सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रका रूपमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
इलाम – फाकफोकथुम गाउँपालिका ६ एकतप्पाका तेजेन्द्र सिवाकोटीलाई सरकारी जागिरका लागि नाम निकाल्दा लागेको थियो, अब जिन्दगी बाटो लाग्यो । लोकसेवा भिडेर सुब्बा पदमा नाम निकालेका तेजेन्द्रलाई नेपाल विद्युत प्राधिकरण पाँचथरमा पदस्थापन गरियो । यो २०६८ सालको कुरो हो ।
छिमेकी जिल्ला भए पनि तेजेन्द्रको मन अडिएन । अनि उहाँले आफ्नै जिल्लामा सरुवा माग्नुभयो । अथवा पाँचथरबाट इलाममा सरुवा । तेजेन्द्रका अनुसार पाँचथरको प्राधिकरण कार्यालयमा कर्मचारी कम भएको कारण देखाउँदै सरुवा दिइएन ।
सरुवा नदिएको झ्वाँकमा उहाँले राजिनामा दिनुभयो । जागिर खान सुरु गरेको २ वर्षमा उहाँले देखेका जिन्दगीको बाटो टुंगियो । अनि नयाँ गन्तव्य र बाटोबाट यात्रा सुरु भयो । यो २०७० सालको कुरो हो ।
जागिर टुंगियो, अब के गर्ने ? तेजेन्द्रलाई लाग्यो, विदेश जाने पैसा कमाउने । त्यसरी रुमल्लिरहेका बेला भेटिए, टुरिष्ट भिसामा रसिया पठाउने दलाल । तिनै दलालले देखाएको बाटो पछ्याएर उहाँ २०७१ सालमा रसिया पुग्नुभयो ।
रसिया जान उहाँले दलाललाई ७ लाख रुपैयाँ बुझाउनुभयो । पैसा कमाउने भनेर रसिया त पुग्नुभयो, तर टुरिष्ट भिसामा हिँडेका उहाँले भनेजस्तो काम पाउनु भएन । भीसा तीन महिनाको थियो । तेजेन्द्रलाई त्यतिबेला लागेको थियो, ‘पैसा कमाउन होइन ऋण पर्न पो विदेश आइएछ ।’
कमाई गतिलो नभएपछि रसियामा तेजेन्द्रका मन अडिएनन् । सिसा पसलमा गरेको कामले खानबस्न पनि मात्रै ठिक्क हुने । कमाई नभएपछि उहाँले रसियाबाटै
युरोप जाने योजना बनाउनुभयो । तेजेन्द्रको योजनामा अरु तीन जनाले पनि साथ दिने भए ।
‘शरणार्थी हौं’ भन्दै तेजेन्द्रको टोली स्पेन पुगेको थियो । रसियाबाट हिँडेको एक महिना २१ दिनमा टोली प्रहरीको फन्दामा पर्यो । स्पेन प्रहरीले शरणार्थीको परिचयपत्र माग्यो । प्रमाण थिएन । त्यसैले उनीहरु सबैलाई आआफ्नो देश फर्काइयो ।
यहाँ पुगेपछि विदेशमा पैसा कमाउने तेजेन्द्रको सपना पनि टुंगियो । दलाललाई तिरेको पैसा पनि सकियो । अरु ऋण थपियो । तैपनि चित्त बुझाउने ठाउँ कतै त बाँकी नै छ । ‘विदेश यात्राले नेपालमा नै गरे कमाउन सकिन्छ भन्ने ज्ञान पाएँ,’ तेजेन्द्रले भन्नुभयो ।
नेपाल फर्केर उहाँले इलाम बजारमा इलेक्ट्रोनिक पसल सुरु गर्नुभयो । विद्युत प्राधिकरणमा २ वर्ष काम गर्दा जानेको सीपले उहाँलाई इलेक्ट्रोनिक पसल सुरु गर्न सजिलो भयो ।
२०७३ साउन २ गते उहाँले घरेलु तथा साना उद्योगमा पसल दर्ता गराउनु भएको हो । पसल सुरु गर्दा एक लाख १५ हजार रुपैयाँ लगानी परेको थियो । तेजेन्द्रका अनुसार अहिले पसलमा ४५ लाख रुपैयाँ बराबरको सामान छन् ।
ग्राहकको घरमा सामान जडान गरिदिनु । बिग्रिएका सामान मर्मत गरिदिनु । बेला बेला घरेलु तथा साना उद्योगले आयोजना गरेको तालिममा सहजीकरण गर्नु ।
बाँकी समय पसलमा तेजेन्द्रका समय बित्छन् । जति खट्न सक्यो, उति कमाई बढी । यसरी खट्नु भनेको तेजेन्द्रकै भनाईमा, विदेश बस्दा ओटी (अाेभर टाइम) गरेर कमाउनु जस्तै हो । महिनाको ६० हजार रुपैयाँ बच्ने उहाँको भनाई छ ।
तेजेन्द्र अहिले ऋणमुक्त हुनुभयो । लगानी गर्न र पसलमा सामान थप्न कसैलाई गुहार्नु पर्दैन । तेजेन्द्रलाई अहिले विदेश जाने पैसा आफूसँग नभएकाले पसल खोलेर राम्रो गरेछु भन्ने लाग्छ ।