोलो अनुहारको उ खासै गोरो पनि छैन । खासै कालो पनि होईन । गहुगोरो वर्णको छ । ठीक्कको कद । झट्ट हेर्दा ‘खाउँखाउँ लाउँलाउँ’ भन्ने उमेरको देखिन्छ उ ।
उ अर्थात् रोज । लाकुरी फेँदमा बस्न नपाउँदै लामो सुस्केरा हाल्न थाल्छ रोज ।
मौसम खुलेको छैन । तर शिरशिर बतास भने चलिहरेको छ, एकतमासले । जसरी रोजको मनमा उसकोप्रियसीको यादको हुरी चलेको छ ।
रोजको नजर भने कैले लाकुरी फेदबाटै तल आफ्नै सुरमा बगेको नदीतर्फ छ त कैले मन्दिरतिर ।
* * * * *
कलकल बगेको यो नदी । यो मन्दिर । आफू बसिरहेको यो लाकुरीको चौतारीसँग उसको निकट सम्बन्ध छ । उसका लागि यी चिजहरु निकै निकै प्यारा छन्, भावनात्मक रुपमा ।
यी ची भन्दा कयौँ गुना प्यारी छिन् । निकट छिन् उनी । उनी अर्थात् रोजी ।
मनले चाहेको, मनैले माया गरेको प्रिय मान्छेलाई मुटुभित्र लुकाउँछन् । सजाउँछन् ।
उसैगरी रोजले पनि निकै जतन गरी सजाएको थियो रोजीलाई, दिलको कुनामा ।
अझै पनि रोजको दिलको सिंहासनमा विराजमान भई बसेकी छे रोजी ।
* * * * *
त्यसो त उसले रोजीलाई नदेखेको, उसँग नभटेको, नबोलेको पनि वर्षाैँ बितिसक्यो । वर्षौदेखि रोजी रोजदेखि निकै टाढा छे ।
तर अझै रोजको मुटुको सबैभन्दा नजिक रोजी नै रोजी भेटिन्छे । अझै उसको दिलमा रोजी नै धड्कन्छे ।
बाध्यताले आफूबाट आफूलाई असाध्यै माया गर्ने रोजी पराइ भएको पनि उसलाई राम्रोसँग थाहा छ । र त रोज आज पनि रोजीलाई उही र उस्तै चोखो, मिठो माया गरिरहन्छ । हिजो रोजीसँग बिताएका पल, उसँग गरेका प्रितका बात उसलाई जाती लाग्छ । मिठो लाग्छ । निको लाग्छ ।
उसैगरी यो नदी, मन्दिर अनि चौतारी । किनकि उसको चोखो मनको प्रितका साक्षी हुन्, यो चौतारी, यो मन्दिर अनि यो नदी ।
* * * * *
मलिन चेहेरामा सोचमग्न भएर बसेको रोज । दाहिने हात आफ्नो पाइन्टको पछाडिपट्टिको खल्तीमा लैजान्छ । कालो रंगको पर्स निकाल्छ । पर्सको भित्री कोठामा रहेको एउटा सानो साइजको फोटो निकाल्छ ।
पिपलपाते ओठ । ओठमाथि लाली । लाली ओठमाथि एउटा सानो कालो कोठी । काला ठूला आँखा । गाजलले सजिएका लामा काला परेला । लरक्क परेका कालै केश । अनि गिज्जै देखिनेगरी मुस्कुराएको सुन्दर उही रोजीको फोटो । एकोहोरिएर हेरिरहन्छ उ ।
फोटो हेर्दै गर्दा, हात समाउँदै, किनारा लाग्दै बगेका चिसो पानीमा पाउ चोपल्दै खुशीले रमाएकी । लजाउँदै, मुस्कुराउँदै आफूतिर हेर्दै गरेकी रोजीलाई खुबै ‘मिस’ गर्छ, रोज यसपल । हुन त रोजले रोजीलाई नसम्झेको पल नै कहाँ छ र !
त्यसैपल रोज विगतमा फर्कन्छ ।
बगेको खोली देखाउँदै मायालु पारामा रोजी भन्छे, ‘हामी पनि सँगसँगै खोलाको पानीझैँ सलल बग्न पाए । उ हेर न । उ त्यो आकाशमा उडेको जोडी पंक्षीझैँ भुरुरु उड्न पाए । कति रमाइलो हुन्थ्यो होला है !’
‘उम्...,’ रोज भन्छ ।
लगत्तै, हात समाउँदै मन्दिरमा आई दुई हात जोड्दै, आँखा चिम्लदैँ भगवानसँग एक–अर्कालाई माग्छन् । एकले अर्कोलाई कैल्यै नछोड्ने वाचा गर्छन् । अनि एकैछिनमा उनीहरु लाकुरी चौतारीमा आउँछन् ।
प्यारप्यार बोलिरहने रोजी यसपल केही बोलेकी छैन । आफूले साइडमा भिरेको खैरो रंगको ब्यागभित्रबाट एउटा रातो रुमाल निकाल्छे ।
‘रोज, अब एउटा गेम खेलुम है ?’ उ आग्रह गर्छे ।
केही बोल्दैन रोज ।
रोज बोल्नमा हैन रोजीलाई एकोहोरो हेर्नमै व्यस्त छ ।
आफ्नो आग्रहको बेवास्ता गरेझैँ ‘फिल’ गर्छे रोजी ।
अनि अलि कड्केर भन्छे, ‘ए रोज के हेरेको यसरी ! कैले’नि नदेखेको जसरी । एउटा गेम खेलुम् न है प्लिज, प्लिज, प्लिज ।’
‘ओके हुन्छ !’, रोजीको जिद्धीपनलाई मिठो मान्दै मुस्कुराउँदै रोजीको आग्रह स्वीकार्छ रोज ।
‘मलाई हेरेर पुग्यो ल अब उता फर्क त !,’ माया मिसाउँदै रोजी भन्छे ।
मायालु भावमा थोरै शंकाको रंग घोल्दै रोज भन्न पुग्छ, ‘ल किन, मलाई उता फर्कन लगाएर, यताबाट भाग्ने विचार छ कि क्या हो !’
‘ह्या... तिमी नि, केके सोच्न, भन्न सक्छ के यो मान्छे पनि ! ल उता फर्क त,’ नाक खुम्च्याउँदै रोजी रिस पोख्छे ।
‘ओके बाबा म फर्केँ ल । अब त खुश् !,’रोज रोजीको अनुरोध मान्छ । अघि ब्यागबाट निकालेको रुमाल रोजको आँखा छोपिने गरी बाँध्दै खेल्न लागेको खेलबारे बताउँछे रोजी ।
‘ल रोज मैले तिम्रो आँखा छोपिदिएँ । अब म लुक्छु । तिमीले बन्द आँखाले मलाई पहिल्याउनु पर्छ है !’ ‘म आँखा खोल्दा होस् या बन्द गर्दा तिमीलाई देख्न सक्छु । यो मन, मुटु, मस्तिष्कमा छ्यौ तिमी । मेरा अंग–अंगमा सजिएकी छ्यौ । नशा–नशामा बगेकी छ्यौ,’ प्रितको भावको पोको फुकाल्छ रोज ।
अनि केही निराशा भावमा रोज थप्छ, ‘साँच्चै, एकैपल तिमीलाई आँखा अगाडि देख्न नपाउँदा छटपटी हुन्छ । नरमाइलो लाग्छ । यदि केही कुनै कारणले जीवनमा एक–अर्काबाट अलग हुनुपर्यो । छुट्टिनुपर्यो भने ! म तिमीबिनाको जीवन कल्पना गर्न सक्दिनँ ।
तिमीबिना जसोतसो बाँच्न त सकुँला । तर खुशीसाथ जिउन पक्कै सक्दिनँ रोजी । कैल्यै तिमी यो दिल, यो नजर अनि यो जीवनबाट कैल्यै टाढा नभइदेउ है !’
केही माया । केही निराशा भाव पोख्दै रोजको मुखबाट यी कुरा सुन्दै गर्दा पत्तै नपाई रोजलाई अँगाल्न पुग्छे रोजी । आफूभन्दा विपरीत दिशातर्फ फर्किएको रोजलाई आफूतर्फ तान्दै, रोजको छातीमा टाउको बिसाउँदै अँगाल्छे रोजलाई । केही बोल्दिन ।
यतिबेला उसँग बोल्नका लागि कुनै शब्द नै हुँदैन ।
छातीमा टाँसिएकी रोजीलाई अँगाल्दै रोज भन्छ, ‘साँच्चै तिम्रो औधी माया लाग्छ । तिमीलाई साथमा पाउँदा, यसरी नै तिम्रो मायामा हराउन पाउँदा सारै खुशी मिल्छ । रमाइलो लाग्छ । आफूले बाँचेको जीवन मिठोमिठो, प्यारोप्यारो लाग्छ । त्यसैले कैलै टाढा भई नजानु है ?’
अघि थप्छ रोज, ‘रोजी चोखो मनले माया लगाएका छौँ । मायाको खेलमा एउटाले जित्ने, एउटाले हार्ने, एउटा रुने, अर्को हाँस्ने दिन कैले नआओस् । हार्दा संगै हारुँला । जित्दा संगै जितुला । दुःख–सुख आपसमा बाँड्दै हाँसीखुशी जीवन जिउँला ।’
रोजीले रोजको आँखामा बाँधिएको रुमाल फुकालिदिन्छे । ‘मुटुबिना अलग्गिएर कोही बाँच्न सक्छ र रोज ! तिमीबाट छुट्टिएर बाँच्न, हाँस्न सक्ने छैन म,’ बस् यत्ति भन्छे रोजी ।
उसको कुराले आफ्नो प्रेममा ऊर्जा थपिएको महसुस गर्छ, रोज । अघिको रुमाल रोजको हातमा थमाउँदै रोजी चञ्चले पारामा भन्छे, ‘यो तिम्रो लागि । सानोसानो कुरामा नि मन दुखाउँछौँ । सानोसानो कुरामा नि रुन्छौ रुन्चे । आँशु झार्दा आँशु पुछ्न काम लाग्छ यो रुमाल तिम्लाई, म नहुँदाको बेला ।’
रोजीको कुरा सुनेर मुसुक्क मुस्कुराउँछ रोज । हाँसोमा हाँसो मिलाउँछे रोजी पनि । ‘अब घर फर्कुम् होला । ढिला भइसक्यो,’ दाहिने हातमा बाँधिएको गुलावी रंगको घडी हेर्दै रोजी भन्छे ।
सँगसँगै हाँस्दै, जिस्कँदै उनीहरु माथि डाँडासम्म आइपुग्छन् । फेरि भेटिने वाचा गर्दै उनीहरु छुटिट्न्छन् । यसरी बेलाबखतको भेटघाट । कुराकानी गर्दै उनीहरुको प्रेम अघि बढिरहन्छ ।
तर केही महिनामै आफ्नो प्रिय मान्छे रोजी पराइको सिन्दुर पहिरेर आफूबाट टाढा भएको रोजले थाहा पाउँछ । रोजीले त यसबारे उसलाई बताइन । तर साथीहरुबाट रोजी सदाका लागि आफूबाट टाढा भएको खबर उसले पाउँछ ।
माया गर्नेे मनले आफ्नो मान्छेको बैगुन पनि गुन सम्झँदो रैछ । त्यसैले, ‘बाध्यताले टाढा हुनु पर्यो होला बरा !’ भनेर चित्त बुझाउँछ रोज ।
* * * * *
रोजीको यो पुरानो फोटो हेर्दाहेर्दै, विगत सम्झदासम्झदैँ आफ्नै आँखाको आँशुले आँखाको डिल भासिएको पत्तै पाउँदैन रोज । रोजीसँग भेटेको, बालेको, संगै जिउने, मर्ने कसम खाएको, मनमुटु साँटेको आज अतित भइसक्यो । र पनि उसलाई ती याद अझै ताजा लाग्छ । प्यारो लाग्छ । उसैगरी अझै चोखो मनले माया गरिरहन्छ, रोजीलाई बिना कुनै श्वार्थ ।
रोजले ‘दिलको घाउ’ सुम्सुम्याउँदै–सुम्सुम्याउँदै बाँचेको पनि वर्षौं भइसक्यो । रोजीलाई नदेखेको, नभेटेको, उसँग नबोलेको नि वर्षौं भइसक्यो । तर मायामा एकरति पनि कमी छैन । पहिले जत्ति माया गर्दथ्यो, त्यो भन्दा कयौँ गुना धेरै माया गर्छ आज पनि रोजीलाई रोज ।
भित्रभित्रै जल्यो । दुख्यो । रोयो । तर कैल्यै गुनासो गरेन । दुःखेसो गरेन । कहिल्यै आँशु देखाएन कोही सामु रोजले । बस् ! चोखो मनले टाढैबाट माया गरिह्यो । सुखखुशी चिताइरह्यो रोजीको ।
‘पाउनु, गुमाउनु अलग कुरा, मनैदेखि नभल्नु पो त ठूलो कुरा !’ भन्दै आज पनि रोजीलाई सम्झदैँ, माया गर्दै जिउँदै छ रोज । संसारमा हरेक कुरा बदलिन्छन् । बदलिए । तर रोजीलाई माया गर्ने रोजको मन कैल्यै बदलिएन । सदा उही र उस्तै चोखो माया गरिरह्यो । न कुनै देख्ने, भेट्ने आशा । न पाउने कुनै चाह नै ।
छोडी जानेको यादमा बाँच्न पक्कै गाह्रो छ । हुन्छ । जिउनलाई कुनै न कुनै सहारा चाहिने रहेछ । उसको बाँच्ने सहारा भनेकै रोजीका यादहरु हुन् । यस मन्दिर, नदी र चौतारीमा आउँदा पराइ भई गएकी रोजीलाई पाउँछ, रोज ।
त्यसैले रोज प्राय : हर समय यो मन्दिर, यो चौतारी अनि यो नदी छेउ आउँछ । सुस्ताउँछ ।
आँखा रसिलो पार्दै, चौतारीमा सुस्केरा हाल्दै बसेको रोजको मनले आज किनकिन पराई बनी गएकी रोजीलाई सम्झँदै गुनासो गरिरहेको छ, ‘मेरी माया, मलाई छोडी गयौ कहाँ !’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।