पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
गंगा थापा/कोषाध्यक्ष, आमकास नेपाल ।
घरेलु महिला श्रमिकमा जानु कुनै नराम्रो काम होइन । यसमा पनि इज्जत छ, सम्मान छ, जिम्मेवारी छ । तर गलत ढंगले जाँदा, सरकार यस विषयमा लचिलो नबन्दा धेरै नेपाली दिदीबहिनी परदेशमा दुःख पाउँछन् । तर सबै देशमा अवस्था यस्तो छैन । रोजगारदाता कस्तो छ भन्ने कुरामा पनि भर पर्छ ।
म आफै पनि आजभन्दा २० वर्ष पहिले मकाउमा तीन वर्ष बसेँ । त्यतिबेला मैले अर्काको देशमा काम गर्न आएको छु जस्तै लागेन । किनकी रोजगारदाता पनि राम्रो थिए, त्यहाँको देशको कानुन पनि राम्रो थियो । मेरो साथीलाई उसको रोजगारदाताले होलिडे मनाउन थाइल्याण्डमा लगेको थियो । अहिले पनि मकाउमा निकै राम्रो छ ।
तर अहिले लामो समय भइसक्यो नेपाल सरकारले महिलालाई घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जान रोक लगाएको । तर पनि अवैधानिक बाटोबाट अझै दैनिक सयौँको संख्यामा गइरहेका हुन्छन् ।
५५ जनामा ५० जना अवैधानिक बाटो भएर गएको हाम्रो अध्ययनले देखाएको छ । त्यसैले यो कुरालाई रोक्नुभन्दा पनि कानुनी तवरमा जाने बाटो खोल्नुपर्छ । जस्तो मकाउ, हङकङमा निकै राम्रो छ । त्यहाँको सरकारले नै श्रमिकको सुरक्षा लिन्छ । मकाउमा केही वर्ष पहिले रोजगारदाताले तातो डाडुले हान्दा नेपाली महिला श्रमिकलाई चोट लाग्यो । यो कुरा त्यहाँको सरकारी कर्मचारीले थाहा पाएर रोजगारदातालाई कारबाही गरेको थियो ।
ती देशहरुमा यति धेरै राम्रो छ । त्यसैले त्यस्ता देशमा कानुनी रुपमा अब बन्देज हटाउनुपर्छ । राम्रो देशमा द्विपक्षीय समझदारी गरेर पठाउनुपर्छ । पछिल्लो सयम जसरी इजरायलमा केयर गिभरको रुपमा पठाइँदै छ । नयाँ गन्तव्य देश खोजेर घरेलु महिला श्रमिकको लागि वैधानिक रुपमा जाने बाटो खुलाउनुपर्छ । यसरी बाटो बन्द गरिदिँदा पहिले पाँच जना पीडित हुन्थे भने अहिले त्यसको दोब्बर छन् । त्यसैले एउटा ढोका बन्द गरेपछि अर्को ढोका खोल्नुपर्यो नि । नत्र झ्यालबाट हाम फाल्दा दुर्घटना हुन्छ । घरेलु महिला श्रमिकको विषयमा अहिले अवस्था यस्तै भएको छ । एउटा विकल्प खोजेर पठाउयो भने त समस्या हुँदैन नि ।
राम्रो देशमा त घरेलु कामदारमा जाने बाटो खोलौँ भनेर हामी लागिरहेका छौँ । तर सरकारले चासो दिँदैन । एकपटक हामीले यसबारेमा कुरा राख्दा सांसदहरुले पनि गैर जिम्मेवारी जवाफ दिनुभएको थियो । ‘दुईतीन जनाको कुरा सुनेर आउनुहुन्छ’ भन्दै रिसाउनुभएको थियो हामीलाई ।
अवैधानिक बाटोबाट जानेहरु सबै केही नबुझेका हुँदैनन् । राम्रो पढेलेखेका, विदेशमा कस्तो हुन्छ भन्ने बारेमा थाहा भएकाहरु पनि अवैधानिक बाटोबाट गएका देखिन्छन् । उनीहरु निकै बाठा पनि हुन्छन् । कतिले त पासपोर्ट र पैसा पनि एजेन्टलाई तिराउन लगाएका छन् । अवैधानिक बाटोबाट घरेलु कामदारका रुपमा जाँदा धेरै दिदीबहिनीलाई त्यहाँ दुःख हुन्छ भन्ने थाहा हुन्छ । केही भइहाले सरकारले जिम्मा लिँदैन भन्ने पनि बुझेको हुन्छ । तर जान छाड्दैनन् । त्यहाँ पुगेपछि जब हिंसाको सिकार हुन्छन् अनि हार गुहार गर्नुपर्ने अवस्था आउँछ ।
कोरोनाकालमा समस्यामा परेर आउने, हामीले उद्धार गरेका ९५ प्रतिशत जति दिदीबहिनीले तलब पाएको छैन । कोही चार महिना कोही पाँच महिना । कसैको ८ ९ वर्षसम्म कोठा थुनेर काम गराएर पठाएका छन् ।
यसरी जानेहरुमा धेरैजसो घरमा समस्या भएकाहरु नै हुन्छन् । आफ्नो श्रीमानले सपोर्ट नगरेपछि वैदेशिक रोजगारीमा जाने धेरै भेटिन्छन् । सम्बन्ध विच्छेद भएकाहरु पनि हुन्छन् । श्रीमान कमाइरहेको अवस्थामा जोखिम लिएको देखिँदैन । श्रीमानले दोस्रो बिहे गर्ने वा श्रीमान्को निधन भएको अवस्थामा छोराछोरीलाई हुर्काउनुपर्ने जिम्मेवारी बढ्छ । कमाइको बाटो हुँदैन । त्यही मौकामा एजेण्टको फन्दामा पर्छन् वा साथीभाइ, नातेदारको कुरा सुन्छन् । परदेश गए केही कमाउन सकिन्छ कि भन्ने चाहना पाल्छन् । तर सरकारले घरेलु महिला कामदारको लागि वैधानिक ढोका बन्द गरिदिँदा भारतको बाटो हुँदै वा भिजिट भिसामार्फत जान खोज्छन् । अनि त्यहीँबाट सुरु हुन्छ, घरेलु महिला कामदारको लागि अवैधानिक बाटोको यात्रा । दु:खकाे यात्रा । त्यसैले देशमै रोजगारीको अवस्था भए, यसरी जोखिम मोलेर घरेलु कामदारको रुपमा परदेश जाने थिएनन् नेपाली दिदीबहिनीहरु ।