१७ वर्षको विदेश बसाइ छाडेर गाउँघरमै पशुपालन, भन्छन् : छाना, माना र नानाका लागि विदेशिनु पर्दैन

 मंसिर २८, २०७७ आइतबार ११:३९:६ | श्यामशितल परियार

लमजुङ – महामारीले संसारलाई पिरोलेको बेलामा पनि वैदेशिक रोजगारीको बाटो समात्नेहरु धेरै छन् । तर कतिपय युवा भने विदेशमा सिकेको ज्ञान, सीपलाई आफ्नै गाउँठाउँमा लगाइरहेका छन् ।

तिनैमध्येका एक हुनुहुन्छ, लमजुङको सुन्दरबजार नगरपालिका–९, तल्लोबजारका प्रेमबहादुर थापा । लामो विदेश बसाइ छोडेर अहिले गाउँघरकै  माटोमा पसिना बगाइरहनुभएको छ उहाँ ।

धन कमाउने र परिवारलाई सुख दिने आशमा प्रेमबहादुरले साउदीमा १२ वर्ष र मलेसियामा ५ वर्ष गरी विदेशमा मात्रै १७ वर्ष बिताउनुभयो । लामो विदेश बसाइ, परदेशमा दुःख ज्यादा तर कमाइ कम । त्यसैले पनि उहाँलाई परिवारबाट टाढा रहनुको अर्थ लागेन ।

विदेशमा भन्दा बरु गाउँघरकै पाखापखेरीमा पसिना बगाउने सोच पलायो, उहाँमा । सदाका लागि विदेशको जागिर छोडेर २०७६ सालमा स्वदेश फर्कनुभयो । लगत्तै ५ लाखको लगानीमा गाईपालन व्यवसाय सुरु गर्नुभयो ।

५ लाखको लगानीमा व्यवसाय सुरु

विदेशबाट फर्किएपछि सुरुमा गोठ बनाउनुभयो र दुई वटा गाई किन्नुभयो । यति गर्नका लागि पाँच लाख रुपैयाँ लगानी लाग्यो । 

बजारमा दूधको माग बढेसँगै अहिले उहाँले ‘ओम शान्ति गाइँ तथा भैँसीपालन’ फर्म दर्ता गरी गाईपालनसँगै भैँसीपालन समेत गर्नुभएको छ ।

‘लामो समय विदेश बसियो, १४ घण्टासम्म खटिनुपर्ने, दुःख धेरै भयो तर कमाइ चित्तबुझ्दो लागेन,’ उहाँले भन्नुभयो, ‘त्यसैले घर फर्किएँ, परिवारकै सल्लाहमा गाईभैँसी पालन व्यवसाय पनि सुरु गरेको हुँ ।’

१० लाख लगानी विस्तार : मासिक १ लाख कमाइ

एक वर्षको अवधिमा उहाँको व्यवसायले लय समातेको छ । उहाँको फर्ममा अहिले १० लाखभन्दा बढी लगानी भइसकेको छ । फर्मबाट उत्पादित दूध बिक्रीबाट मासिक उहाँले १ लाख हाराहारीमा कमाउँदै आउनुभएको छ ।
‘विदेशमा मुश्किलले मासिक ३०–३५ हजार कमाइ हुन्थ्यो, अहिले स्वदेकै उद्यमबाट मासिक १ लाख हाराहारीमा कमाइ भएको छ,’ खुशी हुँदै उहाँले भन्नुभयो ।

परिवारकै छहारीमा रहेर, दुःख–सुख आपसमा बाँडेर घरगाउँमै कृषि उद्यममा रम्न पाउँदा उहाँ खुशी हुनुहुन्छ ।

‘विदेश जान लाग्ने खर्च र विदेशमा बगाउने पसिना देशकै माटोमा बगाए, विदेशकोभन्दा राम्रो कमाउन सकिन्छ’ उहाँ भन्नुहुन्छ, ‘परिवारकै साथमा रहेर गाउँघरमै स्वरोजगार भएर कमाइ गर्न पाउँदा खुशी छु ।’
उहाँको फर्ममा अहिले सानाठूला गरी १२ वटा गाई र ४ वटा भैँसी छन् । दैनिक ८० लिटर गाईको दूध र ३० माना भैँसीको दूध उत्पादन हुन्छ । 

उत्पादन स्थानीय स्तरमै खपत 

श्रीमती पार्वती थापाको साथमा प्रेमबहादुर रातदिन फर्ममा खटिनुहुन्छ । फर्ममा उत्पादित दूध बिक्रीका लागि उहाँहरु आफैं बजार पुग्नुहुन्छ । 

उत्पादन स्थानीय बजार भोटेओडार, कृष्णबगैँचा, बालुने, धारापानी लगायतका ठाउँमै खपत हुँदै आएको छ । उहाँले गाईको दूध प्रतिलिटर ९० रुपैयाँ र भैँसीको दूध प्रति माना ६५ रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ ।

बजारमा तुलनात्मक रुपमा भैँसीको दूधको माग र बजार राम्रो भएकाले बिस्तारै फर्ममा दुहुना भैँसीको संख्या बढाउने उहाँको योजना रहेको छ ।

‘बजारमा दूधको माग ज्यादा छ, मागअनुसार पुर्‍याउन सकिएको छैन,’ उहाँले भन्नुभयो, ‘फर्ममा गाई र भैँसी  बढाउने योजना छ ।’

भाडामै लिइएको २० रोपनी पाखो जमिनमा उहाँहरुले विभिन्न प्रजातिका घाँससमेत लगाउनुभएको छ ।

पशुपालनका साथै ‘अर्गानिक’ तरकारी उत्पादन गर्ने उहाँहरुको लक्ष्य छ । मनमा जोस र जाँगर लिई गाउँघरकै माटोमा श्रम–पसिना बगाइ, कुनै उद्यम गर्न सके छाना, माना र नानाका लागि बिदेशिनु नपर्ने थापाको भनाइ छ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया