अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

 फागुन १५, २०८१ बिहीबार १३:२५:२८ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक – सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेमा निर्माणाधीन धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द गरेको छ ।

आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो । कार्यालयको अस्ति मङ्गलवार बसेको बैठकले यो सडकको ठेक्का रद्द गर्ने निर्यय गरेको थियो ।

जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको काम गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले वि.सं. २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाई सक्नेगरी २० करोड १९ लाख ४६ हजार पाँच सय रुपैयाँमा ठेक्का लिएको थियो ।

ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सकेको थिएन । पछिल्लो वर्षदेखि यो सडक खण्डको निर्माणको काम ठप्पप्राय नै थियो ।

सडक उपभोक्ताले पटकपटक गुनासो गरेपछि तथा यात्रुले सास्ती बेहोरेपछि संसद्को पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो ।

सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लाेपटक गएको माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो ।

कार्यालयका प्रमुख सुमन योगेशका अनुसार अहिलेसम्म यो सडकको २५ प्रतिशत वित्तीय प्रगति भएको छ । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडक खण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो ।

अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया