‘मलेसिया गएको १८ दिनमै काम गर्दा गर्दै केमिकलको भाँडोमा खसेँ’

 असोज १३, २०७८ बुधबार ११:५३:२ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

खुमकान्त तिवारी ‘कृष्ण’ ।

मेरो घर स्याङ्जाको भीरकोट नगरपालिका हो ।  म वैदेशिक रोजगारीको सिलसिलामा २०६१ सालमा मलेसिया गएको थिएँ ।

जान त म पनि उज्ज्वल भविष्य र पारिवारिक सुखको बाटो खोज्दै मलेसिया पुगेको थिए । स्याङ्जाको भीरकोट नगरपालिका ५ स्थायी ठेगाना भएका कृष्णको वैदेशिक रोजगारीको पिडा यसरी सुरु हुन्छ ।

मेरो काम मलेसियाको एक आयल कम्पनीमा थियो । यहाँबाट जाने बेलामा नै म यही कम्पनीमा गएको हुँ । तर जे सोचेर गएको थिएँ त्यसो भएन । जे नसोचेको थिएँ त्यही भयो । 

काम गर्ने सिलसिला साबुन बनाउनका लागि राखिएको ३० टनको केमिकलको ट्याङ्की भित्र खस्न पुगेँ ।  जसले गर्दा मेरो शरीरको ७२ प्रतिशत शरीरको भाग जल्यो । 

ट्याङ्की केमिकलले भरिएको थियो । त्यही माथि टेकेर काम गर्न पर्थों । काम गरिरहेको थिए । तर त्यसको ढकन कोल्टियो । अनि म त्यो भित्र खसेँ ।

कम्पनीमा मसँगै काम गर्ने साथी लम्जुङ्गका चन्द्र बहादुर थापाले मलाई उद्धार गर्नुभएछ । सायद उहाँ नभएको भए मेरो शरीर त्यसै ट्याङ्कीमा खरानी हुने थियो । भगवानले उहाँलाई मेरो छेउमा पठाइदिनुभएछ जस्तो लाग्छ अहिले त । 

त्यो दुर्घटनापछि मेरो मलेसियाकै अस्पतालमा झण्डै ७ महिना उपचार भयो । तर मलाई विदेशी अस्पताल भए पनि त्यहाँको उपचार खास चित्त बुझेन । मैले आफ्नै देश फर्किएर उपचार गराउने निधो गरेँ । काठमाण्डौमा आएर टिचिङ अस्पतालमा उपचार गराएँ ।

मेरो घरमा सबै जनाले खेतीपाती गर्नुहुन्छ । तर पनि हामी आर्थिक हिसाबले असाध्यै कमजोर होइन । जग्गा जमिन प्रशस्त छ । तर म भने देशमा रोजगारीको अवसर नपाएर मलेसिया गएको हुँ । पढेलेखेको पनि हुँ । तर जागिर पाइएन अनि के गरेर बस्नु । त्यसैले हो मैले विदेशको बाटो रोजेको पनि । 

तर रोजगारीको आसमा झण्डै ज्यानै गयो । केमिकलमा जलेका कारण खुट्टाको औँला समेत काट्न प¥यो । 

अहिले पनि मेरो शरीरमा घाउका खतहरू छन् । पुरै सर्जरी गरियो ।  लाखौँ रुपैयाँ खर्च भयो तर शरीर पूर्ण रुपमा निको भएन । 

जान त म पनि कमाउन भनेर नै गएको थिएँ । तर परदेशी भूमिमा टेकेको १८ दिनमै मैले जीवनभरिलाई पुग्ने पीडामा डुबेँ । स्वस्थ मानिस जसरी हिँडडुल गर्न सक्दिनँ । बैसाखीको सहायताले हिँड्छु । 

स्याङ्जाबाट बसाइसराइ गरी अहिले हामी नवलपरासीको बर्दघाट १० मा बस्छौ । श्रीमती, दुई छोरा र एक छोरी छन् । अहिले त बुहारी पनि छन् । 

शरीर जले पनि मेरो मनलाई परिवारले ठुलो हौसला दियो । मलाई कहिले एक्लो र कमजोर महसुस हुन दिएनन् । अहिले ४९ वर्षको भएँ । 

म हुन त पूर्ण रूपमा अपाङ्ग हुँ । तर राज्यले पहिचान गर्न सकेको छैन । मेरो कुनै परिचयपत्र छैन । मलाई सरकारले कुनै सहयोग उपलब्ध गराएको पनि छैन । तर मेरो साथमा परिवार छ । 

कमाउँछु, जमाउँछु भनेर प्रयास नगरेको त कहाँ हो र ? तर झण्डै जीवन गयो । त्यसैले म अहिले जे छ त्यसमा खुसी छु । 

तपाईको प्रतिक्रिया