नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
इलाम – ‘जीवनमा दाम र नामभन्दा पनि मनमा शान्ति चाहिन्छ,’ इलामका छविलाल अधिकारी आफ्नै भोगाइ सुनाउँदै भन्नुहुन्छ, ‘दाम कमाउने बाटो धेरै रहेछन् तर सबै बाटोले मन शान्त हुँदो रहेनछ । त्यही मनको शान्तिकै लागि त छविलाल म्यानपावरको काम र मलेसियाको दाम छाडेर अहिले इलाम बजारमै कृषि कर्म गरिरहनुभएको छ ।
कमाउने सपना बोकेर छविलाल आफैं मलेसिया जानुभयो । त्यहाँ बसेर म्यानपावरको काम समेत गर्नुभयो । यी कामबाट छविलाललाई दाम त मिल्यो तर मनमा शान्ति मिलेन । त्यसैले उहाँ परदेशको दुःख म्यानपावरको काम र भनाइ सबै भोगेर फर्किएर आफ्नै ठाउँमा कृषि कर्ममा लाग्नुभयो ।
धेरै मानिस परदेश पुगेपछि घर र खेतीपाती बिर्सन्छन् । खेतीपाती गरेर जिन्दगी चल्छ भनेर पनि सोच्दैनन् । तर छविलाललाई भने परदेश पुगेपछि लाग्यो – ‘देशमा जस्तो बेश कतै रहेनछ ।’
सूर्योदय नगरपालिका – १२ इलामका छविलाल अधिकारी २०७० सालमा मलेसिया उड्नु भयो । उहाँ डीडी हुमेन रिसर्च म्यानपावर सिनामंगल काठमाण्डौबाट मलेसिया जानुभएको हो । सात वर्ष उहाँको उतै बिते । यो सात वर्षमा उहाँलाई मलेसियाले निकै कुरा सिकायो ।
सुरु सुरुमा अरुले म्यानपावरले ठग्यो, कमाइ भएन भनेर गुनासो गरेको सुन्दा ठगीमा नपर्ने खालका डिमाण्ड मलेसियाबाट नेपाल पठाउँछु भन्ने सोच पलायो ।
‘आफन्तको म्यानपावर भएकाले पनि यस्तो ठगीमा नपर्ने काम पनि त हुँदा हुन् नि भनेर मैले मलेसियाबाटै म्यानपावरका लागि काम थालेको थिए,’छविलाल भन्नुहुन्छ ।
उहाँले आफैं मलेसिया गएको म्यानपावर डीडी हुमन रिसर्च म्यानपावरका लागि मलेसियाबाट काम थाल्नुभयो । काम पनि राम्रो हुँदै गयो ।
छविलालले आफ्नै गाउँका थुप्रैलाई परदेश पुर्याउनु भयो । यतिसम्म की ५० प्रतिशत अग्रिम भुक्तानी । ५० प्रतिशत कमाईपछिको भुक्तानी दिनेसम्मको सम्झौतामासमेत काम भए । उहाँ भन्नुहुन्छ, ‘आफू जस्तै अभाव भोगेकालाई लागेर सहयोग गरेको थिएँ, तर सबैले सहयोग कहाँ देखे र ? उल्टै गुनासो पोखे,’ उहाँ भन्नुहुन्छ ।’
जति जना छविलालको कन्ट्रयाकमा परदेश पुगे, उनीहरुले एग्रीमेन्ट अनुसारको काम पाइन भनेर गुनासो पोख्नु परेको थिएन । भलै दुःख भने गर्नै पर्छ । परदेशमा अर्काको खटन ! कहाँ मिल्दो हो र कल्पनामा रमाएका जस्ता कमाईका बोट । उहाँलाई लाग्यो । बाँकी रकम तिर्न नपरोस् भनेर पो हो कि गुनासो सुन्न परेको । यति सोचाइले मात्रै उहाँको मन बुझेन । मनले भन्यो – आत्मसम्मान नै नहुने पेशामा किन काम गर्नु ? अन्ततः सदाका लागि छविलालले म्यानपावरको काम छाडिदिनुभयो ।
‘नराम्रो शब्दले गाली गरेको सुन्न नपरोस्, आफूले गरेको काममा आत्मसन्तुष्टी मात्रै होइन । आत्मसम्मान पनि पाइयोस्,’ छविलाल भन्नुहुन्छ,‘सबै काममा त्यस्तो कहाँ हुँदो रहेछन र ।’
२०७६ मा अधिकारी पशुपालन व्यवसाय बाख्रा फार्म दर्ता गर्नुभयो । त्यो बेला भने बुवा हुनुहुन्थ्यो । छविलाल भने विदेशमै पसिना बगाइरहनु भएको थियो । चार वटा बाख्राबाट सुरु गरिएको फार्ममा अहिले ४६ वटा बाख्रा छन् ।
यति मात्रै कहाँ हो र ? उहाँको बारीमा इस्कुस, खुर्सानी, काँक्रो, अकबरे खुर्सानी, आलु, मटर, च्याउ, उन्नत जातका घाँस, अदुवा, सिमी लगायतसम्मका बाली राम्ररी सप्रिएको छ । इस्कुस पाँच रोपनीमा छ । यो भने लिजमा लिएको जग्गामा वार्षिक २५ हजार रुपैयाँ तिर्नुपर्छ ।
यस वर्ष भने इस्कुस थप चार रोपनीमा थप्ने योजना छ उहाँको । पुख्र्यौली कृषि पेशालाई जीविकोपार्जन मात्रै होइन व्यवसायिक बनाउन उहाँ अहिले दिन रात खटिरहनु भएको छ ।
सात वर्ष विदेशमा दुःख गरेको रकमले एक तले घर बन्यो । लागेको ऋण चुक्ता भयो । तर काम नगरी खान पाइने अवस्था आएन । यसैले उहाँ विदेश भन्दा स्वदेशकै माटो मलिलो बनाउनमा आनन्द मान्न थाल्नु भएको छ । बिहान पाँच बजे उठेर छ बजे बारीमा निस्कने छविलाल साँझ छ बजेसम्म त, कहिले नौ बजेसम्म नै बारीमा भेटिनुहुन्छ ।
सूर्योदय नगरपालिकामा छविलालजस्तै अरु पनि कृषि पेशामा रमाउन थालेका छन् ।
यही साल मात्रै १० वटा बाख्राका खोर मात्रै बनाइदिनुभयो छविलालले । यी खोर सबै उहाँकै घरको जस्तो परम्परागत बाख्राखोर हुन् । कृषि पेशामा सफलता पाएको देखेर कसरी खेती गर्छस् ? भनेर सोध्नेहरु पनि धेरै आउन थालेका छ । सबैलाई आफूले गरे अनुसारको परामर्श दिने गर्नुहुन्छ उहाँ ।
भन्नुहुन्छ, ‘आफ्नो ज्ञान अरुलाई पनि बाढ्न पाउँदा साह्रै खुशी लाग्छ, जीवनमा मरेर लानु के छ र ।’
नयाँ बाली थप्ने क्रममा भर्खरै मात्र उहाँले बजार अवलोकन गर्न च्याउ उत्पादनमासमेत लागि पर्नुभएको छ । खेती गरेको सुरुकै वर्षमा दुई सय बल च्याउ छ । अझै केही बाँझो बारी बाँकी छ । यसमा पनि आलु रोप्ने, कुखुरा पालन गर्ने र जमिनको सदुपयोग गर्ने उहाँको भावी योजना छ ।