नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
आफ्नो घरदेश छाडेर परदेश किन गइन्छ ? पक्कै पनि पैसा कमाउन, केही जमाउन र सुन्दर भविष्य बनाउन । यही सपना बोकेर परदेशिने हामी कहिलेकाहीँ हकमाएर घरमा पैसा पठाउँदा ठगीमा त पर्दैनौं ? सोचनीय कुरा छ ।
निम्न र मध्य वर्गीय परिवारका मजस्तै धेरै दाजुभाइ दिदीबहिनी महामारी, भोक निद्रा र चर्को घाम नभनी खाडीमा दिनरात खटिएका छौं । म ८ वर्ष भयो खाडीको देश कतारमा कार्यरत छु । यहाँ धेरै नेपालीको काम निर्माण सरसफाई, होटल, कार्यालय सहयोगी, सुरक्षा, बगैंचा अन्य सेवामुलक क्षेत्रमा छ । हामीले गर्ने र अन्य देशका नागरिकले गर्ने काम उही हो ।
मेहनत उही हो र खट्ने समय पनि उही हो । तर यहाँ के छ भने हामी विना सीप आएका हुन्छौं । अन्य देशका नागरिक सीप सिकेर दक्ष भएर आएका हुन्छन् । जसको प्रभाव हामीले मासिक खाने तलबमा पर्छ । अन्य देशका नागरिकको तुलनामा हाम्रो तलब कम छ ।
तर आज मलाई यी विषयमाभन्दा पनि यहाँ नेपालीले कमाएको पैसा घर पठाउने नियम र प्रक्रियामा केन्द्रित भएर कुरा गर्न चाहन्छु । कतिपय नेपालीले कतारमा सञ्चालित मोवाइल मनी एपहरुको माध्यमबाट कोठामै बसेर घरमा सहजै पैसा पठाउने गर्छन् । तर यो सबैको हकमा लागू हुँदैन ।
दक्षता र भाषाको समस्याको कारण धेरैले यो एप चलाउन सक्दैनन् । घरमा पैसा पठाउन मनी एक्सचेञ्जकै भर पर्न पर्छ । यहाँ सामान्यतया नेपाली श्रमिकको तलब एक हजार कतारी रियाल अर्थात आजको विनिमयदर अनुसार ३२ हजार ४ सय ९० रुपैयाँदेखि ३ हजार रियाल अर्थात ९७ हजार ४ सय ७१ रुपैयाँ हुन्छ ।
कतिले मासिक रुपमा त कतिले केही महिना रकम जम्मा गरेर घरमा पैसा पठाउने चलन छ । पैसा पठाउँदा कतिपयले सजिलो तथा चिनजानमार्फत पहिला कोरोना महामारीभन्दा अघि हुण्डी गर्ने, व्यक्तिलाई दिने पनि गर्थे, तर अहिले कोरोना महामारीले जहाज नियमित नचल्दा हुण्डी गर्नेहरु केही घटेका हुन् कि जस्तो मलाई लाग्छ । तर यसो गर्नु गलत हो । यो अवैध र असुरक्षित मानिँदै आएको छ ।
हिजोआज हामीले कमाएको पैसा पठाउन नजिकैको एक्सजेञ्ज र बैंकका एजेण्टसम्म पुग्ने गर्छौं । विनिमयदर दैनिक फरक भइरहेको हुन्छ । यो नियम हो । तर एक्सचेञ्जहरुले छिनछिनमै फरक फरक रेट भन्छन् । यो पनि नियम नै हो या होइन मैले बुझेको छैन ।
तर यदि यो नियम नै हो भने पनि हामी सामान्य कामदारलाई एक्सचेञ्जवालाले बुझाउन पर्दैन र किन यस्तो हुन्छ भनेर ? सोध्दा पनि यसको जवाफ हामीले पाउँदैनौं । हुन त यो पनि एउटा नियम नै होला । तर पनि यही नियमलाई आधार मानेर हामीलाई कतै ठग्ने त हैनन् ? मनमा डर लाग्छ ।
आफूले कति मेहनतले कमाएको पैसाको सही मूल्य सही पाइएन भन्ने प्रश्न मनमा खेलिरहन्छ । अनि अर्को कुरा हामीले कतारबाट पैसा पठाउँदा एक कारोबार बापत १८ रियाल तिर्छौं । यसबाट १२५० रियालभन्दा बढी पठाउन पाइन्न । अनि अर्को कुरा १२५० भन्दा बढी रकम पठाउने भए सस्तो दरमा पठाउनुहोस् भनेर एजेण्टले भन्ने गर्छन् । यस्तो किन हुन्छ होला ?
उनीहरुले हामीले पठाउने रेट अनुसार रकम निर्धारण गर्छन् । यो सही हो कि गलत ? एक पटक सरकारले यी पैसा पठाउने एक्सचेञ्जका बारेमा पनि सोचिदए हुन्थ्यो नि । तर कसैले पनि खासै चासो दिएको पाइँदैन । मलाई त शंका लाग्छ कतै हामी पैसा पठाउँदा त ठगिएका छैनौं ? यहाँ एक जनाको मात्र होइन, लाखौं नेपालीले यसैगरी रकम पठाउँछन् ।
त्यसैले यस सम्बन्धमा सम्बन्धित निकायले ध्यान देओस् । हाम्रो पैसा सुरक्षित तरिकाले देशमा आइपुगोस् भन्ने मेरो चाहना छ ।