पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
अघिल्लो वर्ष कोरोनाको त्रासमै बित्यो । मार्चबाट सुरु भएको कोरोनाले वर्षभरि विश्व समुदायलाई नै त्रसित बनायो । परदेशी भूमिमा कोरोनाले केही हुने पो हो कि भन्ने त्रासले हामी परदेशीलाई सताउनुसम्म सतायो ।
बन्द कोठा । सुनसान सहर । यो आपतमा त घर जान पाए पनि हुन्थ्यो नि भन्ने मनको रहर, मनमनै गुम्स्याएर महिनौँ कोठाभित्रै थुनिन पर्यो । काम छैन, कमाइ छैन । धुमधुमती परदेशी भूमिमा कोठैमा दिनरात बिताउनुपर्दाको पीडा मसहित लाखौँ परदेशीले सहन पर्यो ।
यूएई, जहाँ म आठ वर्षदेखि काम गरिरहेको छु । कोरोना सुरु हुँदा म यूएईको दुबईमा थिएँ । कोरोना महामारीकै कारण मैले काम गर्ने कम्पनी बन्द भयो । काम गरिरहेकै कम्पनी बन्द भएपछि हुनु नहुनु सबै भयो । डर त्रास र घर फर्कन पाउँदाको थोरै खुसी र अब त बाँचिएला नि भन्ने आस लिएर रित्तो हात घर फर्कन पर्यो ।
तर साँच्चै भन्दा महामारीले कहिले नसिकाएको कुरा सिकायो । नयाँ अनुभव अविस्मरणीय भयो । घर फर्कँदाकै कुरा गराैं न । अघिपछि परदेशबाट घर आउँदा कसलाई के कोसेली लगिदिने भन्ने चिन्ता हुन्थ्यो । तर यसपाला कोरोना महामारीले म जाँदा मेरो गाउँमा मसँगै कोरोना नजाओस् भन्ने कामना थियो ।
सामान्य अवस्थामा जहाजहरू छानिछानी पाइन्थ्यो । यो पालि हामीलाई नै लिन गएका उद्धार उडानमा रित्तै भए पनि मुस्कुराउँदै आउनु पर्यो । जे होस् घर आइयो । परदेशको दुःख र कोरोनाको डर केही समयलाई बिसाइयो ।
परदेशमा छँदा लाग्थ्यो, आफ्नो देश जान पाए त के के न होला । तर झण्डै ९ महिना बेरोजगार भएर बिताउँदा थाहा भयो देशको मायाले मात्र जीवन नचल्ने रहेछ । नेपालमा केही काम गरौँ भन्दा पनि नमिल्ने अवस्था । काम गरिरहेकाहरूको त जागिर गुमिरहेको थियो । यो बेला कस्तो काम पाउनु । आफ्नो केही काम थालौंनभन्दा पनि कहाँ व्यवसाय थाल्ने वातावरण छ र ।
बिस्तारै अन्तर्राष्ट्रिय उडान सुरु भए । यूएईमा केही खुकुलो भयो । यूएईका कम्पनीले घर फर्केका आफ्ना कामदारलाई बोलाउन थाले । त्यही क्रममा म पनि ९ महिनापछि यूएई फर्केँ । कोरोनाले भने छोएन मलाई । आफूले स्वास्थ्य सुरक्षा अपनाएकोले पनि हुनसक्छ, सङ्क्रमणबाट जोगियो । अहिले त दुबईमा जनजीवन सामान्य भैसकेको छ । अहिले म कार्यरत कम्पनीमा काम पहिले झैँ सञ्चालनमा आइसकेको छ । तर सुरक्षा सतकर्ता भने कडाइका साथ अपनाउनपर्छ ।
यूएई सरकारले कोरोना भ्याक्सिन निःशुल्क रूपमा लगाउन दिएको छ । मैले यहाँ आए लगत्तै सिनोफार्मको कोरोना भ्याक्सिन लगाएँ । अहिले दुवै डोज पूरा भयो । सिनोफार्मको भ्याक्सिनको असर मलाई खासै केही देखिएन । अलिकति भए पनि आत्मविश्वास बढेको छ । आत्मविश्वासले नै कतिपय रोग पराजित गर्न सकिन्छ भन्छन् । म पनि अब कोरोनाले असर नगर्ला भन्ने आशामा छु ।
अहिले यहाँ काम गर्न, घुमघाम गर्न त्यस्तो अप्ठ्यारो छैन । सुरक्षा अपनाएर दैनिकी चलिरहेकै छ । अब पनि चल्ला, फेरि त्यही महामारी भोग्न नपर्ला भन्ने आसमा छु ।