नेपाली कामदारका लागि तनाव व्यवस्थापन र स्वेच्छिक घरफिर्ती कार्यक्रम

 मंसिर ६, २०७५ बिहीबार ६:५:१७ | रासस

काठमाडौं - दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासले नेपाली कामदारलाई लक्षित गरी ‘तनाव व्यवस्थपन तथा स्वेच्छिक घरफिर्ती’ कार्यक्रम गर्ने भएको छ । 

मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि विज्ञसँगको परामर्श कार्यक्रम सञ्चालन गर्न लागेको दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिनुभयो । 

कार्यक्रममा सिनियर कन्सल्ट्यान्ट मनोविद् डा केदारबहादुर रायमाझीले विशेष प्रस्तुति, प्रशिक्षण तथा परामर्श प्रदान गर्नुहुनेछ । 

यही मङ्सिर १५ र १६ गते नेपाली कामदारको बाहुल्य रहेको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिनेछ । मङ्सिर १५ गते छनान र १६ गते मक्को हुन्डाई औद्योगिक क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । 

छनान राजधानी सियोलबाट दुई घन्टाको दूरीमा छ । मक्को हुण्डाई कम्पनीमा करीब २०० नेपाली कार्यरत रहेको श्रम काउन्सिलर बास्तोलाले जानकारी दिनुभयो । सो स्थानमा हुने कार्यक्रममा झन्डै चार सय नेपाली सहभागी हुने अनुमान गरिएको छ । 

कार्यक्रममा विज्ञसँग परामर्श, छलफल तथा सुझाव लिने, कार्यअवधि समाप्तीसँगै स्वेच्छिक रुपमा स्वदेश फिर्ताका लागि उत्प्रेरित गर्न तथा स्वदेश फर्केका कामदारलाई नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधाका बारेमा जानकारी गराइने पनि उहाँले बताउनुभयो । 

सो क्रममा कामदारको गुनासोलाई यथासम्भव कार्यस्थलमै गई सुनुवाई र सम्बद्ध पक्षसँग बहस पैरवी गरिने दूतावासले जनाएको छ । आफूलाई पायक पर्ने स्थानमा हुने सो कार्यक्रममा सहभागिताका लागि दूतावासले अनुरोध गरेको छ । 

कार्यक्रममा सहभागीलाई ‘कमाउ, सीप सिक र स्वदेश फर्की उद्यमी बनी रमाऔँ’ सन्देशसहितको परामर्श प्रदान गरिने काउन्सिलर बास्तोलाले जानकारी दिनुभयो । 

मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारणबाट कोरियामा मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको जानकारी दिँदै उहाँले भन्नुभयो, “कोरियामा काम गर्ने नेपालीमा डिप्रेसनको अवस्था भयावह छ, कडा काम, रोजगारदाताको कामप्रतिको कडाई, परिवारको चाहनालगायत कारणबाट नेपालीमा मानसिक रोग देखा परेको छ । यसबाट आत्महत्याको घटनामा समेत वृद्धि भएको हुनसक्छ ।” 

कोरियामा समयावधि सकिएपछि अवैधानिक बसोबास गर्दाका बखत आइपर्ने समस्याका बारेमा नेपालीलाई जानकारी गराइने छ, उहाँले भन्नुभयो, “सीप सिकी नेपाल फर्केर उद्यमशीलता विकास गरी स्वदेशको समृद्धिमा योगदान गर्न कार्यक्रमले प्रेरित गर्नेछ ।” 

आकर्षक गन्तव्यका रुपमा रहेको कोरियामा पछिल्लो समय विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको छ । सन् २००७ देखि हालसम्म विभिन्न कारणबाट १६० नेपालीको मृत्यु भइसकेको छ । आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा नेपालीले ज्यान गुमाउँदै आएका पनि छन् । 

रोजगारी अनुमति प्रणाली इपिएसमार्फत हालसम्म करीब ५८ हजार नेपाली कामको खोजीमा कोरिया पुगेका छन् । अहिले करीब ४० हजार नेपाली विभिन्न कामका सिलसिलामा कोरियामा रहेको दूतावासले जनाएको छ । तीमध्ये ३६ हजारले कोरिया भाषा परीक्षा पास गरी काम गर्दै आएका छन् भने चार हजार नेपाली विभिन्न पेसा व्यवासाय गरी कोरियामा बसोबास गर्दै आएका छन् । 

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया