लुम्बिनी लायन्सकाे मुख्य प्रायाेजकमा एनसेल
मंसिर १६, २०८१ आइतबार
काठमाडौं – गाउँमा धेरैका आमा विदेश जान्थे र कमाएर फर्किन्थे । सिन्धुपाल्चोकका कुमार लामालाई आफ्नी आमा पनि कुवेतबाट साथीका आमाझैं कमाएर फर्किने आश थियो ।
तर झण्डै १२ वर्ष बितिसक्यो, कुमारकी आमा सममाई फर्कनुभएको छैन । कहाँ कस्तो अवस्थामा हुनुहुन्छ भन्ने समेत पत्तो छैन । न सास भेटिएको छ, न लास नै ।
आमा विदेश जाँदा १४ वर्षको हुनुहुन्थ्यो कुमार । घर छाडेदेखि नै आमाको कुनै खबर आएन । १८ वर्षको भएपछि कुमार आफैं आमा खोज्न कुवेत पुग्नुभयो । तर कुवेतमा पनि आमा भेटिएन, निराशा मात्रै भेटियो ।
‘गाउँका सुन्तली, चमेली सबै मेरो आमा जसरी नै विदेश गएका हुन्, तर उनीहरु फर्किए, म त आमा लिन कुवेत नै पुगें र पनि भेटिएन,’ अँध्यारो अनुहार बनाउँदै कुमारले भन्नुभयो ।
अहिले त १२ वर्ष भइसक्यो कुमारको आमा सममाई कुवेत गएको पनि । दिन, रात, महिना हुँदै वर्षौं बित्यो, तर अहिलेसम्म कुनै खबर आएको छैन ।
आफैं खोज्न जाँदा समेत नभेटिएकी आमा भेटिने आश मार्न पनि सकिएको छैन, न त खोजेर भेटिने आश बढाउन नै । तर पनि कुमारले आमा खोज्न छाड्नुभएको छैन ।
१२ वर्षअघिको कुरा हो । कुमारको गाउँभन्दा पल्लो गाउँ अर्थात सिन्धुपाल्चोक पाल्चोकका रामबहादुर बम्जन दिल्लीबाट गाउँ आएका थिए ।
रामबहादुरले गाउँ आएका बेला गाउँका महिलालाई विदेश पठाइदिने भन्दै लिएर जान्थे । पासपोर्ट बनाउनेदेखि विदेश जाने प्रक्रियासम्म उनले नै मिलाइदिन्थे ।
त्योबेला कुमारका आमाबुवा दुवैलाई विदेश पठाइदिने भए रामबहादुरले । रामबहादुरले नै दुबैजनाको पासपोर्ट लिएर काठमाडौं गए । तर बुवाको भिसा तत्काल आएन, आमाको विदेश जाने प्रक्रिया मिलिहाल्यो ।
दलालले विदेशमा धेरै कमाई हुने सपना देखाएका थिए । कुमारका बुवा आमाको सपना पनि त्यही थियो – गाउँघरमा घाँसदाउरा गर्नुभन्दा विदेश गएर दुईचार वर्ष कमाउने, अनि सुखैले बाँकी जीवन कटाउने ।
तर बुवाको भिसा आउन समय लाग्ने भएपछि एउटै सपना साँचेका कुमारका आमाबुवालाई छुट्टिनु पर्यो । एकै सपना पालेका यी जोडीका सपनासँगै साथ पनि छुट्यो ।
‘नेपालमा कुवेतको दूतावास छैन, भारतबाट जानु पर्छ, उतैबाट भिसा लगाउने हो भनेर आमासहित गाउँका अरु महिलालाई पनि लिएर गयो,’ कुमार आमालाई विदेश लान दलालले गरेको चलाखी सुनाउनुभयो, ‘आमाहरु लिएर जाँदा रामबहादुर नेपालगञ्जमा समातिएछन्, तीन वर्ष जेल पनि पर्यो, अनि आमाहरुलाई उसको श्रीमतीले नेपालगञ्जबाट लगेर कुवेत पठाएको रहेछ ।’
कुमारका बुवा केही समयपछि साउदी गए, फर्किए । तर दलालमार्फत कुवेत पुगेकी सममाईको १२ वर्ष बित्दा समेत कुनै खबर आएको छैन ।
आमा विदेश जाँदा कुमार १४ वर्षको हुनुहुन्थ्यो । घर छाडेदेखि सममाईको कुनै खबर आएको थिएन । चार वर्ष बितिसकेको थियो । त्यतिबेला १८ वर्ष लाग्नुभएको थियो कुमार ।
आमालाई विदेश पठाउने दलाल रामबहादुर फेरि गाउँ आए । आफन्तको मृत्यु भएपछि काजकिरिया गर्न आएका रामबहादुरलाई कुमारले त्यहीबेला आमाको हालखबर सोध्न पाउनुभयो ।
तर कुवेत पुर्याएरै अर्कै दलाललाई जिम्मा दिएकाले आफूलाई थाहा नभएको बताए रामबहादुरले । जसले जहाँ लगेको भए पनि कुमारलाई आमाको खबर चाहिएको थियो ।
‘त्योबेला त्यसलाई च्याप समातेर आमाको कि लास चाहियो कि सास चाहियो भनें, रामबहादुरले केही सीप नलागेर मलाई नै आमा खोज्न कुवेत हिँड भन्यो,’ कुमारले भन्नुभयो ।
दलालले आमा खोज्न कुवेत नै हिँड भनेपछि के चाहियो र ! कुमार आमा खोज्न कुवेत जान तयार हुनुभयो ।
‘कुवेतमा कतै लुकेर बसेको भए पनि आफ्नो छोरो देखेर फुत्त रोडमा निस्किन्छ कि तेरो आमा भने सबैले,’ कुमार सम्झनुहुन्छ ।
अरुले भनेझैं उहाँलाई मनमा लाग्यो – आमाले छोरो खोज्न आएको पक्कै थाहा पाउँछिन् । अनि छोरालाई सडकमा हिँडेको देखेर बोलाई पो हाल्छिन् कि भन्ने ठूलो आश थियो कुमारलाई ।
आमालाई लगेर बेपत्ता बनाउने उनै रामबहादुरको पछि लागेर २०६७ सालमा कुवेत पुग्नुभयो कुमार । आमा खोज्न कुवेतको विमानस्थल उत्रँदा कुमारको मन फुरुङ्ग भयो । जहाजको सिटमा आमासँगै बसेर फर्किने सपना थियो कुमारको ।
तर परदेश सोचेजस्तो किन हुन्थ्यो र ! ‘मसँग आमाको भिसाको फोटोकपी चाहिँ थियो, त्यही आधारमा घरमा पुगियो तर त्यहाँका मान्छेले केही कुरा बताउनै मानेनन्, मात्र घर छाडेर गैसक्यो मात्र भने’ कुमारले आमा खोज्दाका घटनाक्रम सुनाउनुभयो ।
नेपाली दूतावासदेखि कुवेतका नेपाली संघसंस्था धाउनुभयो । त्यहाँबाट पनि आमा भेटिने सकारात्मक सन्देश मिलेन ।
‘दूतावास त दिनहुँ जान्थें, दिनकै आएर भेटिन्छ त भनेर थर्काउँथे दूतावासका मान्छेले,’ कुमार दूतावाससँग गुनासो गर्दै भन्नुहुन्छ, ‘त्यो बेलामा म कहाँ जानु र, आफ्नो आमा हराएको छ, सहयोग त परको कुरा, उनीहरुले उल्टै थर्काए ।’ खाने र बस्ने व्यवस्था दलाले नै मिलाइदिएका थिए । आमा खोज्न चाहिँ कुमार एक्लै बजार बजार हिँड्नुहुन्थ्याे ।
आमा भेटिने आशमा कुवेतका शहर बिहानदेखि रातिसम्म डुल्नुहुन्थ्यो कुमार । प्रत्येक घरका झ्याल र ढोका हेर्नुहुन्थ्यो । बन्द झ्याल ढोका कतै आफ्नै आमाले पो खोलेर बोलाउँछिन् कि झैं लाग्थ्यो कुमारलाई । बाटोमा हिँड्नेलाई सोध्नुभयो । तर कसैले पनि आमालाई भेटेको र देखेको छु भनेनन् ।
जता खोज्दा पनि आमा नभेटिएपछि कुमार कुवेत गएको एक महिना १४ दिनपछि रित्तै घर फर्किनुभयो । उहाँलाई आमा भेटिने त्यही एउटै आशाको त्यान्द्रो बाँकी थियो, त्यो पनि चुँडियो ।
आफू कुवेत नजाँदासम्म त कुमारलाई आमा भेटिने ठूलो आश थियो । तर कुवेत नै पुगेर खोज्दा पनि कुनै खबर मिलेन । त्यो बेला त चार वर्ष मात्रै भएको थियो । तर अहिले १२ वर्ष बितिसक्यो । आमाको कुनै पत्तो छैन । कुमारका मनमा अनेक कुरा खेल्छन् ।
‘आमा गएको पनि यतिका वर्ष बितिसक्यो, अहिलेसम्म कुनै खबर आएको छैन, यतिका वर्ष बित्दा पनि कुनै खबर नआएको देख्दा त कसैले मारेर फालिदियो कि झैं लाग्छ,’ कुमारले घोसेमुन्टो लगाएर मसिनो स्वरमा भन्नुभयो ।
तर कुवेतबाट फर्किनेहरुले सुनाएको कुराले भने आमा फर्किने आशको त्यान्द्रो जीवित राखेको छ । कुवेतबाट फर्किने गाउँका चिनजानका मानिसले कुमारलाई आमा भेटिएको कुरा सुनाए ।
‘कुवेतमा गाउँका मान्छेले भेटेको रे, तेरो आमाको त कपाल सबै झरेर तालु भएछ, हामीले बजारमा भेटेको भने,’ कुमार आश मान्दै भन्नुहुन्छ, ‘मैले किन नबोलाएको त भनेको साहुले कहाँ बोल्न दिन्छ त साहुसँगै थियो भने, त्यो खबर पाएदेखि आमा जिउँदै छिन् किझैं पनि लाग्छ ।’ निभ्नै लागेको आमासँग भेट्ने कुमारको आशा फेरि जाग्छ ।
‘आमालाई केही भएको भए त सपनामा पनि यसो छेको दिनुपर्ने नि, कहिल्यै नराम्रो देख्दिन,’ आशाको त्यान्द्रो बलियो बनाउँदै कुमारले सपनाका कुरा सुनाउनुभयो ।
१२ वर्षअघि कुवेत लाग्दा ३८ वर्षकी हुनुहुन्थ्यो सममाई । अहिले त १२ वर्ष बितिसक्यो । उमेरले ५० टेक्यो । आमा कुवेत जाँदा १४ वर्ष उमेर भएका कुमारको अहिले बालबच्चा भइसक्यो । अथवा सममाई हजुरआमा भैसक्नुभएको छ ।
सममाईकी एक छोरा र तीन छोरी । कुमार र एक छोरीको घरबार भयो । दुई छोरीको बाँकी छ । आमा हराउँदाको पीडा एकातिर छ, अर्कातिर आफन्तले लगाएको आरोपले पनि उस्तै पोल्छ कुमारलाई ।
‘आमा जाँदा मलाई विदेश गएको हो भन्ने त थाहा थिएन राम्रोसँग, गाउँका बाजेहरुले आमा बेचेर खायो भनेर पनि आरोप लगाउँछन्,’ कुमारले मन गाँठो पार्दै भन्नुभयो ।
अरुले जे जे भने पनि कुमारले वास्ता गर्नुभएन । आमा खोज्न चारतिर धाउनुभयो । कुवेत पुगेर गल्लीगल्ली त चाहार्नुभयो नै । नेपालकै विभिन्न संघसँस्थामा पनि पुग्नुभयो । तर कुनै पत्तो लागेन ।
कुमार दिग्दार मान्दै भन्नुहुन्छ, ‘मरे बाँचेको खबर पाउन पाए त हुनेथियो, भएजति सबैतिर खोजें, अब आमा खोज्न कहाँ जाउँ ।’
कुमारले आमाको खोजीका लागि सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सिन्धुपाल्चोक चौतारामा रहेको सूचना केन्द्रमा २०७३ सालमै निवेदन दिनुभएको थियो ।
सूचना केन्द्रले थप खोजीका लागि प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पठाएको छ । पिएनसिसीले खोधीखोजीको प्रयास भैरहेको जनाएको छ ।
सूचना केन्द्रकै पहलमा कन्सुलर सेवा विभागमा पनि खोजीका लागि निवेदन दिनुभयो कुमारले, तर अहिलेसम कुनै जानकारी मिलेको छैन । कुवेतमा रहेको नेपाली दूतावाससँग समन्वय गरेर खोजीका लागि थप पहल गरिने सूचना केन्द्रले जनाएको छ ।