पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
विश्वमा कोरोना भाइरस आउनुभन्दा अघिसम्म रोल्पा नगरपालिकाकी ३३ वर्षीय मिना बुढाको दैनिकी गाई बाख्राको स्याहार, खेतबारीको काम, छोराछोरीको हेरचाहमा बित्थ्यो ।
घरको काम सकेपछि कतारमा कार्यरत श्रीमानसँग कुराकानी गरेर दुःखसुख साट्नुहुन्थ्यो । परदेशी भूमिमा भए पनि श्रीमानको काम र कमाइ राम्रो थियो त्यो बेला । परदेशी भूमिमा राम्रो कमाउने भनेर आफन्तहरूले पनि खुब इज्जत गर्थे ।
तर एक दिन मिनाको घरको मियो कतारमै ढल्यो । त्यसपछि ढलेको मिनाको आत्मविश्वास मनोपरामर्शपछि पुनः बलियो भएको छ ।
२०७६ फागुनमा मिनाका श्रीमानकाे स्वास्थ्यमा समस्या देखिन थाल्यो । एक्कासि सास फेर्न गाह्रो भयो भनेपछि मिनाले घर फर्कन आग्रह पनि गर्नुभयो तर मानेन् ।
‘म आफै घर फर्के कसले कमाउँछ, परिवार कसरी चल्छ भन्नुभयो’ श्रीमानसँग भएको कुरा सम्झँदै मिना भन्नुहुन्छ ‘उपचार त्यहाँको भन्दा यहाँ राम्रो हुन्छ म निको भइहाल्छु भन्नुहुन्थ्यो' मिना सुनाउनुहुन्छ । तर उपचारले पनि छोएन ।
श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, घाँटी दुख्ने भएको सुनाउनुभयो श्रीमानले मिनालाई । तर अस्पतालको रिपोर्ट भने सामान्य खालको नै थियो ।
डाक्टरको दवाइले नछोएपछि मिनाले गाउँमै धामी झाँक्री गर्दा निको हुन्छ कि भनेर त्यो पनि गर्नुभयो । तर निको भएन । उपचारकै क्रममा २०७६ फागुनको २६ गते उहाँको श्रीमानको कतारमै ज्यान गयो ।
श्रीमानले कतारमा प्राण त्यागेको केही हप्तामै नेपालमा पनि कोरोनाका कारण लकडाउन सुरु भयो । कमाउने जमाउने सपना बुन्दा बुन्दै मिनालाई श्रीमानको शव पर्खेर बस्नु पर्ने परिस्थिति आइपर्यो ।
मिनाको लागि त्यो समय निकै कठिन थियो । आफ्नो श्रीमान् गुमाउनुको पीडा र भविष्यको छटपटीले मिनालाई टाउको दुख्ने, निद्रा नलाग्नेजस्तो समस्या हुन थाल्यो ।
‘राति निन्द्रा नलाग्ने, खान मन नलाग्ने, शरीरमा शक्ति नभएको जस्तो महसुस हुने, पेट पोल्ने, शरीर झमझमाउने, मलाई त केही पनि गर्न मन लाग्दैन’ मिनाले भन्नुभयो ।
मीनाकाे भेट सुरक्षित आप्रवासन (सामी) परियोजनाका मनोपरामर्शकर्तासँग भयाे । सुरुमा समस्याबारे खसै नखुले पनि मिनाले विस्तारै मन खाेल्दै जानुभयाे । त्यसपछि उहाँले परियाेजनामार्फत नियमित रूपमा मनाेपरामर्श सेवा पाउनुभयो ।
मनोपरामर्शकर्तासँगको नियमित भेटघाट र परामर्शपछि पहिलेजस्तो निद्रा नलाग्ने, चिन्ता मात्र हुने, खान मन नलाग्नेजस्ता समस्याहरू कम भएको मिनाले बताउनुभयो । विस्तारै मिना सामान्य दैनिकतर्फ अघि बढ्नुभयाे ।
हुन त श्रीमान् गुमाउनुको पीडा भुल्न चाहेर पनि भुल्न सकिँदैन । तर मनमा पीडा छ भनेर मानिस पीडामा डुबेर मात्र बस्न पनि सक्दैन । मनोपरामर्शपछि अहिले मिना सामान्य जीवनयापन गरिरहनुभएकाे छ ।
वैदेशिक रोजगार बोर्डबाट प्राप्त ७ लाख र बिमाबाट पाएको १४ लाख रुपैयाँमा १० लाख रुपैयाँ थपेर उहाँले जिल्ला अस्पताल नजिक तीन तले घर बनाउनुभएको छ । घर भाडाबाट आउने मासिक ३० हजार रुपैयाँलाई उहाँले छोराछोरीको पढाइखर्च जुटाइरहनुभएको छ । खेतबारीमा तरकारी फलाउनुभएको छ । बाख्रा पालन पनि गरिरहनुभएको छ ।
४० हजार रुपैयाँमा बोयर जातका दुई बाख्रा किन्नुभएको छ । बाख्रालाई बढाउँदै लैजाने उहाँको सोच छ । अहिले उहाँ आफ्नो दुःख, पिर, चिन्ता व्यवस्थापन गर्न सक्ने हुनुभएको छ ।
आफ्नो तनाव व्यवस्थापनमा मनोपरामर्शकर्ताले पुर्याएको सहयोग कहिल्यै बिर्सन नसक्ने उहाँ बताउनुहुन्छ । कठिन परिस्थितिबाट अहिले सामान्य अवस्थामा आउनुभएकी उहाँ भन्नुहुन्छ, ‘म छु र पो संसार छ ।’
Bijay thakur
Jan. 27, 2022, 2:05 p.m.very good work through psychosocial counselor. thank you!