पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
भन्न त भन्छन् नि त्यो त कमाउन विदेश गयो । तर आफ्नै देशमा रोजगारी पाए को जान्थ्यो र अर्काको देशमा । आफ्नो देशमा बेरोजगार भएर बस्नुभन्दा त अर्काको देशमा काम गर्नु नै बेस जस्तो लाग्छ मलाई पनि ।
कोरोना महामारी अघिसम्म म पनि भारतमा रोजगारी गर्थेँ । कमाइ धेरथोर जति भए पनि घर चलाउन पुगेको थियो । तर कोरोना मेरो जीवनमा हुरी बनेर आयो । कोरोना आएपछि म घर आएँ । घर आएको एक वर्ष भयो । अनि बेरोजगार भएको पनि ।
ठूलो काम गर्छु भन्ने सपना के देख्नु आफ्नो ठूलाबडासँग चिनजान छैन । जे पाइन्छ त्यही काम गरौं न त भन्न पनि गाउँ ठाउँमा केही काम पाइँदैन । दिनभरी बजारतिर हल्लियो । साँझ घर आयो । भोलि के गर्ने होला भनेर सोच्दै ओछयानमा पल्टियो । आँखाभरी सपना बोकेर निदायो । भोलिपल्ट बिहान उज्यालो हुँदा फेरि रित्तै उठ्यो । यसरी नै चलिरहेको छ मेरो दैनिकी ।
हुन त मेरो घर नगरपालिकाको कार्यालय नजिकै छ । दिनहुँ हेर्छु त्यो कार्यालयलाई । सोच्छु, के गर्दा हुन त्यो भवनभित्र कर्मचारीहरू ?
न हाम्रा लागि कुनै योजना न त सान्त्वना । बल जति पाखुरामै राखेर हामी दिन बिताइरहेका छौँ । केही काम दिए त हुन्थ्यो नि । तर हामी त अझ दलित । कसले दिने काम ।
नगरपालिका कार्यालयमा एक जना कार्यालय सहयोगीसम्म पनि दलित छैनन् । उनीहरूको नजरमा त हामी कोही पनि होइनौँ । दुःख होस् या सुख, कमाइ होस् या ऋण जे पर्छ हामी आफैंले गर्नुपर्छ ।
काँधमा घरपरिवारको जिम्मेवारी छ । तर आम्दानी शून्य । अनि विदेश नगएर के गर्नु ? अब म पनि सोच्दै छु भारतमा महामारी केही सामान्य भए भारत नै जान्छु । होइन भने ऋण बोकेरै भए पनि खाडी उड्छु । आफ्नो देशमा बेरोजगार हुनुभन्दा अरूको ‘गुलाम’ हुनु नै बेस हो जस्तो चाहिँ यही बेला लाग्छ ।
भन्न त भन्थेँ नि चुनाव ताका रोजगारी सबैलाई दिन्छु । त्यो दिनदेखि फेरि रोजगारीको कुरा गाउँमा भएको छैन । सरकारले कहिले रोजगारी दिन्छ र खाउँला भनेर कुर्न थाल्यो भने त हामी भोकभोकै मर्नुपर्छ ।
सबैले हेर्ने आफ्ना मानिसलाई रहेछ । पालिकाले धेरै नभए पनि सानोतिनो हातमुख जोर्न पुग्ने काम दिए त परदेश जाने थिइनँ म पनि । तर आजसम्म खै केही भएको छैन । तिमीहरूका लागि यस्तो योजना ल्याउँछौँ भने पनि छैन । हामीलाई अब त आश पनि छैन । आफैं केही काम गरौँ न त भन्दा पनि लगानी छैन । रोजगारी गरौं भन्दा पनि हामीलाई काम दिने कोही छैन । अब विदेश नगएर के गरौँ ? मसँग अर्को विकल्पै छैन ।